विराटनगर/ गत कात्तिक १३ गते मोरङको बेलबारी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सोही ठाउँका २६ वर्षीय सुमन तामाङले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परे । तामाङले पीडित बालिकाको हजुरबुबालाई मदिरा सेवन गर्ने पैसा दिएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीले बलात्कार गरेको आरोपमा तामाङ र पैसा लिएर नातिनी सुम्पिने हजुरबुबालाई पनि पक्राउ गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ ।

यस्तै गत कात्तिक १५ गते मोरङको ग्रामथान गाउँपालिकास्थित अपाङ्गता भएकी एक बालिकालाई बलात्कार गरेको आरोपमा ग्रामथान गाउँपालिका–१ का ४० वर्षीय जुवेस सरदारलाई पक्राउ गरेको थिए । कात्तिक १४ गते गते शुक्रबार दिउँसो अपाङ्गता भएका बालिकाको आफन्त कोही नभएको मौका छोपी सरदारले जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका थिए । उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । विगत तीन वर्षमा प्रदेश १ मा महिलामाथि हुने लैङ्गिक हिंसाको घटनाको ग्राफ बढ्दो क्रममा देखिएको छ । प्रहरीसहितको उपस्थितिमा विभिन्न सङ्घ–संस्थाले वर्षभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा पनि प्रदेशमा हिंसाको घटना घट्नुको साटो झन् बढ्दो क्रममा रहेको पाइएको हो ।

१४ जिल्ला रहेको प्रदेश १ मा तीन वर्षको तथ्याङ्क हेर्दा प्रदेशमा दैनिक सरदर २ जनाभन्दा बढी महिला घरेलु हिंसाको सिकारमा पर्ने गरेको अभिलेखमा देखिन्छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेख अनुसार तीन वर्षमा २ हजार ४ सय २८ वटा हिंसाको घटना भएको पाइएको छ । लैङ्गिक हिंसामा सबैभन्दा बढी जबरजस्ती करणीको घटना बढी रहेको छ । तीन वर्षमा प्रदेशभित्र १ हजार ३ सय १६ वटा जबरजस्ती करणीको घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यस्तै ४ सय ६४ जबरजस्ती करणाी उद्योग, मानव बेचबिखन १ सय १२, बहुविवाह ४ सय १८, बाल विवाह २२ र बोक्सीको आरोपको घटना १८ वटा भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ७ सय ६१ वटा लैङ्गिक हिंसाको घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कविन्द्रकुमार कार्कीले जानकारी दिए । आ.व. ०७४÷०७५ मा भन्दा ०७५/७६ मा ७२ वटा लैङ्गिक हिंसाको घटना बढेको छ । आ.व. ०७५/७६ मा ८ सय ३३ वटा हिंसाको घटना घटेको प्रहरीको अभिलेखमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७६/७७ मा हिंसाका घटना न्यून सङ्ख्यामा वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा ८ सय ३४ वटा हिंसाको घटना भएको छ । चालु आर्थिक वर्ष ०७७÷७८ को कात्तिक मसान्तसम्मा ३ सय ५६ वटा लैङ्गिक हिंसाको घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।

लैङ्गिक हिंसामा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, अवैध गर्भपतन, बोक्सीको आरोप, मानव बेचविखन, बहुविवाह, बालविवाह, घरेलु हिंसा, भेदभावजन्य व्यवहार (छाउपडी, जातीय छुवाछुत आदि), महिलाको प्रजनन् अङ्गको छेदन र पारिवारिक प्रतिष्ठाका लागि गरिने हत्या (पारिवारिक हत्या) लाई सामावेश गरिएको छ ।

अपराधमा आफन्त अभियुक्त
आफन्तहरू नै आपराधिक घटनामा संलग्न हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जबरजस्ती करणीको घटनामा समग्र अपराधको ६९.६५५ मुद्दामा परिवारकै सदस्य, छिमेकी, साथी, आफन्त र अन्य परिचित व्यक्तिहरू अभियुक्त रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कार्कीले जानकारी दिए । ३०.३५५ अपराधमा मात्र अपरिचित अभियुक्त रहेका छन् । ‘बलात्कारका अधिकांश घटनाका प्रतिवादी आफन्त नै छन्’ डिएसपी कार्कीले भने, ‘लैङ्गिक हिंसा न्यूनीकरण गरी जनसचेतना फैलाउने र अपराधीलाई कानूनी कारबाहीका लागि प्रहरीले तत्काल रेस्पोन्स गर्दै आएको छ ।’

हिंसा न्यूनीकरण गर्न प्रहरीको अभियान
लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणको लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा २ सय २६ पटक कार्यक्रम सञ्चालन गरिएको प्रदेश प्रहरीले जनाएको छ । आ.व. २०७५/७६ मा ६ सय ७४, आ.व. २०७६/७७ मा ३ सय २ र चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म २४ पटक कार्यक्रम सञ्चालन गरिसकिएको डिएसपी कार्कीले जानकारी दिए ।

प्रहरीले लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ अनुसार लैङ्गिक हिंसा नियन्त्रणका लागि स्थानीयस्तरमा समिति गठन पनि गरेको छ । महानगरपालिका १, उप(महानगरपालिका २ वटा, नगरपालिकामा ३८ वटाका स्थानीयस्तरमा समिति गठन गरेको छ । त्यस्तै जिल्लास्तरमा १४, गाउँपालिकास्तरमा ६२, वडा कार्यालयमा ६ सय ४६ वटा गरी जम्मा ७ सय ६३ वटा समिति गठन गरिएको प्रहरीले जनाएको छ । लैङ्गिक हिंसा बढी हुने स्थानको पहिचान गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको डिएसपी कार्कीले बताए । लैङ्गिक हिंसा न्यूनीकरणको लागि बालबालिकालाई शिक्षामा जोड दिन स्कुल सम्पर्क कार्यक्रम गरेको बताइएको छ ।

ओरेक नेपाल मोरङका परियोजना संयोजक दीपक सेन्चुरीले लैङ्गिक हिंसाको घटना बढ्नुलाई दबाएर राखिएको घटनामा महिलाहरू अहिले खुलेर आउन थालेको बताउँछन् । ‘विगतमा हिंसाको घटनाहरूमा महिलाले न्याय नपाइने हो कि भनेर पीडा दबाएर राख्ने गरेका थिए’ उनले भने, ‘अहिले विभिन्न सङ्घ–संस्थाहरूले सचेतना अभियानसँगै पैरवी गर्न थालेपछि महिलाहरू हिंसामा परेपछि खुलेर आउन थालेका छन् । त्यही भएर घटना बाहिर आउन थालेको हो ।’

लकडाउनमा घरेलु हिंसा बढ्यो
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा महिलामाथि घरेलु हिंसाको घटना बढेको देखिएको छ ।

लकडाउनको चैतदेखि भदौसम्म २ सय १६ वटा महिलामाथिको हिंसाको घटना भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प नभएको र यस्तो अवस्थामा हिंसाको घटना बढेको बुझिएको छ । ओरेक नेपाल मोरङको सुरक्षा आवास गृहमा जनवरीदेखि हालसम्म लैङ्गिक हिंसामा परेका ३२ जना पीडित महिलाहरू बसोबास गर्दै आएका छन् ।