भद्रपुर । हिन्दु महिलाहरूको मुख्य चाड तीजको आगमनसँगै भद्रपुरमा बृहत् सिन्धारा (तीज) कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर मारवाडी महिला मञ्च भद्रपुर झापाले शुक्रबार अपरान्ह  विविध सांस्कृतिक कार्यक्रम गरी विशेष तीज कार्यक्रम सम्पन्न गरेको हो ।

मञ्चका पूर्व अध्यक्ष अर्चना मित्तल, लक्ष्मी सरिया, कुसुम सरावगी, प्रिती मित्तल र निकी साहेवालालाई सम्मान गरिएको थियो । कार्यक्रममा सामूहिक नृत्य, संस्थाको गतिविधि, रमाइला खेलहरू प्रस्तुत गरिएको थियो । नेपालमा रहेका विभिन्न चाडपर्वलाई जोगाइराख्नु आजको आवश्यकता रहेकोले यस्तो कार्यक्रम गरिएको सहभागी महिलाहरूले बताए ।

कार्यक्रममा भद्रपुर नगरकी उपप्रमुख राधा कार्की, शिक्षा शाखा प्रमुख पवित्रा ढकाल, उद्योगी, व्यवसायी, मञ्चका छिमेकी नगरका प्रमुख एवम् प्रतिनिधिलगायत नगर क्षेत्रका करिब एकसय मारवाडी महिलाहरूको उपस्थिति रहेको थियो ।

मञ्चकी अध्यक्ष निलम गोयलको सभापतित्व तथा  नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठनकी महासचिव अनु जैनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।