विजयपुर/कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अन्य व्यवसासीहरू धरासायी भए पनि औषधि व्यवसायीमा भने खासै ठूलो प्रभाव देखिएको छैन ।

अन्य व्यापार–व्यवसाय सञ्चालन गर्नेहरूले बन्दको समयमा पनि केही न केही सामाजिक उत्तरदायित्वको काम गरेका छन् । तर औषधि व्यवसायीले भने यस्ता काम गरेको पाइँदैन ।

औषधि व्यवसाय जनस्वास्थ्यसँग सम्बन्धित भएकोले लकडाउनमा पनि व्यवसाय बन्द भएका छैन । औषधि व्यवसाय सबैभन्दा बढी नाफा हुने व्यवसाय पनि हो । तर, नाफा हुने व्यवसाय भए पनि सामाजिक उत्तरदायित्वको काम गरेको आफूलाई थाहा नभएकोे धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले बताएकी छन् ।

लकडाउनको समयमा व्यापार वृद्धि नभए पनि खासै प्रभाव नपरेको औषधि व्यवसायी सङ्घ धरानका अध्यक्ष मचेन लिम्बूले बताए । औषधिलाई सरकारले अति आवश्यकीय वस्तुमा राखेको छ । बन्द गर्दा पनि किन बन्द भन्ने हुनाले जोखिम मोलेर सेवा गर्नुपरेको छ । उनले औषधि आयातमा पनि खासै समस्या नरहेको बताएका छन् ।

तर, औषधि व्यवसायीहरूमा केही भने समस्या रहेको उनले बताएका छन् । लकडाउनमा पनि व्यापार बन्द नहुँदा कसरी समस्या भयो भन्ने प्रश्नमा उनले भने, ‘लकडाउन भएपछि टाढाबाट आउने र सामान्य बिरामी अस्पताल नआउने भएपछि व्यापार घट्यो, जसले गर्दा केही व्यवसायीलाई भने समस्या छ ।’ उनले सामाजिक उत्तरदायित्वको केही काम गर्ने बारे सोचिरहेको पनि बताए । ‘आवश्यक परे हामी सामाजिक काम गर्छौं’–उनले भने ।

औषधि व्यवसायी सङ्घका सचिव प्रवेज आलमले औषधि व्यवसायीहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामी कुरुवाहरूलाई १५ दिनसम्म खाना खुवाएको बताएका छन् । उनले लकडाउनमा ओपिडी सेवा बन्द भएपछि व्यापारमा असर परेको बताए ।

लकडाउनमा प्रभावित भएर पनि विभिन्न सामाजिक सङ्घ–संस्था, सङ्गठन, उद्योगी व्यापारीहरूले सामाजिक उत्तरदायित्वका काम गरिरहेका छन् । तर, यस्तो व्यापार मन्दीको अवस्थामा पनि राम्रोसँग व्यापार सञ्चालन गरिरहेका औषधि व्यवसायीको भने खासै सामाजिक उत्तरदायित्वका कार्यहरू नदेखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

उनले भने, ‘एक जना व्यवसायी पङ्कज साहले व्यक्तिगत रूपमा एक थान ज्वरो मापन गर्ने यन्त्र थर्मल गन उपलब्ध गराएका छन् ।’ साह औषधि व्यवसायी सङ्घ सुनसरी जिल्ला सचिवसमेत हुन् ।