विजयपुर । धरानका युवा अरमान अली सम्मानित भएका छन् । उनलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीले सम्मान गरेको हो ।


लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीको जिल्ला स्तरीय कार्यक्रममा अलीलाई सामाजिक सेवामार्फत पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो । उनले महामारीबाट प्रभावित विपन्न तथा असहाय परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउनुका साथै धरानका सडकमा आश्रित मानव र सडकमा रहेका कुकुर जनावरलाई नियमित रूपमा खाना तथा आवश्यक स्याहार तथा उपचार उपलब्ध गराउँदै आएका छन् । सम्मान ग्रहणपछि अलीले आफूले निस्वार्थ भावनाले गर्दै आएको सामाजिक कार्यलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सामाजिक संस्थाले मूल्यांकन गरी सम्मान गरेकोमा खुसी व्यक्त गरे । अलीका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको सक्रिय सहभागिता हुनुपर्ने भएपनि सामाजिक सेवामा समर्पित धेरै युवाहरू रोजगारी र अवसरको अभावमा विदेशिन बाध्य हुनु परेको प्रति दुःख प्रकट गरे ।