बिकास र शिक्षा व्यवस्था

मानव सभ्यताको बिकाससँगसँगै नयाँ चिन्तन र व्यवहारहरु बिकसित भए ,जसको सैद्धान्तिक र व्यवहारिक प्रगतिलाई शिक्षा मानियो । बिकासक्रममा गरिएका अनुभब र तिनीहरुको निरन्तरताले जीवन भोगाईमा पारेको प्रभाव सहितको सामाजिक अन्तरघुलन शिक्षा हो ।स्थापित दार्शनिक दृष्टिकोणलाई आधार बनाउँदा बिकासवादी र रचनावादी मान्यताहरु प्रधान छन् ।

संरचनावाद वैज्ञानिक प्रयोग र भौतिक यथार्थतासँग भन्दा ईश्वरीय देनमा आधारित छ भने बिकासवाद विज्ञानले पुष्टि गरेका तर्क र प्रमाणहरुका आधारमा आधारीत मानिन्छ । शिक्षा परम्परा र वर्तमान विश्वको शैक्षिक इतिहास र वैज्ञानिक आविस्कारहरुलाई शुरुवात गराउने पद्धतिकारुपमा प्राचिन वैद्धिक शिक्षा पद्धतिलाई लिइन्छ । पूर्वीय दर्शन र वेदमा आधारीत वैदिक शिक्षाको बिकास प्राचिन ऋषिमुनीहरुले लामो समयसम्म स्वाध्यायन र प्रयोगबाट सिर्जना गरेको ज्ञान र अनुभवहरुको निरन्तरता हो । वेदलाई अपौरुषेय र देव वाणीकारुपमा स्वीकार गर्ने पूर्वीय दर्शन र शिक्षाको आधारशीला नै वेदलाई मानिनु र यो स्वयम् प्रयोगमा आधारीत हुनुले वैदिक शिक्षा व्यवस्था पूर्णतया प्रयोग र व्यवहारमा आधारित थियो ।

प्राचीन परम्परामा शिक्षा र त्यस सम्बन्धि व्यवस्था

वर्तमान युग विज्ञान र प्रविधिको युग हो । यो युगका अधिकांश मानिसहरुलाई सोध्ने होभने विज्ञानले स्वभाविकरुपमा गरेको प्रगति भन्ने जवाफ पाइन्छ तर विज्ञान कसले बनायो र यो कसरी बिकसित भयो ? यसका वैज्ञानिक भेद र मतभेद कस्ता थिए? ती कसरी स्थापित हुँदैगए भन्ने पाटो अल्मलिएजस्तो लाग्छ । शिक्षा परम्पराको प्राचीन रुप विश्लेषाण गर्ने हो भने यी जिज्ञासाहरु समाधान हुन सक्दछन् । बालबालिकालाई शिक्षा प्रदान गर्ने परम्परा प्राचीन वैद्धिक कालमा शारीरिक र मानसिक बिकासका दृष्टिले पूर्ण वैज्ञानिक थियो । हरेक बालबालिकाहरुलाई पाँच वर्ष पूरा भएपछि शुभ दिन पहिचान गरी शिक्षा आरम्भ गराइन्थ्यो । शिक्षारम्भ कर्मपछि आमा र घरपरिवारका सदस्यहरुले आफ्नो ज्ञानका आधारमा कथा कविता श्लोक र किंबदन्ती प्रयोग गरी बालकलाई सामाजिक अनुशासन, नैतिक दृष्टान्त र चरित्र निर्माणका व्यवहारहरु सिकाइन्थे । उदाहरणका रुपमा श्रीमदभागवतको चतुर्थस्कन्धको आठौं अध्यायमा वर्णन गरिएको ध्रुव चरित्रमा आमा सुरुचीले दिएको उपदेशलाई लिन सकिन्छ ।

दोश्रो चरणमा बालकलाई कुल गुरु पुरोहित बोलाई घरैमा शिक्षा दिने परम्परा थियो, यसलाई प्रारम्भिक भनिन्थ्यो । यो चरणमा विषेश गरी बालकको रुची क्षेत्र पहिचान गर्ने र गुरुकुलकालागि तयारी गराउँने आधारभूत ज्ञान दिइन्थ्यो । यस्तो परम्परालाई वर्तमान समयमा हामीले कस्तो अभ्यासमा ल्यायौं यो विश्लेषण गर्न आवश्यक छ । वालमनोवैज्ञानिक दृष्टिले विश्लेषण गर्दासमेत बालकको शारीरिक सवलता ,भाषिक बिकास, नैतिकता र वौद्धिकताको लगभग पचहत्तर प्रतिशत क्षमता ५देखि ८ वर्षको समयमा विकास हुनेभएकाले विध्यारम्भको उक्त समयलाई उपयुक्त ठहराइएको हो । यसै गरी आमा र घरपरिवारबाट भाषिक मानसिक र संवेगात्मक व्यवहार सिकाउने र घरैमा शिक्षक बोलाई घरायसी वातावरणमा आचरण र सामाजिक जीवनसँग सम्बन्धित शिक्षाको तयारी गर्ने परम्परालाई एकल परिवार, कामकाजी बाबुआमाको कार्यव्यस्तता र छिटै विद्धान बनाउँने अभिलाषाका कारण बोली नफुट्दै र राम्रोसँग गोडा टेक्न नसक्दै विद्यालय भर्ना गर्ने परम्पराले बालबालिकाको सामाजिक, संवेगात्मक, मानसिक र चारित्रिक बिकास अपेक्षा अनुरुप नभएको प्रष्ट हो ।

विद्यालयीय शिक्षा

उपनयन संस्कारपछि गुरुकुलमा आफ्नो कुल परम्परा ,रुची क्षेत्र र सीप अनुसारको शिक्षा व्यवस्थापनहुने गर्दथ्यो । गुरुकुलमा अध्ययनगर्ने विद्यार्थीलेआफ्नालागि आवश्यक खर्च र खाद्यान्यको स्वयं व्यवस्था गर्नु पर्दथ्यो । त्यस समयमा आर्जनको सजिलो माध्यमकारुपमा भिक्षाटनलाई लिइन्थ्यो । यो सीप उपनयन संस्कार गर्दा नै बटुकलाई सिकाइन्थ्यो ताकि पछि विद्यालय गएपछि उसले दुःख नपाओस् । यो परम्पराबाट के प्रष्ट हुन्छभने हामीले हाम्रा विद्यार्थीहरुलाई स्वआर्जनका सीपहरु सिकाउन आवश्यक छ । स्वआर्जनकाट प्राप्त गरेका बस्तुहरु गुरुको नियन्त्रणमा रहने भएकाले मितव्ययिताको सीप पनि सँगसँगै बिकसित गराइने परम्परा वर्तमान पद्धतिमा पनि उपयोगी छ ।

गुरुकुलमा विद्यार्थीले आफ्नो योग्यता र क्षमताको आधारमा चौध विद्या र चौसठी कला अध्ययन गर्दथे, यी विषय क्षेत्रहरु वर्तमान समयमा आवश्यक मानिएका सैद्धान्तिक र प्राविधिक विषयसँग सम्बन्धित छन् । सिक्नु र जान्नु अलग मान्ने परम्परा पनि प्राचिन वैद्धिक प्रणालीमा स्पष्ट थियो । हरेक मानिसले कुनै पनि क्षेत्रमा आफ्नो स्पष्ट धारणा राख्न नसक्नु वा आफूलाई अन्योल भएको अनुभूति गर्नुलाई अज्ञानता मानिन्छ त्यसकारण अज्ञानताको निवारण नै उपयुक्त शिक्षा हो जसकालागि श्रीमद्भगवत गीताको तेह्रौं अध्यायको आठदेखि बाह्रौं श्लोक (अमानित्वमदाभिमित्वमहिसा...प्रोक्तम ज्ञानं यदतोयथा)ले मानवीय ज्ञान अन्तर्गगत निम्न गुणहरुको बिकासव्याख्या गरेको छ.

-विनम्रता
-अभिमान शुन्यता
-अहिंसा
-सहनशीलता
-सरलता
-सुयोग्य गुरुको शरण
-पवित्रता
-स्थिरता
-आत्मसंसय
-इन्द्रिय तृप्तीका विषयको परित्याग
-अहंकारको अभाव
-जन्म,मृत्युु,बृद्धावस्था र रोग जन्य दोषको ज्ञान
-अनाशक्ति
-सन्तान,पत्नी,घर आदिकुराको जञ्जालवाट मुक्ति
-राम्रा नराम्रा घटना प्रति समभाव
-भगवान प्रति निरन्तर तथा शुुद्धभक्ति
-एकान्तवासको चहान
-भौतिक सुखसयलबाट पररहने
-स्व पहिचान
-दार्शनिकरुपले अन्तिम सत्यको खोजी

यस्ता अभ्यास र परम्पराबाट हाम्रो शिक्षा प्रणालीलाई व्यवस्थापन गर्न सकेको खण्डमा सचेत र सुसभ्य नागरिक उत्पादनमा टेवा पुग्ने देखिन्छ । वर्तमान अमेरिकी शिक्षाका उद्धेश्यमा गीताले व्याख्या गरेको स्वपहिचान अटाउनसक्दा हामी हाम्रा मौलिक परम्परा र अभ्यासहरुलाई निरन्तरता दिन नसक्नु आफैमा लज्जाजनक छ ।

वर्तमानमा हाम्रो अलमल

विज्ञानको चरम बिकासका कारण संसारमा बिकसित भएका हरेक भौतिक सुख सुबिधाहरुलाई आफूले उपभोग गर्नुपर्ने मानसिकताका कारण वर्तमान शिक्षा पद्धति त्यसैको चपेटामा पर्न गएको छ । उपभोगवादी संस्कृतिका कारण समाज ज्ञान आर्जन भन्दा पनि भौतिक पदार्थको संग्रहमा क्रियासिल भएकाले हाम्रा स्थापित मान्यता र मौलिक परम्पराहरु क्रमशः लोप हुने अवस्थामा छन् । कतिपय परम्पराहरु पश्चिमाहरुले अभ्यास गरेर उपयुक्त ठानेपछि फेरि यो हाम्रो संस्कार हो भन्न हामी पछि पर्दैनौं(कोरोनाका कारण नमस्कार फर्किएको संस्कृति)।परम्पराहरुको निरन्तरता अभावका कारण हाम्रा सन्ततिहरु अन्योलमा रहेका छन् । आज हरेक अविभावक र शिक्षकले गर्ने एउटै गुनासो “हाम्रा छोराछोरी र विद्यार्थीमा संस्कार छैन” ।

हरेक बाबुआमाले “घरमा को आयो? समाजमा के हुँदैछ? कोसँग कसरी बोल्ने? अविवादन गर्नुपर्ने हो या होइन? केही थाहा पाउदैनन्, खाली मोवाइलमा झुन्डिएकाछन्” भन्ने गुनासो गर्नुहुन्छ । बालबालिकालाई आफू ब्यस्त रहने र सुबिधा उपभोगकालागि दौडिन नअल्झावस् भनेर विद्युतिय साधनहरुमा अल्मल्याउने आफ्नो कमजोरीलाई कसैले पनि स्वीकार गर्दैन । के हामीले कहिल्यै आफ्ना छोराछोरीहरुलाई सँगै राखेर नीति कथाहरु सुनायौं?विनम्रता ,अभिमान शून्यता आफूले आफैलाई चिन्ने वातावरण तयार ग¥यौं? जसको परिणाम बालबालिकाहरु एक्लै रमाउन थाले त्यो सामाजिकीकरणको बाधक हो ।

घर र विद्यालयले कहिल्यै पनि के जान्यौ भन्ने कुरालाई प्राथमिकतामा नराखी कति अङ्क ल्यायौ?लाई प्राथमिकतामा राख्दा सीप र व्यवहारभन्दा घोक्ने र अङ्क ल्याउने परम्परामात्र हावी भयो । पूर्वीय शिक्षा परम्परामा विद्यार्थीले के जान्यो भनी गुरु र परिवारका सदस्यहरुले खोजी गर्ने चलन थियो । हिरण्यकश्यपुले गुरुकुलमा भर्ना भएका आफ्ना छोरा प्रल्हादलाई पहिलो दिनको पाठ बुझाउन लगाएको र प्रल्हादले श्रवणं किर्तनं विष्णोः स्मरणं पाद सेवनम् । अर्चनं बन्दनं दास्यं सख्यमात्मानिवेदनम् (श्रीमद्भागवत् सप्तमस्कन्ध ५ औं अध्याय २३ औ.श्लोक)भन्ने पाठ बुझाएको तथ्यलाई उदाहरणकारुपमा लिन सकिन्छ । हामीले हाम्रा विद्यार्थीलाई पास हुनकालागि मात्र प्रेरित गरिरह्यौं जसरी घरमा पालेको कुकुरलाई मालिकले आफू चौरासी व्यञ्जनले अघाएर चुठ्न उठ्दा एक डल्लो भात दिंदै यो पनि टन्न अघायो भन्ने अनुभूति गर्दछ, त्यस्तै विद्यार्थीलाई अड्कलेर दिइएको शिक्षा र निश्चित विषय क्षेत्रबाट सोधिने प्रश्नका आधारमा प्राप्त गरेको अङ्कलाई हेरेर गुणस्तर सुनिश्चितता गराइनु वर्तमान उपभोगवादी शिक्षाको दोष मानिन्छ ।

लगभग दुई महिनादेखि विश्व बन्दाबन्दीको अवस्थामा छ । हामी नेपालीले पनि एक महिनाको यो अवधी पार गरिसक्यौं । बन्दाबन्दीको यो अवस्थामा अलपत्र रहेका कक्षा चढेका, परीक्षा रोकिएका कारण कक्षा चढ्न नपाएका, नतिजा रोकिएका विद्यार्थीहरुकालागि थुप्रै शैक्षिक अभ्यासहरु बिकास भएका छन् । सुबिधा सम्पन्न शहरी क्षेत्रका विद्यार्थीहरुकालागि विद्यालय र महाविद्यालयहरुले अनलाइन कक्षामा जोडिन विद्यार्थीहरुलाई आव्हान गर्दै सामाजिक सञ्जालमा संप्रेसित सूचना हेर्दा सम्पन्न र विपन्न वर्गको शिक्षामा झन् गहिरो खाडल बनिएको स्पष्ट हुन्छ । के यो शैक्षिक पद्धति सम्पूर्ण नेपाली विद्यार्थीकालागि सान्दर्भिक छ? यो बेग्लै बहसको विषय बन्नसक्छ । हाम्रो वर्तमान शिक्षा व्यवस्था न त पूर्ण आदर्शवादमा आधारित रह्यो न प्रकृतिवादमा नै या त जोन डिवेले शुरुवात गरेको प्रगतिवादी शिक्षा व्यवस्थामा नै ।

हामी त व्यवसायिक शिक्षा अन्तरगत कृषि र वागवानीलाई खेतबारी र बगैंचामा नपसी विद्धान बनाउने नयाँ आश्चार्यवादी शिक्षा पद्धतिबाट गुज्रिह्यौं । कतिपय हाम्रा शिक्षा नीति र व्यवहारहरु नबुझीकन नै प्रयोगमा छन् । कृषि प्रधान मुलुक भएका कारण खेतीमा आत्मनिर्भर वनाउन सघाउने उद्देश्यले खेती पातीका बेला विद्यालय जाने छोराछोरीले बाबुआमालाई काममा सघाउन तत्कालिन समयमा प्रचलनमा ल्याईएको बर्खे बिदा शिक्षक तथा कर्मचारीकालागि सुबिधा, विद्यार्थीकालागि रमाइलो, र अविभावककालागि बोझ हुन पुगेको छ । अब बर्खे बिदालाई त्यसको मर्मअनुसारको प्रयोगमा ल्याउन आवश्यक छ । अहिलेको जस्तै महामारी बढ्दै जाँदा संसारभरि खाद्य संकटका कारण भोकमरीको सम्भावना बढ्ने भएकाले हरेक विद्यालयहरुले कृषि, उद्योग, व्यापार आदिका क्षेत्रमा स्वाभलम्वी र आत्मनिर्भर नागरीक उत्पादनका विषयको खोजी गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ ।

धान दिवसका दिन अवोध बालबालिकाहरुलाई हिलोमा उफार्नभन्दा बाँझा खेतहरुमा धान रोप्न, गोड्न र काट्न सिकाऔं,जडीवुटीको पहिचान ,प्रयोग र प्रशोधनका पद्धति विकास गराऔें । कोरोनाका कारण एकान्तवासमा रहेका विद्यार्थीहरुले तरकारी, मासु र दुधजन्य पदार्थको आपुर्तिमा भएको अभाव अनुभूतिलाई कार्यान्वयनमा ल्याई श्रमभाव बिकास गराउन सके आत्मनिर्भरता बढाउन सकिन्छ ।

हाम्रा प्राचीन मौलिक परम्पराहरुको संरक्षण, सम्वद्र्धन र विकास गर्दै वर्तमान महामारीका कारण विश्व परिवेशले अनुभुति गरेका तथ्य र प्रमाण समेतको विश्लेषण गरी समयानुकुल शिक्षा व्यवस्थामा सुधार सहित वैज्ञानिक, वैयक्तिक आत्मनिर्भरतासहितको व्यवहारिक शिक्षा व्यवस्थापन गर्न आवश्यक छ ।

Email: [email protected]