दमक/ झापाको दमक–३ आँपगाछीमा भ्यूटावर निर्माणको काम धमाधम भइरहेको छ । भ्यूटावर निर्माणका लागि आवश्यक पर्ने पाइल खन्ने काम सकिएको छ । तर, त्यो पाइलको निर्धारित भार क्षमता धान्न सक्ने छ कि छैन भन्नेबारेमा परीक्षण गर्न थालिएको छ । १८ तला अग्लो बन्ने भ्यूटावर नेपालकै सबैभन्दा अग्लो टावर बन्ने भएपछि यसको भार क्षमता परीक्षण गरिएको हो ।

५ बिगाहा क्षेत्रफलमा बन्न लागेको दमक भ्यूटावर अन्तर्राष्ट्रियस्तरको भ्यूटावर बन्नेछ । १८ तलामा त पक्की संरचना बन्नेछ । त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्नेछ । हरेक तलामा विभिन्न प्रकारका सपिङ कम्प्लेक्स, रेष्टुरेण्ट, भिआईपी कार्यालयलगायत हुनेछ । दमक भ्यूटावर मात्र चाहिँ १० कठ्ठा क्षेत्रफलमा बन्नेछ भने बाँकी क्षेत्रमा अन्य संरचना बन्नेछन् । भ्यूटावर निर्माणस्थलमा अहिले मुख्य टावर बनाउनका लागि आवश्यक पर्ने पाइल खनिसकिएको छ ।

२२ मिटरदेखि ४६ मिटर गहिराइसम्म जमिनमा पुरिएका पाइलको भारवहन क्षमता परीक्षण गरिएको हो । यो विधि नेपालमै पहिलो पटक गरिएको निर्माण कम्पनीको दाबी छ । निर्माण कम्पनी जेडसिजिआइजिसी आशिष ओम साईराम जेभीका इञ्जिनियर सर्जन बिडारीका अनुसार कोरोनाको जोखिमका बेला यो प्रविधि भारतबाट झिकाएर गरिएको हो । नेपालमा यो प्रविधि नभएका कारण भारतबाट ल्याइएकोले सङ्कटका बेलामा सास्ती भोगेर भए पनि प्रविधि ल्याएर भारवहन क्षमता परीक्षणको काम सुरु गरिएको हो ।

भ्यूटावर निर्माणको मुख्य जग पाइलको टेष्टिङमा विभिन्न प्रविधिको प्रयोग भएको छ । २२ मिटरसम्म गहिराइको पाइलको भारवहन क्षमता १ सय ९४ टन, ३० मिटर गहिराइमा रहेको पाइलको भारवहन क्षमता ३ सय ३० टनसम्म रहेको अहिलेसम्मको परीक्षणबाट थाहा भएको छ । अब यहाँ रहेका पाइलमध्ये सबैभन्दा धेरै भारक्षमता रहेको ४६ मिटर गहिराइको परीक्षण गर्न बाँकी रहेको भ्यूटावर निर्माण कार्यान्वयन गराउने सरकारी निकाय सघन शहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर भूपेन्द्रकुमार यादवले बताए ।

उनका अनुसार १ सय मिटर उचाइमा यो भ्यूटावर बन्नेछ । यो नेपालकै सबैभन्दा अग्लो टावर रहने सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । जमिनमाथि जति अग्लो भयो, त्यति नै यसको जमिनमुनिको भाग पनि बलियो बन्नुपर्छ । जसका लागि २ सय ८९ वटा पक्की पाइल र ३ सय २४ वटा ग्रावेल पाइल निर्माण गरिसकिएको छ ।

टावर पूरा बनिसकेपछि त्यसको थिच्ने शक्ति बराबरको परीक्षण गरिएको र प्राविधिक डिजाइनअनुसार कम भए पाइल फेरि खन्ने वा थप्ने काम गरिने आयोजना प्रमुख राजेन्द्र खतिवडाले बताएका छन् । उनी भन्छन्, ‘भूकम्पलगायत अन्य कुनै पनि प्राकृतिक विपत्ति आउँदा सकेसम्म टावरमा कुनै क्षति नहोस् भन्ने कुरामा ध्यान दिइएको छ ।’

अहिलेसम्ममा ३ वटा पाइलको परीक्षण गरिसकिएको छ । अन्य पाइलको परीक्षण गरिसकेपछि टावर निर्माणको बाहिरी कामको सुरुवात हुने निर्माण कम्पनीले जनाएको छ । अहिलेसम्म यहाँ २२ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने १८.५ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । भ्यूटावर निर्माणका लागि काठमाडौंको जेडसिजिआइजिसी आशिष ओम साईराम जेभीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेको छ । आगामी २०७८ पुष २७ गते निर्माण सम्पन्न गर्र्ने गरी निर्माण कम्पनीले काम गरिरहेको छ ।