धरान । धरान–१४ विजयपुरस्थित ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रबाट चिण्डो उखेलेर फालिएको घटनालाई लिएर किरात राई यायोक्खाले दबाव बढाएको छ । यायोक्खाको नेतृत्वमा करिब दुईसय जनाको टोलीले शनिबार विजयपुर दरबार क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै धरान उपमहानगरपालिका र प्रहरी कार्यालय पुगेर चिण्डो पुनःस्थापना तथा घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको नेतृत्वमा पूर्वकेन्द्रीय उपाध्यक्ष तिलक राई, उपाध्यक्ष युवराज राई, महासचिव भीम राई, उपमहासचिव अर्जुन जम्नेली राई, सचिव राजुएन राई, नगेशचन्द्र राई, सहकोषाध्यक्ष छिला राईलगायतको टोली स्थलगत निरीक्षणमा पुगेको थियो ।
दबावका लागि टोलीमा कोशी प्रदेश समिति, सुनसरी जिल्ला तथा धरान उपमहानगर समितिका पदाधिकारीसँगै इलाम, मोरङ, उदयपुर, धनकुटालगायत जिल्लाबाट आएका प्रतिनिधि तथा सहभागी भएको यायोक्खाका केन्द्रीय उपमहासचिव अर्जुन जम्नेलीले जानकारी दिए ।
यायोक्खाका प्रतिनिधिहरूले धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघासँग पनि भेटेर दरबार क्षेत्रबाट उखेलिएको चिण्डो तत्काल सोही स्थानमा राख्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्न माग गरेका थिए । कार्यवाहक प्रमुख बेघाले चिण्डो राख्नेबारे प्रशासन र अन्य सरोकारवालासँग तत्काल छलफल चलाउने प्रतिबद्धता जनाएको यायोक्खाले जनाएको छ ।
शनिबार नै टोलीले इलाका प्रहरी कार्यालय धरान पुगेर घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न इप्रका इञ्चार्ज भीषणबाबु राईलाई ध्यानाकर्षण गराइएको उपमहासचिव राईले बताए । डिएसपी राईले सांस्कृतिक सामग्री उखेलेर फालेकोे घटनामा संलग्नको खोजी भइरहेको बताए । विजयपुर दरबार क्षेत्रमा चिण्डो राखिएको विषयमा धरानका राई र लिम्बू समुदायबीच असमझदारी भइरहेका बेला यही साउन १० गते राति अज्ञात व्यक्तिहरूले दरबार क्षेत्रमा राखिएको चिण्डो उखेलेका थिए ।
यायोक्खाले विजयपुर क्षेत्रलाई ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले संवेदनशील क्षेत्रका रूपमा संरक्षण गर्नुपर्ने भन्दै यस्ता सामग्रीको संरक्षणमा स्थानीय तह र सुरक्षा निकाय गम्भीर हुनुपर्ने जनाएको छ । घटनालाई सांस्कृतिक सम्पदामाथिको हस्तक्षेपका रूपमा लिँदै दोषी पहिचान गरी कारबाही नभएसम्म आफूहरूको खबरदारी जारी रहने सहभागीहरूले बताएका छन् ।