बिर्तामोड । बालबालिकालाई नियमित प्रदान गरिने खोपहरूको सूचीमा अर्को एउटा खोप थप भएको छ । अब अभिभावकले बालबालिकालाई रोटा भाइरस बिरुद्वको खोप लगाउनु पर्ने भएको हो ।
उच्च सङक्रमण हुने झाडा पखाला रोकथामको लागि ‘रोटारिक्स’ नामको खोप लगाइने भएको अर्जुनधारा नगरपालिकामा आयोजित गोष्ठीमा बताइएको छ । रोटा भाइरस सङक्रमणका कारण हुने झाडा पखालाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने गोष्ठीका सहजकर्ता दुर्गा भट्टराईले बताए ।
रोटा भाइरसको सङक्रमण जुनसुकै उमेरका मानिसमा पनि हुने उनले बताए । भट्टराईका अनुसार सङक्रमितमध्ये ८५ प्रतिशत बालबालिकाहरू रहने गरेका छन । झाडापखालाको बिरामी मध्ये पनि ३० प्रतिशत रोटा भाइरस प्रभावित हुने गरेको तथ्याङ्क रहेको छ ।
बिश्व स्वास्थ्य सङगठनका अनुसार सङक्रमित ब्यक्तिको दिसाबाट दुषित भएको खाना र पानीको माध्यमबाट यो रोग सर्छ । यो रोगको सङक्रमणबाट बचाउनको लागि रोटारिक्स खोप अनिवार्य लगाउनु पर्ने विश्व स्वास्थ्य सङ्गठनको सुझाब छ ।
हालसम्म अभिभावकले बच्चालाई बिसिजी, एफआईपिभी, पिसीभी, डिपिटी, हेपाटाइटिस बि, पोलियो, दादुरा रुबेला बिरुद्वको खोप र जापानिज इन्सेफ्लाइटिस बिरुद्वको खोप दिँदै आएका थिए । अब रोटा भाइरस बिरुद्वको खोप पनि खोपको सूचीमा थप भएको हो । जन्मेको ६ र १० महिनामा दुई पटक यो खोप नजिकैको स्वास्थ्य संस्थामा लगेर लगाउन सेवाग्राहीमा अनुरोध गरिएको छ । यो खोप बच्चाको मुखमा राखेर दिइने गोष्ठीमा बताइएको छ ।
रोटा भाइरसको सङक्रमणबाट बच्नका लागि झाडा पखाला लागेको बेला अपनाइने सावधानी कायम राख्नुपर्ने अर्जुनधारा नगरपालिका स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले बताए । उनले आगामी आर्थिक बर्षको साउनदेखि यो खोप प्रदान गर्न शुरु गरिने जानकारी दिए ।