विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले सोमबार मनाएको छ । कार्यक्रममा पत्रकारिता पुरस्कार प्रदान र संस्थाको वेबसाइट सुरु गरेको छ ।
‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ फोनिजका केन्द्रीय उपाध्यक्षसमेत रहेका क्रियाशील पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिएको छ । फोनिज प्रदेश १ का लेखा समिति संयोजक प्रेम देवानले आफ्ना स्वर्गीय बुबा कृष्ण देवानको स्मृतिमा स्थापना गरेको यो पुरस्कार पहिलो पटक वितरण गरिएको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पत्रकार राईलाई ८ हजार रुपैयाँ नगद राशि र सम्मान–पत्रसहित पुरस्कृत गरे । स्थापना दिवसकै अवसरमा फोनिज मोरङले आफ्नो डिजिटल उपस्थितिलाई सशक्त बनाउँदै आधिकारिक वेबसाइटको शुभारम्भ ग¥यो । उक्त वेबसाइट हिमालय दर्शन कलेजमा बिएस्सी सिएसआइटीमा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरी फोनिजलाई हस्तान्तरण गरेका हुन् ।
महानगर प्रमुख कोइरालाले वेबसाइटको शुभारम्भ गरे । उनले आजको युग बौद्धिक कृत्रिमता (एआई) को भएको उल्लेख गरे । उनले भने, “अबको समय प्रविधिको हो । समयसापेक्ष आफूलाई परिमार्जन र विकास गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू पछाडि पर्छन् । फोनिज मोरङले सुरु गरेको यो डिजिटल यात्रा सराहनीय छ ।”
कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले फोनिजसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता रचनात्मक कार्यहरूमा सधैँ तयार रहने प्रतिबद्धता जनाए । पुरस्कृत भएका फोनिजका सङ्घीय उपाध्यक्ष अर्जुन जम्नेली राईले ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नीतिको लक्ष्य प्राप्तिका लागि महासङ्घ निरन्तर अगाडि बढिरहेको बताए । फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उनले संस्थालाई प्रविधिमैत्री बनाउने आफ्नो कार्यकालको योजनाले सार्थकता पाएको बताए ।