लक्ष्मीमार्ग/ हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन जनप्रतिनिधिहरू आफै जुटेका छन् । मोरङमा शनिबारदेखि शुरु गरिएको कार्यक्रममा बेलबारीका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मीहरूसँगै औषधि खुवाउने अभियानमा जुटेका छन् ।

यस्तै बेलबारी नगरपालिकाकै उपमेयर ढाकाकुमारी पराजुलीले सबैले देख्ने गरी औषधि खाएको र सबैलाई खान आग्रह गरेको बताइन् । ६ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने भए पनि सबैले औषधि नखाएपछि आफै टोल टोलमा गएर औषधि खुवाउने अभियानमा जुटेको बेलबारी नगरपालिकका प्रवक्ता योगेन्द्र सुवेदीले बताए । ‘शुरुवाती वर्षहरूमा गलत प्रचारका कारण धेरैले औषधि खाएनन्’ प्रवक्ता सुवेदीले भने, ‘अहिले त्यस्तो नहोस् भनेर हामी पनि स्वास्थ्यकर्मीहरू सँगै हिँड्यौं ।’

बेलबारीमा मात्रै औषधि खुवाउनका लागि ३५ जना महिला स्वयम्सेविका तथा ७५ जना स्वास्थ्यकर्मीहरू खटाएको स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताए । ५ दिनसम्म घर–घरमा गएर औषधि खुवाउने कार्यक्रम रहेको उनले बताए ।

मोरङका १७ वटै स्थानीय तहमा करिब ९ लाख २४ हजार ५ सय ६२ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने कार्यक्रममा ५ हजार बढी स्वास्थ्यकर्मी खटाइएको उनले बताए ।

हात्तीपाइलेको जीवाणु भएको जनसङ्ख्या १ प्रतिशतमा झार्ने सन् २०१८ मा सरकारले लक्ष्य लिए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । नेपालका करिब १ दशमलव ४७ प्रतिशत जनसङ्ख्यामा हात्तीपाइलेको जीवाणु रहेको स्वास्थ्य संयोजक सन्तोष विश्वकर्माले बताए ।

२ वर्षमुनिका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीहरूले भने औषधि सेवन गर्न नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो । हात्तीपाइले सँगै जुकाको समेत औषधि खुवाइएको छ ।