दक्षिण कोरियामा पसिना बगाइरहेका कवि मित्रहरुले एउटा साहित्यिक अभियान चलाएका छन्, इतर कविता आन्दोलन । यी अभियानकारीमध्ये सुरेश सम्बाहाम्फे र पराजित पोमुसँग मेरो आक्कलझुक्कल संवाद हुन्छ । उहाँहरुको मागअनुसार मैले ‘कार्गो भएर फर्केपछि’ शीर्षकको कविता प्रकाशनार्थ पठाएको थिएँ । त्यो कविता बृहत् कविता सँगालो इतर कवितामा छापिएको हालः हङकङमा पसिना बगाइरहेका वंशजका नाति रोशन यक्सोबाट थाहा पाएँ ।

रोशनसँगको संवादपछि फेरि मनमा एउटा कविता फु¥यो । कुनै समय कवितालाई साधनाको एउटा साधन बनाउँछु भनेर हिँडेको मान्छे म, तर कविताप्रति आजभोलि त्यति ठूलो मोह छैन मलाई । फुरिहाल्यो भने चाहिँ लेख्ने कोसिस गर्छु । कविता खोजी खोजी पनि पढ्दिनँ, आँखामा परे र मनलाई छायो भने पढी पनि हाल्छु । म आफू युरोप आएपछि फुरेको त्यही एउटा कविता कोरियातिर प्रकाशनार्थ पठाएको हुँ । तर, रोशनसँगको संवादपछि किन किन मनमा अर्को एउटा कविता फु¥यो, त्यो पनि कार्गो भएर नेपाल आउने नेपालीको विषयमा ।

यो सन्दर्भ हो, २०७६ साल फागुन २७ गतेको । हालसम्म शीर्षक जुराइनसकेको यो कविताको पहिलो अनुच्छेद यस्तो छ :
हो, म फर्केँ
बुवा आमाको चौरासी गर्ने बेलामा फर्केँ
छोरीलाई अन्माएर पठाउने बेलामा फर्केँ
घरमा बुहारी भिœयाउने बेलामा फर्केँ
फर्कन त फर्कने ठाउँमै फर्केँ !
तर ऋणको साँवा र व्याजले
घरबास उठाउने बेलामा
म त कार्गो भएर फर्केँ !...

कविताका यी हरफहरुलाई सुम्सुम्याउँदै, पुनर्लेखन र सम्पादन गरिसकेपछि सुत्न ओछ्यानमा पल्टदै मोबाइल सेटमा फेसबुक के खोलेको थिएँ, एउटा नराम्रो समाचारले तर्सायो मलाई । एक जना प्रियजनलाई श्रद्धासुमन चढाउनेहरुको ताँती लागेको देखियो । कस्तो संयोग हो यो ? अचम्म लाग्छ मलाई, एउटा कविता पनि लेखिसक्नु अनि कविता उल्लेखित पात्र भएर एक जना प्रियजन कार्गो भएर स्वदेश फर्कंदै गर्नु !
...
सम्झना आलै छ, आजभन्दा ३० वर्षअघिको । राजकुमार भाइ, ... पत्रिका आयो है, मलाई देख्नासाथ ती प्रियजनले मलाई सूचना गरिहाल्थे । सकेसम्म किन्थेँ । धनकुटा हुलाकटोलमा रहेको पुनम पुस्तक पसल अत्यन्तै चल्तीको पुस्तक पसल थियो । अहिले पनि सञ्चालनमा छ ।

एउटा पुस्तक पसल पहिले तत्कालीन भूमिगत नेकपा (माले)ले सम्पर्क केन्द्र बनाउँदै व्यवसाय गर्न खोलेको थियो । २०४१ सालसम्म त्यो पुस्तक पसलको कारोबार मेरो दाजु डम्बर सुब्बा र उहाँका साथीहरु मोती लावती र भक्त थापाले गर्नुभएको थियो । पछि त्यो पुस्तक पसल स्थानीय थामबहादुर राईलाई बेचियो । थामबहादुर दाइ विद्यालय निरिक्षकमा जागिरमा रहेकाले उहाँले पुस्तक पसलको सम्पूर्ण जिम्मेवारी उहाँका कान्छा भाइलाई सम्पनु भयो ।

कान्छा भाइको व्यावसायिक कुशलता र जनसम्पर्कका कारण पुस्तक पसलले उकालोको यात्रा शुरु ग¥यो । धनकुटामा चल्तीको पुस्तक पसलका रुपमा पुनम पुस्तक पसल स्थापित भयो । बहुदल आएपछि तत्कालीन मालेका कार्यकर्ताहरु पुस्तक पसल खोल्नका लागि पुनः जुर्मुराए । धर्मराज पौड्याल (धनकुटाका पूर्व जिविस सभापति), डा. डम्बर चेम्जोङ (हालः त्रिभुवन विश्वविद्यालयका केन्द्रीय मानवशास्त्र विभाग प्रमुख) लगायतले लगानी गरेर खोले, कोशी न्यूज सेन्टर ।

पछि त्यो पुस्तक पसल इन्द्रमणि पराजुली (हालः प्रदेश सभासद)ले निरन्तरता दिए । यसबीचमा यो लेखक धनकुटाबाट धरान झरेर पत्रकारितामा पसिना बगाइरहेको थियो । पछि धरान–धनकुटा ओहोरदोहरका क्रममा थाहा पाइयो, त्यो पुस्तक पसल मोहनकृष्ण श्रेष्ठले लिनुभएछ । उहाँकै घरमा पुस्तक पसल सञ्चालनमा थियो । घरवाला पनि पुराना माले कार्यकर्ता ।

धरानबाट म फेरि धनकुटा फर्केँ । त्यतिबेलासम्ममा कोशी न्यूज सेन्टरको नाम उनिशा पुस्तक पसल भइसकेको रहेछ, र पुस्तक पसलका सञ्चालक उत्तरकुमार राई थिए । मैले माथि प्रियजन भनी उल्लेख गरेको व्यक्ति, धनकुटाका आदिवासी भूमिपुत्र आठपहरिया राई, उनै उत्तर दाइ थिए ।

...भाइ, ... पत्रिका आएको छ है, मलाई देख्नासाथ उत्तर दाइले सूचना दिइहाल्नुहुन्थ्यो । एसएलसी दिएपछिको समय थियो । फागुन–चैतको महिना, २०४५ साल ।

तर, मसँग त्यो पत्रिका किन्ने रकम थिएन । मैले भनेँ, ‘हुन्छ दाई म किन्छु ।’ अर्थोपार्जनको कुनै आधार थिएन । पत्रिका उधारोमा माग्न पनि सकिन । घर पर्केँ । पत्रिका किनेर पढ्न नपाएकोमा निद्रा लागेन ।

२०४५ सालको भूकम्पले भत्केको मेरो टोलनेरको गणेश प्राथमिक विद्यालयको पुननिर्माण हुँदै थियो । त्यहीँ विद्यालयको कक्षा प्रथम हुँदै कक्षा ३ सम्म पढेको थिएँ । त्यहाँ मैले काम मागेँ । काम मिल्यो, र पत्रिका किन्ने पैसा जुटाउनकै लागि दुई साता मजदुरी गरेँ ।

मजदुरी गरेको पहिलो साताको पारिश्रमिक थापेर सगौरव आफूलाई मन परेको मासिक पत्रिका ‘कामना’ किनेँ । धीत नमरुन्जेल दोहो¥याएर तेह¥याएर पत्रिका पढेँ । एउटा पाठक प्रतिक्रिया पनि पठाएँ । त्यो प्रतिक्रिया ‘कामना’ को २०४६ साउन–भदौतिरको अङ्कमा छापियो । हर्षको सीमा रहेन । त्यसपछि मलाई पत्रपत्रिकामा नाम छापिरहने नशाले छोयो ।

र, अन्ततः मैले पत्रकारितामा करिअर शुरु गर्ने निर्णय गरेँ । व्यावसायिक पत्रकारिताबाट हात झिकेर म अहिले परदेशमा श्रम गरिरहेको छु । तर, अहिले पनि केही नलेखीकन मलाई निद्रा लाग्दैन ।
...
उत्तर दाइ हराउनुभयो । उहाँ कोरिया गएको सुनेँ । त्यसपछि पुस्तक पसलको स्याहार सम्भार उहाँका सोल्टी निश्चल राईले सम्हाले । २०५० सालको प्रारम्भतिर म ‘कान्तिपुर’ को ज्यालादारी समाचारदाता भएँ । पुनम पुस्तक पसलले एउटा कुरियरको पनि जिम्मा लिएको थियो । निश्चल भाइले म कान्तिपुरको समाचारदाता भइञ्जेलसम्म लगाएको गुण बिर्सन सक्दिन । उनले सामान्य रुपमा कुरियरको शुल्क १५ रुपैयाँ लिनुपर्ने ठाउँमा पाँच रुपैयाँ मात्र मसँग लिन्थे । १५ रुपैयाँले त त्यसबेला तीन दिन खाजा खान पुग्थ्यो ।
...
धरानबाट म २०५५ सालको हिँउदमा फेरि धनकुटा फर्केँ । हामी सञ्चारकर्मीहरुको जमघटको थलो उही उनिशा पुस्तक पसलमा हुन्थ्यो, जहाँ उत्तर दाइ हुनुहुन्थ्यो । हाँस्दै, खेल्दै, रमाउँदै उत्तर दाइ व्यवसायमा जमिरहनुभएको थियो ।

धनकुटाको दुई वर्षे बसाइपछि म काठमाडौं हानिएँ । अधुरो रहेको पढाइलाई निरन्तरता दिन अनि श्रमजीवनमा रमाउन ।त्यतिखेर म साविकको नेकपा (एमाले), धनकुटाको प्रचार विभागको सचिव थिएँ । अनि साविकको प्रेस चौतारी, नेपालको संस्थापक अध्यक्ष ।

२०५६ सालको प्रतिनिधि सभाको निर्वाचनको सम्मुखमा कसरी पार्टीको प्रचार गर्ने भनी बल्खुमा बोलाइएको प्रचार विभागको भेलामा तत्कालीन एमालेको प्रचार विभाग प्रमुख युवराज कार्कीबाट मुसुक्क मुस्कानसहित राम्रै अर्तीउपदेश हामीले पायौँ । घोडालाई खुवाउनेजस्तो चनाको दाना र चिउरा खाई हामी कार्कीज्यूबाट बिदा भयौँ ।

कार्यक्रम सकिएपछि एमाले, धनकुटाका तत्कालीन प्रचार विभाग प्रमुख धर्मराज पौडेलले बास खोज्न थाल्नुभयो । साँझको समय डिल्लीबजारस्थित चित्र बानियाँको डेरामा बास प¥यो । उहाँले असाध्यै राम्रो स्वागत सत्कार गर्नुभयो । चित्रजी धनकुटा मूर्तिढुङ्गाका । हामीसँगै एलएलसीमा ट्यूसन पढेको । उहाँले राम्रो प्रगति गरिराख्नुभएको सुनेको छु ।
...
प्रेस चौतारीको राष्ट्रिय अधिवेशनमा सहभागी हुन सिद्धराज राई (हालः नागरिक दैनिकका जिल्ला व्यूरो प्रमुख) सहित काठमाडौं जानुपर्ने भयो । त्यो बेला मैले युवराज कार्की कमरेडको आमन्त्रणमा तत्कालीन एमालेको प्रचार विभागको भेलालाई स्मरण गरेँ । ‘ घोडाको दाना जस्तो चना र चिउरा दिएर आउन त आइहाल्यौ, मेरो प्रशिक्षण लेऊ, भाषण सुनिहाल्यौ, चना चिउरा खाऊ, भाषण सकियो, अब तिमीहरु जतासुकै जाऊ’ जस्तो व्यवहारको भाषणको सम्झना भयो ।

म त काठमाडौंमै बस्ने गरी जाँदै थिएँ, तर भाइ सिद्धराजलाई त धनकुटा फर्काउनु पर्ने नै थियो । त्यसैले हामी दुईले प्रेस चौतारीको अधिवेशनमा सहभागिताको लागि चन्दा सङ्कलन शुरु ग¥यौँ । हाम्रा नजिककाहरुबाट एक सय रुपैयाँ मात्र हामीले सहयोग लियौँ । तत्कालीन रुपकला फोटो स्टुडियोका सञ्चालक बुद्ध लिम्बू (हालः कोरिया) र उत्तर दाईहरु हाम्रो त्यो बेलाको गाह्रो साह्रो फुकाइदिने गर्नुहुन्थ्यो । उहाँहरुले हामीलाई सहयोग दिनुभएको एक एक सय रुपैयाँको हरियो नोटको तस्बिर यतिखेर मेरो आँखामा नाचिरहेको छ ।
...
भासिएको जस्तो लाग्ने तर मीठो बोलीका धनी । असाध्यै मिसाजिलो, मनपरेको मान्छेसँग लाप्पा खेल्दै मजाक लिनुपर्ने मनका धनी । सधैँका हँसमुख । यस्तो दाईसँग अब कहिल्यै भेट नहुने भयो । उहाँले दक्षिण कोरियामा अन्तिम सास लिनुभयो ।
सम्झनाको ऐनामा उत्तर दाईको मुस्कान खोज्दै भन्न बाध्य छौं ः
अलबिदा उत्तर दाइ !