भण्टाबारी  / सुनसरीको इनरुवा नगरपालिका–९ बबियाकी १९ वर्षीया अल्बिना प्रवीणले लामो समययता समाजमा बालविवाह, दाइजोप्रथा विरुद्ध र शिक्षा क्षेत्रमा सुधारका लागि अभियान चलाउँदै आएकी छन् ।

‘कुरआनमा महिला वा पुरुष कसैलाई विभेद गरिएको छैन’ उनी यस्तो अभियानमा लाग्नुको कारण बताउँछिन्, ‘तर, इस्लामका धार्मिक कानून र समुदायको बुझाइ फरक रहेको पाइन्छ । जसले गर्दा इस्लाम धर्मलाई लिएर एकखालको भ्रम सिर्जना भएको पाइन्छ ।’

अल्बिनाकी आमा सहजादी प्रवीण पनि यही अभियानमा सक्रिय छिन् । उनी छोरीलाई यो अभियानमा सहयोग गर्छिन् । केही वर्षअघिसम्म मुस्लिम समुदायका छोरी मान्छेहरू विरलै घरबाट निस्किन्थे ।

तर, हिजोआज अवस्था फेरिएको छ । मुस्लिम समुदायका शिक्षितवर्गका कतिपय आमाबाबुहरूले  छोराछोरीलाई समान अवसर दिएका छन् । जसका कारण सहजादी र अल्बिनाहरू समाजमा जनचेतना जगाउन सफल भएका छन् । आफ्नी आमा सहजादीलाई प्रेरणा मान्ने अल्बिना थप्छिन्, ‘आज म जहाँ छु, जे छु त्यसको श्रेय परिवारलाई दिन्छु ।’

FB_IMG_16003205539893748

कलिलो उमेरबाट बालविवाह विरुद्धको अभियानमा सक्रिय भएपछि अल्बिनाको नेतृत्वमा ७ वटा बालविवाह रोकिएको छ । यतिमात्र होइन, परिवारको साथ सहयोग र आमा सहजादीको आँटले उनलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । सन् २०१७ मा बैङ्ककमा आयोजित एसियाली मुलुकमा बालविवाह सम्बन्धी गोष्ठीमा अल्बिनाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

‘सुरु सुरुमा  कतिपय मान्छेलाई बुझाउन गाह्रो हुँदोरहेछ मान्छेले कुरा बुझ्दैनन्, यथार्थ कुरा नजानी गलत कुरालाई पनि परम्परा भन्दै स्वीकार गरेका हुन्छन्’ अल्बिना आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘२१ औं शताब्दीमा दुनियाँ कहाँदेखि कहाँसम्म पुग्यो अनि हामी गलत कुरालाई पनि परम्परा मानेर कहिलेसम्म बस्ने ?’

received_749208982587701

इस्लाममा महिलालाई शिक्षाको अधिकार दिइएको छ । चाहे त्यो धार्मिक शिक्षा होस् कि एकेडेमीक । ‘इस्लामिक शिक्षा होस् कि एकेडेमिक शिक्षा लिनुमा के गलत छ र ? छोरी डाक्टर, पाइलट या अरू कुनै व्यवसायमा लाग्दा के बिग्रन्छ ?’ उनी प्रश्न गर्दै भन्छिन्, ‘इस्लाममा महिलालाई घरभित्रै सीमित राख्नुपर्छ भन्ने कतै भनिएको त छैन । फेरि किन यति सङ्कुचित छ मुस्लिम समाज ?’

धेरैलाई इस्लाम भनेकै मुस्लिम र मुस्लिम भनेकै इस्लाम हो भन्ने बारेमा भ्रम रहेको बताउँछिन् अल्बिना । उनी भन्छिन्, ‘इस्लाम धर्म हो भने मुस्लिम समुदाय हो । यसर्थ इस्लाम एकातिर र इस्लामिक अभ्यास अर्काेतिर भइरहेको देखिन्छ ।’

इस्लामिक सिद्धान्त र सामुदायिक व्यवहारमा भिन्नता रहेको उनको भनाइ छ । ‘कुनै समुदाय विशेषका व्यक्तिले जानेर वा नजानेर गल्ती गर्न सक्छ’ अल्बिनाकी आमा सहजादी प्रवीण भन्छिन्, ‘इस्लामभित्र अनेकौं नियम छन्, जुन मानवीय हित गर्न बन्छन्, न कि लिङ्गका आधारमा कुनै प्रकारको विभेद गर्न ।’ कुरआनमा बताइएको नियम कानून व्यवहारमा लागू गर्न नसक्दा इस्लाम धर्मलाई लिएर भ्रम फैलिएको उनको बुझाइ छ ।

मुस्लिम समाजले मात्रै होइन, अन्य समाजले समेत छोरी मान्छेलाई हेर्ने नजर त्याग्नुपर्ने उनको तर्क छ । सुनसरी सदरमुकाम इनरुवादेखि दक्षिणीभेगमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बबिया गाउँमा आमाछोरीको प्रयासले समाजमा बालविवाह, दाइजो र महिला हिंसासम्बन्धी सचेतना बढेको सामाजिक अभियन्ता रमेश भट्टराई बताउँछन् । आफ्नो संस्कृति जोगाउँदै परम्पराका रूपमा मानिएको गलत कुरा त्याग्न उनीहरू कटिबद्ध भएर लागेका छन् ।

समाजमा विकराल समस्याका रूपमा रहेको बालविवाह, दाइजो प्रथा तथा महिला हिंसा न्यूनीकरण गर्ने अभियानमा उनीहरूलाई घरपरिवारका अलावा गाउँका जनप्रतिनिधिले समेत साथ दिँदै आएका छन् । तराई मधेसमा शिक्षा र चेतना अभावमा बालविवाह र दाइजोप्रथा जस्ता समस्या यथावत् रहेकोे बताउँदै अल्बिना समाजमा चेतना बढाएको अवस्थामा यस्ता समस्या अन्त्य हुने बताउँछिन् ।

FB_IMG_16003204662961501

ग्रामीणभेगका महिलाको दयनीय अवस्था
इस्लामिक ग्रन्थले महिला र पुरुष दुवैलाई बराबर अधिकार दिए पनि व्यवहारमा त्यस्तो पाइँदैन । सहरी क्षेत्रमा केही महिलाले आफ्नो अधिकार पाए पनि ग्रामीणभेगमा उनीहरूको अवस्था दयनीय छ । अल्बिना भन्छिन्, ‘त्यहाँका महिलालाई आफ्नो हक अधिकारबारे चेतना छैन । पुरुषले जे भन्छन्, त्यसैलाई स्वीकार गर्दै बाँचेका छन्, दबिएका छन् । इस्लामिक कानूनमा त्यस्तो कहाँ लेखिएको छ ?’

ग्रामीणभेगमा अधिकांश मुस्लिम महिला अप्ठेरोमा परेको सहजादीको भनाइ छ । ‘मैले आफै भोगेकी छु, देखेकी छु । छोरी मान्छेलाई राम्रो शिक्षादीक्षा दिँदै आत्मनिर्भर बनाउन कुरआनमा भनिएको छ’ उनी भन्छिन्, ‘तर, व्यवहारमा यस्तो गरिएको कमै पाइन्छ । छोरी मान्छे एक्लै घरबाहिर जानु, पढ्नु, काम गर्नुलाई अधिकांश मुस्लिम समुदायले पचाउन सकेको छैन, जसले गर्दा मुस्लिम समुदायका धेरै छोरी मान्छेले उच्चशिक्षा हासिल गर्न पाएका छैनन् ।’ संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइएको छ ।

received_341700140379870

त्यसमा मुस्लिम महिलाको उपस्थिति ज्यादै न्यून रहेको अल्बिना बताउँछिन् । उनको भनाइमा अवसर आए पनि मुस्लिम समुदायका महिला तयार पार्न अझै पनि मुस्किल छ । उनी भन्छिन्, ‘किनभने शिक्षाको पहुँचमा अझ आइपुगेका छैनन् मुस्लिम दिदीबहिनीहरू ।’ राज्यले दिएको अधिकार उपयोग गर्दै मुस्लिम महिलाको उत्थानका लागि परम्परागत गलत प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ ।