धनकुटा/ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्र्रदेश १ विराटनगरले कोभिड–१९ प्रभाव न्यूनीकरण गर्न कृषि व्यवसाय राहत कार्यक्रम अन्तर्गत तेह्रथुम र धनकुटा जिल्लाका फर्म तथा सहकारीहरूले १ करोड ३२ लाख रुपैयाँ राहत पाउने भएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटा अन्तर्गत सम्पर्क केन्द्र तेह्रथुम र धनकुटाको कृषि व्यवसाय राहत कार्यक्रम सञ्चालन गर्न जिल्लास्तरमा रहेको राहत तथा ब्याज अनुदान सिफारिस समितिको सोमबार बसेको २ छुट्टाछट्टै बैठकले यस्तो सिफारिस गरेको हो । कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.१ विराटनगरले ०७७ जेठ २२ देखि ०७७ असार ५ गते (१५ दिन) सम्म कोभिड–१९ प्रभावको न्यूनीकरण गर्न कृषि व्यवसाय राहत कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले बताए ।
जिल्लामा दर्ता भएका फर्महरूमध्ये आधिकारिक दर्ता प्रमाण–पत्र भएका फर्म÷सहकारी संस्थाहरूलाई मात्र समावेश गरी प्रदान गरिने प्रमुख ढुङ्गानाले वताए । जस अन्तर्गत तेह्रथुम जिल्लाका लागि बोइलर कुखुरा राहत कार्यक्रम ९ वटालाई ४ लाख ३५ हजार १ सय ५० रुपैयाँ, बङ्गुर राहत कार्यक्रम एउटालाई १३ हजार ५० रुपैयाँ, दूध उत्पादन राहत कार्यक्रम ८ वटालाई २९ लाख ९४ हजार ५ सय २० रुपैयाँ र दुग्ध पदार्थ बिक्री राहत कार्यक्रमको लागि ४ लाख २५ हजार रुपैयाँ सिफारिस गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले बताए ।
त्यसैगरी धनकुटा जिल्लामा दर्ता रहेका फर्म तथ सहकारीहरूमध्ये बङ्गुर राहत कार्यक्रम छथरजोरपाटी–१ का मोहन लिम्बूलाई ६ हजार, बोइलर कुखुरा राहत कार्यक्रमको लागि जम्मा १३ वटाको लागि ९ लाख १५ हजार ४० रुपैयाँ, बङ्गुर राहत कार्यक्रम १ जनालाई ६ हजार, दूध उत्पादन राहत कार्यक्रम ५० जनालाई ६६ लाख ९५ हजार ३ सय ७३ रुपैयाँ, दुग्ध पदार्थ बिक्री राहत कार्यक्रमको लागि १४ वटालाई १६ लाख १ सय रुपैयाँ गरी जम्मा १ करोड ३० लाख ९० हजार २ सय ३३ रुपैयाँ राहत पाउने प्रमुख ढुङ्गानाले जानकारी दिएका छन् ।
राहत पाउने दर्तावाला निजी फर्म तथा सहकारीको छनौट भने कृषि व्यवसाय राहत कार्यक्रम सञ्चालन गर्न जिल्लास्तरमा रहेको राहत तथा ब्याज अनुदान सिफारिस समितिले गर्ने बताइएको छ । तेह्रथुम र धनकुटा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गठित ७–७ सदस्यीय समितिले सिफारिस गर्ने जनाइएको छ ।