विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय निरजकुमार यादवमाथि व्यक्तिगत रिसइबीका कारण आक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का दुईजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसइबीका कारण यादवमाथि आक्रमण भएको हुन सक्ने देखिएको हो । नियन्त्रणमा लिइएका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको उनले बताए ।

घाइते यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । यादवको दाहिने तिघ्रामा चोट लागेको छ । चोटको प्रकृति र अवस्था एक्सरे गरेपछि मात्रै यकिन हुने डीएसपी खड्काले बताए ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

देवानगञ्जमा पछिल्लो घटना भएको क्षेत्र आसपास केही समयअघि पनि ठूलो हिंसात्मक घटना भएको थियो । साउन १० गते देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई पक्षबीचको विवादले उग्र रूप लिँदा तीनजनाको मृत्यु भएको थियो ।

यसैबीच, अहिले निरज यादवमाथि भएको आक्रमणको घटनामा पनि प्रहरीले व्यक्तिगत रिसइबीलाई प्रारम्भिक कारणका रूपमा हेरेको छ । यस घटनाको विस्तृत कारण तथा आक्रमणमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।