यासोक/ एकाबिहानै गाउँमा स्थानीयको चहल–पहल बाक्लिएको छ । वारि र पारि गाउँका स्थानीयको बाक्लो उपस्थिति छ । घरको आँगनमा कुर्सीहरू तयार पारिएका थिए ।
त्यतिकैमा बस्ती माथिबाट गाडीको आवाज गुञ्जिन्छ । सबैको ध्यान गाडीतिरै हुन्छ । गाडीबाट गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिको टोली बस्ती प्रवेश गर्छ । उनीहरू नागरिकताविहीन आमाछोराको कथा मात्रै होइन, उनीहरूको उद्धारका लागि आइपुगेका हुन् । शनिबार पाँचथरको कुम्मायक गाउँपालिका–१ लुम्देखामा देखिएको यो दृश्य हो ।
नागरिकताविहीन आमाछोरा बाख्राको खोरमा भन्ने शीर्षकको समाचार ब्लाष्ट दैनिकमा छापिएपछि गाउँपालिकाले उद्धारमा चासो दिएको हो । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहितको टोली परिवारको अवस्था बुझ्न गएको थियो । गाउँपालिका उपाध्यक्ष सीता आचार्य, १ नम्बरका वडाध्यक्ष देवेन्द्रकुमार लावती, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराई र उद्योग वाणिज्य सङ्घ अध्यक्ष मेघराज निरौलासहितको टोलीले पीडित परिवारको अवस्था अध्ययन गरेको थियो ।
पीडितको अवस्था कल्पनाभन्दा बाहिर पाएपछि टोलीले तत्कालै राहत उपलब्ध गराउने उद्देश्य लियो । घरभित्रको बाख्राको खोर व्यवस्थापन गर्न र सरसफाइ गर्ने जिम्मा स्थानीयलाई दिएर टोली पुनः राहत लिन गाउँपालिका फर्कियो । कष्टकर जीवन बिताउँदै आएका ८० वर्षीया वृद्धा देवीमाया बुढाथोकी र उनका ५१ वर्षीय छोरा सेरबहादुर बुढाथोकीलाई राहत वितरण गरेको छ । पीडित परिवारलाई २३ हजार बराबरको भाँडावर्तन, लत्ताकपडा र खाद्यान्न वितरण गरिएको थियो भने नगद ७ हजार रुपैयाँ पनि वितरण गरिएको कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।
वर्षौंदेखि थोत्रा कपडा लगाउँदै आएको पीडित परिवारको नयाँ लुगा लगाउने ओढ्ने र ओछ्याउने सपना पूरा भएको छ । भोकै रात कटाउँदै आएका परिवारलाई खाद्यान्न प्रदान गरिएको छ । बाख्राको मलमूत्रले दुर्गन्धित कोठा सफा र सुन्दर पारिएको छ । चिसो भूइँमा म्याट बिछ्याइएको छ । ‘अब बाख्राको खोरमा बस्नुपर्दैन, हामी भोकै मर्न दिन्नौं आमा’ बाख्राको खोरबाट वृद्धा देवीमाया बुढाथोकीलाई बाहिर निकाल्दै गाउँपालिका उपाध्यक्ष सीता आचार्यले भावुक हुँदै भनिन् ।’
‘हामीले आमाको लागि भनेर नयाँ लुगा र मीठो खानेकुरा पनि ल्याएका छौं, खान मन लागेको बेला खानू’ –बुढाथोकीको हातमा राहत थमाउँदै उपाध्यक्ष आचार्यले भनिन् । घरको पिँडीभरि राहतका सामग्री देखेर ५१ वर्षीय छोरा सेरबहादुर बुढाथोकी पनि दङ्ग थिए । ‘आमालाई खान मन लागेको कुरा पकाएर खुवाउँछु’ –खुशी हुँदै छोरा सेरबहादुरले भने ।
सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर ८० वर्षीया पीडितले नागरिकता पाएकी छैनन् । एकातिर नागरिकता नहुँदा राज्यको सुविधाबाट बञ्चित हुनु परेको पीडा छ भने अर्कोतर्फ पीडित परिवारको जग्गाजमिन नहुँदा कष्टकर जीवन बिताउँदै आएका छन् । ‘पहिलो आवश्यकता भनेको खाने, ओढ्ने, ओछ्याउनेको अभाव टा¥यौं, अब नागरिकता दिलाउने विषय छ । त्यसका लागि पहल गर्छौं’–अध्यक्ष चेम्जोङले भने ।
पीडित परिवारलाई सुकुम्बासी अवस्थामा कान्छी श्रीमतीको छोराले पारेको भन्दै स्थानीयले तत्काल पहल गर्न स्थानीय सरकार समक्ष माग गरेका छन् । भाइ र जेठीआमाको नागरिकता बनाइदिने अनि अंश दिने काम जेठो छोराको भए पनि अहिलेसम्म कुनै चासो नदिएको स्थानीय ज्ञानबहादुर बुढाथोकीले बताए ।































