पाँचथर/ उत्तरवर्ती कवि राज माङ्लाकलाई ५५ हजार ५ सय ८० रुपैयाँ राशिको समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

समथिङ फाउण्डेसन नेपालले बुधबार फिदिममा विशेष समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो । कवि माङ्लाकलाई समारोहका प्रमुख अतिथि प्रा.डा.टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि लेखक तथा पूर्वमन्त्री श्रीप्र्रसाद जबेगू र फाउण्डेसनका संरक्षक गुरुङ रामप्रकाश समथिङले संयुक्तरूपमा ताम्रपत्र र पुरस्कार वितरण गरेका हुन् । ताम्रपत्र र नगदसँगै झर्के थाल, झर्के बटुका, करुवा, मायाको चिनोलगायतका १५ थान सामग्री पनि वितरण गरिएको थियो ।

समारोहमा बोल्दै प्रमुख अतिथि न्यौपानेले कवि माङ्लाक सीमान्तमा रहेका सभ्यता र संस्कृतिलाई उजागर गर्ने कवि भएको बताए । कवि माङ्लाक साठीको दशकमा नेपाली साहित्यको मानकतामाथि प्रश्न गर्दै फिदिमबाट शुरु गरिएको ‘उत्तरवर्ती सोच’ नामक साहित्यिक आन्दोलनका अभियन्ता हुन् । पाँचथरको आङना स्थायी घर भएका माङ्लाक हाल धनकुटाको राजारानीमा बसोबास गर्दछन् । हालसम्म उनका चारवटा कृति प्रकाशित छन् । ‘लिम्बुनी गाउँ’ कविता सङ्ग्रह उनको पछिल्लो र चर्चित कृति हो ।

पुरस्कार ग्रहणपछि बोल्दै कवि माङ्लाकले समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार ग्रहण गर्दा आफू भावुकताले पुरिएको र जिम्मेवारी बोधले थिचिएको महसुस भएको बताए । माङ्लाक फिदिममा रहेर क्याम्पस पढ्दाताका साहित्यिक गतिविधि गरेका पुराना दिनहरू सम्झेर भावुक बने । विगतमा गरेका तिनै सङ्घर्षका कारण आज आफू यहाँसम्म आइपुग्न सकेको उनले बताए । उनले भने, ‘आगामी दिनमा अझै कसरी उत्कृष्ट साहित्य लेख्ने भन्ने जिम्मेवारी बोधले थिचिएको छु ।’

स्रष्टा ओझा सम्मानित
सोही समारोहमा नारी स्रष्टा विद्या निर्दोषी ओझा सम्मानित भएकी छन् । उनलाई समथिङ साहित्यिक राष्ट्रिय सम्मानबाट सम्मानित गरिएको हो । ताम्रपत्र र नगद पाँच हजार ५ सय ८० रुपैयाँ राशि र विभिन्न सामग्रीसहित ओझालाई सम्मान गरिएको हो । हिलिहाङ–५ सुभाङकी स्रष्टा ओझाको कविता, गजल, कथा र संस्मरणका पाँचवटा कृति प्रकाशित छन् ।

समथिङको ५१ औं कृति विमोचन
कार्यक्रममा समथिङ फाउण्डेसनका संस्थापक तथा संरक्षक, लेखक गुरुङ रामप्रकाश समथिङको ५१ औं कृति ‘कथा जिन्दगीका’ नामक कथा सङ्ग्रह विमोचन गरिएको छ । कृतिको प्रमुख अतिथि न्यौपानेलगायतले विमोचन गरे । कृतिको समीक्षा गर्दै साहित्यकार खड्ग बोहोरा र धनपति कङ्गालले कृतिभित्र सङ्ग्रहित एक दर्जन कथाहरूले सामाजिक यथार्थ र विसङ्गत समाजको चित्रण गरेको टिप्पणी गरे । लेखक समथिङले २०७४ सालमा एकैपटक २२ वटा उपन्यास विमोचन गरेर चर्चा बटुलेका थिए ।

फिदिमस्थित होटल सगुनको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लास्थित कवि–लेखकहरूको सहभागिता रहेको थियो । प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्ने गरी समथिङ फाउण्डेसन नेपालले स्थापना गरेको पुरस्कार तथा सम्मान पहिलोपल्ट वितरण गरिएको फाउण्डेसनका अध्यक्ष मङ्गल बेघाले बताए ।