विजयपुर / सर्दु करिडोरसँग जोडिएका सुकुम्बासी बस्तीको विषयमा पछिल्लो फलोअपको क्रममा ‘अधिकांश सुकुम्बासीले नेतासँग जग्गा खरिद’ गरेर बसेको पाइएको छ ।
सुकुम्बासी नेताहरूले प्लटिङ गरेको जग्गा खरिद गरी सुकुम्बासी बस्ती बसेको पाइएको हो ।
हरेक वर्ष सर्दु खोलाले क्षति पुर्याउने धरान–११ को बानडाँडाका सुकुम्बासीहरूले सुकुम्बासी नेताबाट जग्गा किनेर बसेको कमल विश्वकर्माले बताए । उनले सुकुम्बासी हकहितमा काम गर्ने नेताहरूले नै बेचेको दाबी गर्छन् । उनले भने, ‘हामीले अन्त भएको घरजग्गा बेचेर यहाँ किनेर बस्यौ । बेच्नेहरू कहाँ पुगे थाहा छैन ।’ अर्का स्थानीयबासी भीम ठटालले बस्तीका अधिकांश सुकुम्बासीहरूले जग्गा बेचेर हिँडेको बताए ।
सर्दु करिडोर निर्माण हुने भएपछि अहिले झण्डै १५ सय घरधुरी विस्थापित हुने सम्भावना बढेको छ । विस्थापित हुने अधिकांशले नेताहरूबाट नै खरिद गरेको दाबी गर्दै आएका छन् । धरान–१३ देवीमार्गका यम राई विगतमा किनबेचको शृङ्खला अत्यधिक हुने गरेको बताउँछन् ।
उनी भन्छन्, ‘पहिले किनबेच धेरै हुन्थ्यो, अहिले चाहिँ हुन छाड्यो । अधिकांशले किनेरै बसेका हुन् ।’ धरान–११ सुनौलो बस्तीका नरध्वज तामाङले पनि जग्गा किनेरै बसेको बताए । उनका अनुसार धरान–११ नगरकोट बस्तीबासी सबैले किनेर नै बसेका हुन् ।
सुकुम्बासीलाई धरानका नेताहरूले भोट बैङ्कको रूपमा प्रयोग गर्दै आएको छ । धरानमा २०४६ पछि धेरै सुकुम्बासी बस्तीहरू बसेको पुराना नेताकार्यकर्ता नै बताउँछन् । धरान–१६ लोकतन्त्र बस्तीकी सुस्मा मग्राती र प्रमिला विश्वकर्माले पनि आफूहरूले किनेरै बसेको बताइन् ।
सर्दु करिडोरले विस्थापित हुने डर पनि उनीहरूमा रहेको पाइयो । धरान ११ को चौतीस घरे र नयाँ बस्तीलगायत अनेकन बस्तीहरू माओवादी शसस्त्र द्वन्द्वपछि बसेका हुन् । स्थानीय नेता तथा कार्यकर्ताहरूले नै बस्ती बसाएका हुन् । धेरै पटक नेपाल प्रहरी, सशस्त्र प्रहरीले बस्ती हटाउने प्रयास गरे पनि रातारात बस्ती बस्दै आएको थियो । धरान–१७ फोकल्याण्ड टापुका नरेन्द्र राईले पहिलेदेखि नै आफू बस्दै आए पनि किनबेच हुँदै आएको दाबी गरे ।
सर्दु करिडोरका बस्ती कहिले बसे
धरानमा सुकुम्बासी बस्ने प्रचलन धेरै अगाडि भए पनि दु्रत गतिमा भने २०४६ सालपछि नै बसेको पाइएको छ । अध्ययनका क्रममा धरान–१३ को देवीमार्गका जितराज राई २०४२ सालेदखि नै बसेको दाबी गर्छन् । तर, २०४६ पछि भने बस्ती बाक्लिएको हो । धरान–१६ को लोकतन्त्र बस्ती र नौलो बस्ती २०६२–६३ तिर बसेको स्थानीय सुस्मा मग्राती बताउँछिन् । धरान–१६ कै प्रगति मार्ग भने २०५३ सालतिर बसेको उनको भनाइ छ । धरान–११ को सुनौलो बस्ती, यलम्बर बस्ती, सूर्यमुखी बस्ती र चौतीस घरे २०५२–५३ सालतिर बसेको स्थानीय बताउँछन् ।
धरान–११ कै हिमालयन/नयाँबस्ती २०६३–६४ मा बसेको सुमन गहतराजले जानकारी दिए । नगरकोट बस्ती २०६७ सालमा बसेको नरध्वज तामाङ बताउँछन् । त्यस्तै नमुना सुन्दर बस्ती २०७२–७३ तिर बसेको जितराज राईले बताए । धरान–१७ को नमुना सुन्दर बस्ती ‘ख’ पनि २०७२ सालतिर बसेको चन्द्र राईले जानकारी दिए । धरान–१७ को फोकल्याण्ड बस्ती भने २०४५–४६ तिर नै बसेको स्थाानीय नरेन्द्र राईले जानकारी दिए ।
यसरी विभिन्न कालखण्डमा सुकुम्बासी बस्ती बसे पनि सर्दु करिडोर निर्माण हुँदा विस्थापित हुने बस्ती भने २०७२ सालपछि मात्रै बसेको पाइएको छ । सुकुम्बासी बस्ती बसाउनु कतिपय नेताहरूले राजनीतिक आन्दोलनको उपलब्धि रहेको सुकुम्बासी नेता तथा नेकपाका नगर सचिव सुदर्शन श्रेष्ठले जानकारी दिए ।