धरान। पशुपंक्षीबाट मान्छेमा र मान्छेबाट पशुपंक्षीमा सर्ने जुनोटिक रोगको अवस्था गम्भीर रहेकाले मानिसहरूलाई सामान्य रूपमा नलिन पशु चिकित्सकरूले आग्रह गरेका छन् । 

धरान उपमहानगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको ‘जुनोटिक रोगसम्बन्धी नगरस्तरीय सचेतना गोष्ठी’ मा पशु चिकित्सकहरूले अधिकांश सरुवा रोग पशुपंक्षीबाटै आउने गरेको बताए । ‘यसलाई हामीले गम्भीर रूपमा लिएनौं, हामी सचेत नहुँदा धेरै भयावह स्थितिको सामना गरिरहनु परेको छ’ पशु डा. बिर्खराज राईले भने, ‘काँचो दूध र रगतबाट झन् तीव्र गतिमा रोग फैलिन्छ ।’

उनले मासु व्यवसायी सबैभन्दा बढी सचेत हुन सकेमा पशुपंक्षीबाट लाग्ने रोगहरू धेरै नियन्त्रण हुने बताए । पशुपंक्षीबाट ७५ प्रतिशत रोगहरू मानिसमा सर्ने गरेको पशु चिकित्सकले तथ्याङ्क प्रस्तुत गरे । हाल विश्वमा पशुपंक्षीबाट मानिस र मानिसबाट पशुपंक्षीमा ३ सय जुनोटिक रोग देखापरेको पशु डा. मनोजकुमार महतोले बताए । उनले भने, ‘नेपालमा ५९ वटा जुनोटिक रोग भएको अनुमान गरिएको छ ।’

जुनोटिक रोग नियन्त्रणका लागि मानिस नै सबैभन्दा बढी सचेत हुन आवश्यक रहेको उनले औंल्याए । ‘विश्वमा जति पनि महामारीहरू फैलिन्छन्, ती सबैको स्रोत पशुपंक्षी वा मानिसबाटै हुने गरेको छ’ उनले भने, ‘स्पेनिस फ्लूदेखि हालसम्म देखिएका रोगहरूको कुनै न कुनै स्रोत पशुपंक्षी हो ।’

धरान सबैभन्दा धेरै मासु खपत हुने शहरमध्ये एक पर्छ । धरानका वातावरण महाशाखाका अनुसार दैनिक २० वटासम्म राँगा, ९० देखि १ सयवटासम्म सुँगुर र २५ वटासम्म खसी काटिने गरेको छ । कुखुरा त अनिगिन्ती रूपमा काटिँदै आएको छ । यस हिसाबले पनि धरानमा बधशालाको आवश्यकता महसुस गरिएको छ । तर, हालसम्म स्थानीय तहमार्फत् बधशाला निर्माण हुन सकेको छैन । मासुजन्य वस्तुबाट सबैभन्दा बढी रोग फैलिने सम्भावना रहेकाले यसमै सचेत हुनसके रोग नियन्त्रण सहज हुने चिकित्सकको भनाइ छ । ‘फ्रिज गरिएका मासु खाऔं’ –पशु डा. बिर्खराजले भने । 

खेतदेखि पेटसम्म आउने चिजवस्तुहरूलाई आ–आफ्नोतर्फबाट ध्यान दिनसकेमा धेरै रोग नियन्त्रण हुनसक्ने बताए । मानवीय त्रुटि र कमजोरीकै कारण रोग फैलिने गरेको पशु चिकित्सक महतोले बताए । सुनसरीमा मानिसमा जुनोटिक रोगमा सबैभन्दा बढी रेविज र छारेरोग देखिएको पशु शाखाका प्रमुख महेन्द्रकुमार पैकराले जानकारी दिए ।

उनका अनुसार अन्य रोगहरू लागे पनि ‘डाइग्नोष्टिक’ (पहिचान) नै हुन सकेको छैन । ‘रेविज चाहिँ पहिचान भइहाल्छ र थाहा हुन आएको छ, अर्को फित्तेजुकाबाट हुने छारेरोग (हाइड्रोटिडिओसिस) पनि जुनोटिक नै हो ।’

जुनोटिक रोग पशुपंक्षीबाटै हुने भएकाले मासु व्यवसायीहरूलाई सचेत गराउनका लागि गोष्ठी आयोजना गरिएको उनले बताए । ‘व्यक्ति व्यक्तिलाई जानकारी दिएर साध्य हुँदैन, त्यसैले मासु व्यवसायीहरूलाई सचेत गराउने प्रयास गरिएको हो’ –उनले भने । गोष्ठीमा धरानका ४० जना सहभागी थिए ।