बिर्तामोड/ कोरोना सङ्क्रमणका कारण मृत्युको पीडासँगै शव व्यवस्थापन प्रक्रियामा परिवारका सदस्यले ‘थप असहजता’ भोग्ने गरेका छन् ।

शव व्यवस्थापनमा नेपाली सेनाको टोलीले सहयोग गर्ने गरेको भए पनि शव वाहन तत्काल उपलब्ध नहुँदा पीडित परिवार थप पीडित बन्ने गरेका हुन् । कोरोना सङ्क्रमणका कारण मृत्युदर वृद्धि भएपछि झापामा शव व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेको महसुस गर्न थालिएको छ । सङ्क्रमणका कारण जिल्लामा दैनिक सरदर ४–५ जनाको मृत्यु हुन थालेको छ । झापा अर्जुनधारा एक वृद्धको एकसाता अघि सङ्क्रमणका कारण घरमा नै मृत्यु भयो ।

शव व्यवस्थापनका लागि नगरपालिकाले नेपाली सेनाको टोलीलाई खबर ग¥यो । बिहान ७ बजे मृत्यु भए पनि शवलाई घाटसम्म पु¥याउनका लागि नेपाली सेनाको टोली ११ बजे आइपुग्यो । सेनाको टोली त आयो तर, नगरपालिकासँग शव वाहन नहुँदा एम्बुलेन्सको सहारा लिनु परेको थियो । ‘अब त एम्बुलेन्सभन्दा पनि शव वाहन प्रमुख आवश्यकता बन्यो’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले भने, ‘सङ्क्रमणका कारण घरैमा मृत्यु भएका वृद्धको शव व्यवस्थापनका लागि लामो समय पर्खिनु प¥यो, बिर्तामोड नगरपालिकासँग शव वाहन माग्दा नगरभन्दा बाहिर नलाने भनेपछि नगरकै एम्बुलेन्स प्रयोग ग¥यौं ।’ बस्नेतले शव वाहन खरिदका लागि अबकोे कार्यपालिका बैठकमा निर्णय गर्ने जानकारी दिए ।

झापाकै मेचीनगर नगरपालिकाले पनि शव वाहन खरिद गर्ने निर्णय गरिसकेको छ । नगरपालिकाका प्रवक्ता नवीन बरालले शव वाहन नहुँदा शव व्यवस्थापनमा कठिनाइ झेल्दै आउनु परेको सुनाए । ‘नगरपालिकाका कोरोना सङ्क्रमितको विराटनगरमा मृत्यु भए शव घाटसम्म पु¥याउँदा रात परिसकेको हुन्छ’ बराल भन्छन्, ‘आफ्नो शव वाहन भएपछि केही सहज होला ।’ झापाको दमक नगरपालिकाको शव वाहन छ । तर, बिग्रिएका कारण सबै स्थानमा सहजरूपमा पु¥याउन नसक्ने दमक नगरपालिकाका शव वाहन चालक धनकुमार लिम्बूले बताए । ‘हाम्रो शव वाहन धेरै टाढासम्म जाँदैन, दमक र छिमेकी पालिकाहरू कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानमा होम आइसोलेसनमा मृत्यु भएकाहरूको शव घाटसम्म पु¥याउँछौं, लिम्बूले भने, ‘हिजोआज त दैनिकजसो शव ओसार–पसार गर्नुपर्छ ।’ बिर्तामोड, धरानमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको शव भने निजी शव वाहनले ल्याउने गरेको लिम्बू बताउँछन् ।

दमकमा नै सर्वनान्द भट्टराई स्मृति प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको छ । विराटनगर, धरानका साथै जिल्लाभित्र मृत्यु हुनेको शव ओसार–पसार गर्दै आएको प्रतिष्ठानका सञ्चालक शेखर भट्टराईले बताए । सम्बन्धित पालिकाले पीपीईको व्यवस्थापन नगर्दा भने आफै पीपीई किनेरसमेत शव ल्याउनुपर्ने अवस्था आएको भट्टराई बताउँछन् । ‘मेचीनगरको धुलाबारी र शिवसताक्षीको धरमपुरमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका नागरिकको शव ल्याउन हामीले आफै पीपीई किन्नुप¥यो’ भट्टराई भन्छन्, ‘स्थानीय तहले दिएका पीपीई पनि साधारण तरकारी बारीमा काम गर्नेले लाउने जस्ता हुन्छन् ।’ स्थानीय तहहरूले मास्क पनि साधारण खालको उपलब्ध गराउने गरेको भट्टराईको दुःखेसो छ । मानवीय सेवाको भावनाले मात्र आफूहरूले काम गर्दै आएको उनले बताए ।

झापाको बिर्तामोड नगरपालिकाको भने शव वाहन छ । नगरपालिकाले नगरभित्रका नागरिकको शव व्यवस्थापन आफ्नै शव वाहनमार्फत् गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । एम्बुलेन्स चालक सङ्घ झापाले सञ्चालन गरेको शव वाहनका चालक चन्द्रबहादुर विश्वकर्माले सुरक्षाका आवश्यक सामग्री उपलब्ध नहुँदा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न समस्या भएको बताए । उनले पीपीईलगायतका सामग्री भए काम गर्न सहज हुनेसमेत धारणा राखे ।

जिल्लामा कति शव वाहन छन् भन्ने यकिन तथ्याङ्क सरोकारवाला निकायमा समेत नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय झापामा शव वाहनको तथ्याङ्क नरहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा पदम ओझाले जिल्लामा सञ्चालनमा रहेका शव वाहनबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘त्यो जीवनजीलाई थाहा हुन्छ’ उनले भने, ‘उहाँहरू समेत भएको टिमले यसको विवरण राखेको हुन्छ, उतै बझ्नुहोला ।’ स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चम्लागाईंले झापामा चारवटा शव वाहन सञ्चालनमा रहेको बताए । तर, स्थानीय तहमध्ये बिर्तामोड, दमक र गौरादहको बाहेक निजीस्तरका थप दुईवटा शव वाहन सञ्चालनमा रहेको पाइएको छ ।

झापाका सम्पूर्ण स्थानीय तहले शव वाहन खरिद गर्नु अहिलेको मुख्य आवश्यकता भएको पाइएको छ । शव वाहन नहुँदा शव व्यवस्थापनमा समस्या हुने, मृत्युको पीडा भोगेका घरपरिवारका सदस्यलाई झन् पीडा हुने अवस्थाको अन्त्यका लागि शव वाहन अनिवार्य बनेको हो ।