अब महिलाहरू घरभित्रको चुलाचौकामा मात्र सीमित हुनुहुँदैन बाहिर निस्केर उद्यम गर्नुपर्छ भन्दै सशक्तीकरणमा लागि परेका छन् । शिखरमा पुग्न सङ्घर्ष गर्नुपर्दछ । आजभोलि सबै पेसामा महिला सक्षम हुँदै आएका छन् । आज नारी दिवस मनाइरहँदा काम गरेर पेसामा स्थापित भएका तीन सङ्घर्षशील महिलासँग ब्लाष्टका लागि अनिल श्रेष्ठले गरेको भलाकुसारी :

फेशनमा रमाउँदै शिल्पा

रुचिको विषयलाई पेसामा परिणत गरे सफल हुन सजिलो छ । तर, त्यसका लागि लगन, धैर्य र सङ्घर्ष जारी राख्नुपर्छ । यिनै कुरालाई ध्यानमा राखेर अगाडि बढेर अहिले स्थापित फेसन डिजाइन भएकी छिन्, विराटनगरकी शिल्पा कार्की (निरला) । सानो कोठाबाट शुरु गरेको उनको बुटिक अहिले उद्योगको रूपमा विस्तार गरेकी छिन् । प्रत्यक्ष रूपमा झण्डै दुई दर्जनलाई रोजगारी दिएकी छिन् । विराटनगर–९ मेनरोडमा सञ्चालनमा ल्याएकी ‘क्रिएटिभ हयान्डस्’ यहाँको चर्चित बुटिक हो ।

काठमाण्डौमा फेसन डिजाइनको दुई वर्षको डिप्लोमा कोर्ष गरेपछि उनले आफ्नो रोजाइको व्यवसाय अँगालेकी हुन् । मेहनत र सङ्घर्षमा रमाउने शिल्पा अहिले आफ्नो क्षेत्रमा अब्बल सावित भएकी छिन् । सफलता कसैले बकसमा दिएर पाइँदैन । आफ्नो रूचि र सङ्घर्षले उनलाई यो स्थानमा पु¥याएको हो ।

स्कुल र कलेज लेभलमा फेशन डिजाइनको कोर्ष नहुँदा समस्या हुने गरेको थियो । ‘यसमा भविष्य छैन भन्दै घरपरिवारले भन्ने गरेका थिए,’ उनले भनिन्, ‘विवाहपछि फेसन डिजाइन कोर्ष गरेपछि अहिले यो व्यवसायलाई लागि परेकी हँु ।’ पछिल्लो समय मान्छेको फेसनप्रति रूचि बढेको उनी बताउँछिन् । स्थानीय स्तरमा उत्पादन भएको अल्लो, ढाकालाई प्राथामिकता दिएर पहिरन बनाउने गरेको उनले बताइन् । सादीको दौरा, सुरूवाल बनाउने गरेकी छिन् ।

पुरुष र महिलाको सम्पूर्ण कपडाको सामान पाइने उनको पसलमा प्रदेशका मन्त्रीदेखि सर्वसाधरणहरू पनि आउने गरेको उनले बताइन् । ‘शुरुवातमा महिलालाई लक्षित मात्र कपडाहरू पाइन्थे,’ उनले भनिन्, ‘केही वर्षअघिदेखि पुरुषलाई पनि कपडाहरू राख्न शुरु गरेको हो । अहिले स्थानीय स्तरमा उत्पादन भएको कपडाको माग आउने गरेको छ ।’ विदेशमा बस्ने नेपालीहरूले अहिले स्थानीय स्तरमा उत्पादन भएको फर्मल कोट, दौरा सुरुवालको माग गर्ने भएकाले उच्च माग रहेको उनी बताउँछिन् ।

सङ्घर्षशील चम्पा

मोरङको बुढीगङ्गा गाउँपालिका–२ टङ्कीसिनवारी घर भएकी चम्पा नेपाल सफल महिला उद्यमी हुन् । आज आठ वर्ष भयो उनी उद्यम क्षेत्रमा लागि परेकी छिन् । सफलतापूर्वक आफ्ना उद्यमी यात्रामा पाइला अगाडि बढाइरहेकी छन् ।

हँसिलो अनुहार, मिलनसार स्वभाव, सहनशीलता, दृढ आत्मविश्वास र निरन्तर मिहिनेत उद्यमी महिलाको रूपमा कहलिएकी हुन् चम्पा । उनले २०६९ सालमा विराटनगरमा जुत्ता, चप्पलको उद्योग खोलेकी हुन् । उनले आफ्नो नामबाट उद्योग खोलेकी छिन्, चम्पा सू सेन्टर तथा प्रशिक्षण केन्द्र । घरेलु महासङ्घले दिएको तालिम लिएपछि जुत्ता चप्पलको उद्योग खोलेकी हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले दिएको १५ दिने जुत्ता बनाउने तालिम लिएकी थिइन् । उक्त तालिमले उनलाई आत्मनिर्भर मात्र बनाएको छैन, एउटा सफल महिला उद्यमीको रूपमा परिचित गराएको छ । उनको उद्योगमा अहिले महिला र पुरुषले लगाउने चुत्ता चप्पलहरू उत्पादन हुने गरेका छन् । उद्यमीसँगै अहिले उनले प्रशिक्षण पनि दिँदै आएकी छिन् । उनले उद्यमशील महिला उत्पादन गर्न देशभरि तालिम दिन पुगेकी छिन् । उनले ‘चम्पा सु–सेन्टर तथा प्रशिक्षण केन्द्र’ नामक उद्योग घरेलुमा दर्ता गरिन् । ‘अफूजस्तै महिला, दिदी, बहिनीहरूलाई उद्यमशीलतर्फ अगाडि बढाउन तालिम दिँदै देशभरि पुगिसकेको छु,’ उनले भनिन् ।

प्रशिक्षक भएपछि उनी घरेलु तथा साना उद्योग कार्यालयबाट प्रशिक्षण दिनका लागि पोखरा, ओखलढुङ्गा, धरान, काठमाडौं, बुढीगंगा गाउँपालिका, विराटनगर, हेलभिटास नेपालबाट पोखरा र केयर नेपाल संस्थाबाट नवपरासी र पकली सुनसरीस्थित सशस्त्र प्रहरीको गुल्ममा पुगिसकेकी छन् । प्रशिक्षणकै क्रममा व्यावसायिक सीप विकास तथा तालिम केन्द्रको सहकार्यमा ओखलढुङ्गा कारागारभित्रका कैदी महिलाहरूलाई तालिम पनि दिइसकेकी छिन् । उनले उत्पादन गरेको जुत्ता चप्पलको प्रर्दशनीमा पनि लैजाने गरेकी छिन् । विभिन्न जिल्लाहरूमा हुने प्रर्दशनीमा बोलाउने गरेको उनले बताइन् ।

जुत्ता बनाउने काम गरिस् भनेर कसैले भन्दा कुनै बेला साह्रै चित्त दुःखेको बताउने चम्पा अहिले सबैको धन्यवाद र उदाहरणकी पात्र बनेकी छन् । कपडा, रेजिन, छाला, ढाका, अल्लो, पार्टीवेयर सबैखाले जुत्ता, चप्पल बनाउने सक्ने चम्पा निरन्तरता, मिहिनेत र दुढ इच्छाशक्ति नै सफलताको सुत्र बताउँछिन् । बाहुनकी छोरीले जुत्ता, चप्पल बनाउन हुँदैन भन्ने परम्परा तोडेर आज उनी एक सफल व्यवसायी र उदाहरणकी पात्र बनेकी छिन् । इच्छाशक्ति भएको, मिहिनेत गर्न सक्ने तर आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई उनले निःशुल्क तालिम दिँदै आएकी छिन् । अहिले उनको सुु–सेन्टरमा सात महिलाहरू र दुई पुरुष (पार्ट टाइम) कार्यरत छन् ।

विभिन्न ठाउँका व्यापार मेला, प्रदर्शनी र महोत्सवहरूमा आफ्नो उत्पादन लिएर पुगेकी चम्पा धेरै सङ्घ, संस्थाबाट सम्मानित भइसकेकी छिन् । नेपाल सरकारअन्तर्गत उद्योग मन्त्रालय २०७४ बाट उत्कृष्ट महिला उद्यमी सम्मानले सम्मानित चम्पा वर्ष २०७३ मा केयर नेपालबाट मोरङ जिल्लाकी उत्कृष्ट उद्यमी महिलाको रूपमा समेत सम्मानित भइसकेकी छन् । चार वर्षदेखि उद्योग सङ्गठन समिति मोरङकी महिला सदस्यकी रूपमा रहेकी चम्पा साना तथा घरेलु उद्योग महासङ्घ मोरङकी जिल्ला सदस्य, कार्यक्रम उत्पादन टोलीकी सदस्य र प्रशिक्षकसमेत भइसकेकी छन् । सबैले सीप सिकेर सङ्घर्ष गर्नुपर्छ । आत्मविश्वास बढाउनुपर्छ । दुढ इच्छाशक्ति राख्नुपर्छ सहयोगी कोही न कोही आइहाल्छ भन्ने विश्वास चम्पा सबैलाई बुझाउँछिन् ।

अत्मनिर्भर जुना

धनकुटा–४ पाख्रीबासकी ३१ वर्षीय जुना घिमिरे स्वरोजगार छिन् । दुई दशक अगाडि उनको खुटामा घाउ आएको थियो । उनले देब्रे खुटा घाउ बढ्दै गएपछि पाक्यो र अस्पतालमा गएर शल्यक्रिया गरिन् । २०५६ सालदेखि जुना शारीरिक रूपमा अपाङ्ग भइन् र उनी वैशाखीको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थामा पुगिन् ।

शारीरिक रूपमा अपाङ्गता भएकी जुनाले आत्मनिर्भर बन्ने प्रण गरिन् । घरेलु तथा साना उद्योगको सहयोगमा ०६० सालमा धनकुटामा एक महिनाको सीपमूलक तालिम लिइन् । तालिममा सिकेको सीप व्यवहारमा लागु गर्ने उद्देश्यले २०७० सालमा घरेलु ‘सल्लेपिर अपाङ्ग हस्तकला उद्योग’ दर्ता गरिन् । उद्योग दर्ता गरेकै सालदेखि हस्तकलाको सामाग्रीहरू उत्पादनमा लागि परिन् । उनले अहिले सल्लाको पातबाट उत्पादन हुने हस्तकलाका विभिन्न सामाग्री उत्पादन गरी बिक्री वितरण गर्दै आएकी छिन् ।

juna-ghimera-aapanga-vako-b

हस्तकलाका सामग्री अहिले उनको आयस्रोतको दरिलो माध्यम बनेका छन् । ‘धेरैले केही गर्न सक्दैन भन्थे, मलाई पनि हो जस्तै लाग्थ्यो । तर, जीवन यतिकै खेर फाल्नु पनि त भएन भन्ने सोचेर व्यवसाय शुरु गरेकी हुँ,’ उनले भनिन्, ‘अहिले सल्लेपिरबाट उत्पादन भएको हस्ताकलाको सामग्रीको माग पनि उच्च छ ।’

स्थानीय स्तरमा पाइने सल्लेपिरबाट टि–म्याट, गमला, घैला, करुवा, ठेकी, पिँजडा तथा अन्य विभिन्न हस्तकलाका सामग्रीहरू उत्पादन गर्दै आएकी छिन् । ८० रुपैयाँदेखि ५ हजार रुपैयाँ मूल्य पर्ने हस्तकलाको सामाग्री उत्पादन गरिने गरेको जुनाले बताइन् । ‘सल्लेपिरबाट उत्पादन भएको हस्तकलाका सामग्रीहरू लिएर प्रर्दशनीमा देशभरि पुगिसकँे,’ उनले ब्लाष्टसँग गफिदै भनिन्, ‘धेरै ठाउँमा पुगेर प्रर्दशनीमा उत्कृष्ट पनि भएको छु ।’ गत वर्ष धनकुटामा भएको हस्तकलाको सामाग्रीको प्रर्दशनीमा प्रथम भएको उनले बताइन् ।

सल्लेपिरबाट बनाएको हस्तकलाको सामाग्री आकर्षक देखिने भएकाले बिक्री पनि हुने गरेको उनले सुनाइन् । ‘अर्डर अनुसार सल्लेपिरबाट हस्तकलाको सामग्री बनाउने गरेको छु,’ उनले भनिन्, ‘अहिलेसम्म सल्लाको पातबाट बनाएको भित्ते घडी, गमला, करुवालगायतको माग बढी आउने गरेको छ ।’ मासिक ३०÷४० हजार रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिइन् । ‘धेरै बिक्री भएको महिना राम्रो आम्दनी पनि हुन्छ । कुनै महिना कम पनि बिक्री हुन्छ । औसतमा पनि ३० हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।’