- धनबहादुर पुरी
इटहरी/ गत जेठ १८ गते इटहरी– २० तरहराका २८ वर्षीय रादन राईलाई आफ्नै साथीहरूले चक्कु प्रहार गरे । छातीमा चक्कु प्रहारबाट घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएलगत्तै मृत्यु भयो ।
घटना सम्झँदै रादनका गाउँले दाइ सन्तोष श्रेष्ठ भन्छन्, ‘इटहरीमै स्तरीय अस्पताल भएको भए धरान पुर्याउने समयभन्दा अगाडि नै उपचार शुरु भइसक्ने थियो । रादन बाँच्ने सम्भावना पनि त्यतिकै थियो । इटहरीमा दैनिकजसो दुर्घटना हुने र उपचार अभावमै कतिपय बिरामीको मृत्यु हुने गरेको उनी बताउँछन् ।
करिब एक वर्षअगाडि इटहरी–६ सङ्गीत चौककी २० वर्षीया पूजा शर्मा आफ्नै घरको चार तला माथिबाट अचानक लड्न पुगिन् । गर्मी मौसम भएकाले बार्दलीको डिलमा बस्न खोज्दा उनी लडिन् । अवस्था गम्भीर भएकाले तत्काल एम्बुलेन्स बोलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो । उपचारको क्रममा उनको मृत्यु भयो । तर नजिकै अस्पताल भएको भए बाँच्न सक्ने दाबी गर्छन् मृतकका काका दीपक शर्मा ।
इटहरी पूर्वी नेपालको प्रमुख शहरहरूमध्ये एक हो । यद्यपि स्तरीय सेवासुविधा भएको अस्पतालको अभाव छ । स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीय सरकारसम्मको चुनावमा ठूला अस्पतालको कुरा जोडदारका साथ उठे पनि सुविधा सम्पन्न अस्पताल भने अहिलेसम्म निर्माण हुन सकेको छैन ।
स्थानीय, प्रदेश र सङ्घीय सरकार, सरोकारवाला निकाय, सङ्घ–संस्था, व्यक्ति तथा नागरिक समाजबीच समन्वय र सहकार्य गर्दै इटहरीमा स्तरीय अस्पताल स्थापना र सञ्चालन गर्नुपर्ने इटहरीवासीको माग छ । अहिले अस्पतालको माग सामाजिक सञ्जालमा व्यापकरूपमा उठेको छ । इटहरीका सामाजिक अभियन्ता सन्दीप पौडेलले अस्पताल बनाउन सबै नेताहरूले बेवास्ता गर्दै आएको आरोप लगाए ।
उपचारका लागि धरान र विराटनगरका अस्पताल धाउनुपर्ने बाध्यता छ । इटहरीमा रहेका अस्पतालहरूले सामान्य उपचार मात्र दिने गरेका छन् । इटहरीमा केही स्वास्थ्य संस्थाहरू त छन् तर तिनीहरूमा विशेषज्ञ चिकित्सक नहुँदा हप्तौं पर्खनुपर्ने वा अन्यत्र अस्पताल लैजानुपर्ने इटहरीबासीको बाध्यता छ । भेण्टिलेटर, आइसियु, एनआइसियु जस्ता सेवा उपलब्ध छैनन् । इटहरीमा ७ वटा अस्पताल र ७ वटा पोलिक्लिनिक सञ्चालनमा छन् ।
नेपाल औषधि व्यवसायी सङ्घका अनुसार झण्डै ८० को हाराहारीमा औषधि पसल सञ्चालनमा छन् । नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चार वटा स्वास्थ्य चौकी र एक शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र छ । १५ शय्याको अस्पताल सञ्चालन गर्ने भनेर उपमहनगरपालिकाले इटहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल नामकरण गरेको छ । क्षेत्रफल र भौतिक पूर्वाधारसमेत पर्याप्त छ । तर स्तरोन्नतिको काम भने अघि बढ्न सकेको छैन ।
इटहरीमा ठूला–ठूला लगानीमा विभिन्न स्वास्थ्य संस्था स्थापना नभएका भने होइनन् । क्षेत्रमा लगानीको क्रम जारी छ । केही वर्षअघि ठूलो लगानीमा खुलेका टिआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पूर्वाञ्चल हस्पिटल लगायतका स्वास्थ्य संस्थाहरू बन्द भएका छन् । सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूमा दक्ष जनशक्तिको अभाव छ ।
टिआर हस्पिटल सञ्चालनमा ल्याएर बन्द गरेका इटहरीका व्यापारी तिलक अधिकारी भन्छन् ।
४ करोडको लगानी गरेको अस्पताल बन्द गरे । आन्तरिक व्यवस्थापन र पार्किङको समस्याको कारण अस्पताल बन्द गर्नुपरेको बताए । ‘व्यवस्थापन कमजोर हुँदा पाँच वर्षपछि अस्पताल बन्द गर्नुपर्यो । विराटनगर लाइनमा करिब चार करोडको लगानीमा १५ शय्याको अस्पताल शुरु गरेका थिए ।
सुनसरी क्षेत्रनम्बर ३ (क) का प्रदेश सांसद् लिलम बस्नेतले यो वर्षबाट इटहरीमा ठूलो अस्पताल बनाउने काम शुरु हुने बताए । यो वर्ष प्रदेश सरकारको नीति तथा कार्यक्रममै ठूला अस्पताल बनाउने योजना परेको उनी बताउँछन् । इटहरीमा अस्पताल अत्यावश्यक भएको कारण यो वर्ष मुख्यमन्त्रीकहाँ डेलिगेसन गएर अस्पतालको लागि पैसा हाल्न लगाएको बताए ।
सामुदायिक अस्पताल इटहरीका अध्यक्ष टङ्क दुलाल बाहिरबाट जनशक्ति ल्याउनु पर्ने बाध्यता रहेको बताए । अहिले ७१ शøयाको अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए । ‘प्रसूति सेवाको समेत तयारी गरेका छौं’ –उनले भने । अस्पताललाई स्तरोन्नति गर्न आफूहरू लागिपरेको बताए । ‘सिटी, एमआरआई सहितको सेवा दिने तयारीमा छौं’–दुलालले भने ।
इटहरी अस्पतालको इमर्जेन्सी इञ्चार्ज रामकुमार धमलाले इटहरीमा २३ कोठे भवनसहितको सङ्घीय सरकारको लगानीमा अस्पताल बन्ने तयारी भइरहेको बताए । प्रदेश सरकारबाट पनि अस्पतालको स्तरोन्नति गर्ने गरी बजेट विनियोजन भइरहेको बताउँदै उनले इटहरीमा १० वर्षअगाडि प्रक्रियामा गएको भए इटहरीमा अस्पतालको अभाव हुने थिएन । वार्षिक ३५ हजार बिरामीले सेवा लिन्छन् । १ सय ५० जनासम्म अहिले दैनिक बिरामी आउने गरेको इटहरी अस्पतालमा अहिले ५ वटा मात्र शय्या छन् । इटहरीमा करिब ३ लाख जनसङ्ख्या छ ।
आशामा सैनिक अस्पताल
इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले गत फागुनमा आयोजित एक समारोहमा अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताएका थिए ।
सैनिकका आफन्तहरूलाई अस्पतालबाट छाती रोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ । सोही अस्पतालबाट इटहरीका जनप्रतिनिधिहरूले समन्वय गरेर आम इटहरीबासीको उपचार गराउनसके इटहरीबासीलाई राहत हुने थियो कि ?