धरान/ आजभन्दा ठीक एक वर्षअघि अर्थात् २०७६ मङ्सिर १४ गते भएको उपनिर्वाचनले धरान नगर स्थापनादेखिको ‘लालकिल्ला’ ढालेको थियो । परिवर्तनको पक्षमा भएको धरानेको यो निर्णय एक वर्षमा कतिको सार्थक भयो ? समीक्षा गर्ने बेला भएको छ ।

स्थानीय कम्युनिष्ट नेताहरूले धरानलाई ‘नेपालको साङ्घाई’ समेत भन्थे तर, विकासका दृष्टिले धरान दिनदिनै उजाड बन्दै गयो । बसपार्क, खानेपानी, एयरपोर्टजस्ता धरानका ठूला योजनाहरू विवादै विवादमा परे । यहाँका सरकारी कार्यालयहरूसमेत धमाधम अन्यत्र सारिन थाले । केही स्थानीय कम्युनिष्ट नेता, कर्मचारी व्यक्तिगतरूपमा ‘कमाउधन्दा’ मा लागेपछि उनीहरूका लागि त धरान साङ्घाई जस्तै झिलिमिली भयो तर, समग्र धरानवासी निराश बने ।

त्यसैको परिणामस्वरूप धराने मतदाताले परिवर्तनको खोजी गरे । परिवर्तनको नारा अघि सारेको नेपाली काङ्ग्रेसको मेयरका उम्मेदवार तिलक राईप्रति आशा गरेका धरानका मतदाताले २६ हजार ७ सय ९ मत दिएर जिताए । उनका प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २ हजार ७ सय ९५ कम अर्थात् २३ हजार ९ सय १४ मत मात्र पाए । यसरी ‘कम्युनिष्ट गढ’ भत्काएका तिलकका चुनावी नारा पनि आकर्षक थिए । उनले चुनावी पर्चामै ‘यसपालि परिवर्तनको पक्षमा धरानवासी’ नारासहित १५ प्रश्न सोधेका थिए, धरानवासीलाई । तर, एक वर्षको उनको कार्यकाल मूल्याङ्कन गर्ने हो भने खास परिवर्तन देखिँदैन धरानमा । न त उनले धरानवासीलाई सोधेका प्रश्नहरूको जवाफ नै आफूले दिन सकेका छन् । बरु उल्टै उनकै प्रश्न उनैलाई सोध्ने बेला भएको छ ‘के तपाईले चाहेको विकास यस्तै हो ?’

उनले चुनावताका पर्चामार्फत् नगरवासीलाई गरेका प्रश्नहरूमा जाऔं । उनको पहिलो प्रश्न थियो, ‘के तपाईंले सोचेको धरानको विकास अहिले जस्तै हो ?’ उनले नगर प्रमुख भएको वर्षदिनमा पनि पहिलाभन्दा धरानको विकासले फड्को मार्न सकेको छैन । समग्रमा धरानको विकास पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ ।

पर्चामा दोस्रो प्रश्न थियो, ‘के तपाईं धरानमा सधैँ खाल्डाखुल्डी सडक चाहनुहुन्छ ?’ अर्थात् आफूले जिते सडकमा खाल्डाखुल्डी रहने छैन भन्ने आशय थियो प्रश्नको । सडक विभागको क्षेत्र पर्ने धरानको मूल सडकमा हालै खाल्डाखुल्डी पुर्ने काम भए पनि उपमहानगरपालिकाका अन्य सडकहरूको अवस्था उस्तै छ । उपमहानगरले नगर गौरवका आयोजनाका रूपमा अघि सारेको धरान–१६ जनपथ सडकको काम अझै अघि बढ्न सकेको छैन भने विजयपुर सडकको कामले पनि गति लिन सकेको छैन ।

तेस्रो प्रश्न थियो, ‘के तपाईंलाई खानेपानीको समस्या छैन ?’ चुनाव जित्नुअघि खानेपानीको विषयमा अभियन्ताकै रूपमा तिलक राई आन्दोलनमा थिए । चुनावमा पनि खानेपानीको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । तर, अहिलेसम्म खानेपानीको समस्या ज्युँका त्युँ छ । मेयर राईले खानेपानी संस्थानलाई बोर्डमा गाभ्ने निर्णय गरेर २ पटक मिति पनि तोके तर, अहिलेसम्म विवाद कायमै छ । विवाद मिलाउन नसक्नु उनको अक्षमता हो ।

‘के तपाईं धरानमा अहिले जस्तै बसपार्क चाहनुहुन्छ ?’ उनको चौथो प्रश्न थियो । तर, धरानको बसपार्क समस्या पनि जस्ताको त्यस्तै छ । बसपार्कको नयाँ योजना पनि अघि बढ्न सकेको छैन । उनको पाँचौं प्रश्न ‘के तपाईं बीपी प्रतिष्ठानमा सधैँ बेथिति चाहनुहुन्छ ?’ यसको अर्थ आफूले जितेपछि बेथिति हटाउँछु भन्ने होला तर, अहिले बेथिति झनै बढेको छ । यो उनको बहस बाहिरको विषय पनि हो ।

त्यस्तै उनको छैठौं प्रश्न ‘के तपाईं भूमिहीनहरू व्यवस्थित भएको हेर्न चाहनुहुन्न ?’ भन्ने थियो । उनले जितेपछि पनि भूमिहीनहरूको जीवनमा खास परिवर्तन आउन सकेको देखिँदैन । सातौं प्रश्नमा उनले ‘तपाईं आजसम्म यथास्थितिमा रहनुभयो, के अब परिवर्तन चाहनुहुन्न ?’ र आठौंमा ‘के तपाईं सधँै धरानलाई पछाडि मात्र परेको हेर्न चाहनुहुन्छ ?’ भनेर सोधेका थिए । मतदाताले त परिवर्तन चाहेरै उनलाई जिताए तर, उनले भने अहिलेसम्म परिवर्तन चाहेनन् वा गर्न सकेनन् । उनको नवौं प्रश्न ‘के तपाईं सधैँ अव्यवहारिक र अवैज्ञानिक करको मारमा परिरहन चाहनुहुन्छ ?’ नगरवासी त यस्तो मारमा पर्न चाहने कुरै भएन । नगर प्रमुखले पनि अहिलेसम्म यसलाई व्यवस्थित गर्न सकेनन् । २०७६ मङ्सिर १८ गते कार्यभार सम्हाल्दै गर्दा उनको पहिलो निर्णय नै कर पुनरावलोकन गर्ने थियो । तर, एक वर्षसम्म पुनरावलोकन समेत गर्न नसक्दा उनको क्षमतामाथि नै प्रश्न उठेको छ ।

‘के तपाईं धरानको बजार र व्यापार खस्किरहेको हेर्न चाहनुहुन्छ ?’ उनको एघारौं प्रश्न थियो । तर, एक वर्षको समयमा धरानको बजार र व्यापार वृद्धितर्फ उनको खास योजना आएको देखिँदैन । उनको अर्को प्रश्न ‘के तपाईं धरानको पर्यटनको विकास हेर्न चाहनुहुन्न ?’ भन्ने थियो तर, उनले पर्यटनका लागि पनि देखिने काम गर्न सकेका छैनन् । उनले ‘के तपाईं भाडाका सवारी साधनमा जथाभावी लगाइएको कर तिर्न चाहनुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । तर, अहिले पनि कर व्यवस्थित हुन सकेको छैन ।

त्यस्तै उनको अर्को प्रश्न थियो, ‘के तपाईं जनभावना बमोजिम न्यायोचित ढङ्गले बजार क्षेत्रको राजमार्ग विस्तार र व्यवस्थित गर्न चाहनुहुन्न ?’ यो मुद्दामा उपमहानगरले सरकारले तोकेको मापदण्ड घटाउने निर्णय ग¥यो र काठमाडौंसम्म पुगेर मन्त्रालय धाएर प्रयास पनि ग¥यो तर, अहिलेसम्म आश्वासनबाहेक ठोस निर्णय हुन सकेको छैन । उनले त्यसबेला सोधेको ‘के तपाईं टेम्पो, सफारी लगायत साना सवारी साधनहरू व्यवस्थित रूपले सञ्चालन भएको हेर्न चाहनुहुन्न ?’ भन्ने प्रश्नको अहिले पनि नगरवासीले जवाफ पाउन सकेका छैनन् । टेम्पोहरूको भाडादर सम्भवतः प्रदेशमै महँगो छ । यातायातमा तानातान, ठेलाठेल उस्तै छ ।

अन्तिम प्रश्न थियो, ‘के तपाईं सरकारी कार्यालय हटाउने र सरकारी जग्गा हडप्ने नेतृत्व चाहनुुहुन्छ ?’ यो प्रश्न विशेषतः नेकपा लक्षित थियो । तर, राईले जितेपछि पनि यो विषयमा कुनै नीति बनेको पाइँदैन ।

उनले सोचे जस्तो काम गर्न नसक्नुमा कोरोना महामारीले पनि केही समस्या भएको छ । तर, योभन्दा मूल समस्या उनले जितेर आएपछि प्रतिपक्षको विश्वास जित्न सकेनन् । नेकपासँगको विवादका कारण पटक–पटक बैठक रोकियो । नीति तथा कार्यक्रम प्रमाणीकरण नै ढिला भयो । बरु उल्टै मेयर आफै विष्णुपादुकामा नियम विपरीत सखुवाको रुख कटाएपछि विवादमा परे । मेयर राईले आफू मेयरको कुर्सीमा बस्दै गर्दा भनेका थिए, ‘अब सबै एक भएर विकास निर्माणका काम गर्नुपर्छ ।’ तर, उनले भाषण जसरी एक बनाउन सकेनन् । नेकपामा धरान इञ्चार्ज चोत्लुङ मेयर राईले विश्वासको वातावरण बनाउन नसकेको बताउँछन् । उनी भन्छन्, ‘प्रदेश र सङ्घमा नेकपाको सरकार भएकाले उहाँले नगरबाटै विश्वास जित्न सक्नुपथ्र्यो तर, उहाँ चुक्नुभयो, त्यसैले धरानको विकास अघि बढ्न सकेन ।’

नेपाली काङ्ग्रेस धरान नगर उपाध्यक्ष राजेन्द्र राई भने मेयर राईको एक वर्षे कार्यकाल बारे बोल्न चाहँदैनन् । उनी भन्छन्, ‘केही समयपछि सार्वजनिक गर्ने पार्टीको कुरा छ । अहिले नै समीक्षा नगरौं ।’

हुन त दशकौंसम्म विकासले गति लिन नसकेको धरानमा एक वर्षभित्र कायापलट हुन असम्भव हुन्छ तर, कम्तिमा एक वर्षभित्र धरानको विकासको एउटा स्पष्ट खाका आउनु पर्ने हो । अबको दशकमा धरान कहाँ हुन्छ ? भन्ने दृष्टिकोण प्रष्ट हुनु पर्ने हो । नत्र पहिले र अहिलेमा के नै फरक रह्यो र ?

IMG_E2683

चुनाव बेला धरानवासी समक्ष तिलक राइका प्रश्न यस्ता थिए ।