धरान/ गायक राजु लामाको नयाँ गीत ‘घामपानी’ सार्वजनिक भएको छ ।

गायक लामाले मङ्गलबार आफ्नै युट्युब च्यानलमार्फत् नयाँ गीत सार्वजनिक गरेका हुन् ।

‘द भोइस सिजन–२’ मा कोचको भूमिका निर्वाह गरेर चर्चामा आएका लामाले नयाँ गीतलाई सबै दर्शकले मनपराइदिने विश्वास व्यक्त गरेका छन् ।

‘मङ्गोलियन हार्ट भोलुम सेभेन’ एल्बम्मा समावेश गीत ‘घामपानी’ लाई लामाले भिडियोसहित सार्वजनिक गरेका हुन्। गीतमा लामा स्वयम्को शब्द तथा सोनम वङ्दी भुटिया र गायककै लय सङ्कलन समेटिएको छ ।

भिडियोमा गायक लामासँगै, कुन्साङ तामाङ, बबी लामा, सेन्सी पेमा वाइबा र किरण नगरकोटीको अभिनय रहेको छ । छेवाङ लामाको निर्देशन तथा सज्नीत श्रेष्ठको छायाङ्कनमा तयार गीतको भिडियोलाई बिजेश पौड्यालले सम्पादन गरेका हुन् ।