रासस/ बेलायतमा दोस्रो पटक लकडाउन घोषणा भएको छ। शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागू हुने गरी चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन्। यसअघि मार्च २३ देखि पहिलो पटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो।

यो पटकको लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन्। अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–अवे पसलहरू भने खुल्ने बताइएको छ।

पछिल्लो पटक कोरोना संक्रमण एक्कासी बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ताको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो।

आगामीे डिसेम्बर २ तारिखपछि लकडाउन अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ।