रासस- सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरूसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्यान गुमाएका मध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुति दिइरहेका बेला पनि ज्यान गएको छ । सन् २०१९ मा अस्ताएका विश्वका केही चर्चित व्यक्तिलाई यहाँ स्मरण गरिएको छ ।

बलिउड अभिनेता कादर खानको निधन
वरिष्ठ अभिनेता कादर खानको सन् २०१९ कै पहिलो दिन जनवरी १ मा ८१ वर्षको उमेरमा निधन भयो । क्यानाडाको एक अस्पतालमा उपचार भइरहेका बेला खानको निधन भएको थियो । दुई दिन अघि नै उनको निधन भएको हल्ला फैलिएको थियो । त्यो हल्लाको परिवारजनले खण्डन गरे पनि हल्ला नै सत्य सावित हुन पुगेको जानकारी पछि आयो । अफगानिस्तानमा जन्मिएर भारतीय सिने क्षेत्रमा चर्चित खान भारतीय साहित्यका अब्बल लेखक र हास्य विधामा जमेका कलाकार थिए ।

संसारकै ज्येष्ठ पुरुषको विदाइ
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का अनुसार विश्वकै सबैभन्दा जेठा पुरुष मानिएका मसाजो नोनाकाको ११३ वर्षको उमेरमा सन् २०१९ जनवरी २० मा निधन भयो । जापानका नागरिक मसाजो नोनाकाको सन् १९०५ मा जन्म भएको थियो । सन् २०१८ मा उनलाई स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनलाई जीवित पुरुषहरूमध्ये संसारकै सबैभन्दा जेठो व्यक्ति घोषणा गरिएको थियो ।

अष्ट्रेलियाली पूर्व प्रधानमन्त्री बवको निधन
लेबर पार्टीका प्रभावशाली नेता सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहेका बव हकको पनि यसै वर्ष ८९ वर्षको उमेरमा निधन भयो । आफ्नो ८ वर्षे कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रूपान्तरणको नमूना स्थापित गरेका बवको सन् २०१९ को मे १६ मा निधन भएको हो । बव नेतृत्वको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकीरण गर्दै आर्थिक स्वतन्त्रता र रोजगारीमा वृद्धि गराएको थियो ।

मलेसियाका सातौं राजाको स्वर्गारोहण
मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको सन् २०१९ को मे २२ मा ८८ वर्षको उमेरमा निधन भयो । पाहाङ राज्यका पाँचौ राजा सुल्तान सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष सातौँ केन्द्रीय राजा बनेका थिए । सन् १९३० मा जन्मिएका उनी सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए ।

नाट्य क्षेत्रले गुमायो लोकप्रिय नाट्यकर्मी
जीवित भारतीय नाट्यकर्मीमध्ये सम्भवतः सबैभन्दा लोकप्रिय गिरिश कर्नाडको ८१ वर्षको उमेरमा जुन १० मा निधन भयो । भारतको सबैभन्दा उच्च साहित्यिक पुरस्कार जनपीठलगायतका सम्मान पाएका कर्नाडले भारतीय समाज र समय प्रतिबिम्बितमा आधारित थुप्रै नाटक लेख्नुका साथै मौलिक छाप पार्ने अभिनय गरेका थिए । हालको कर्नाटक राज्यमा जन्मिएका कर्नाडले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा गणित विषयको उच्च शिक्षामा छात्रवृत्तिमा अध्ययन गरेका थिए । अक्सफोर्ड विद्यार्थी युनियनका अध्यक्षसमेत भएका उनी भारत फर्केर कलाकर्ममा लागेका थिए ।

अदालतमा बयानकै क्रममा मोर्सीको मृत्यु
इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको जुन १७ मा निधन भयो । आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि कायरोस्थित अदालतमा बयान दिइरहेका बेला उनको निधन भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई सन् २०१२ मा निर्वाचित भएको एक वर्षमै इजिप्टको सेनाले अपदस्थ गरी जेल हालेको थियो ।

स्टेजमा प्रस्तुतिकै क्रममा अस्ताए हास्य कलाकार
‘स्ट्याण्डअप कमेडी’का लागि चर्चित मञ्जुनाथ नायडुको जुलाई २१ मा प्रस्तुति दिने क्रममा दुबईमा स्टेजमै निधन भयो । प्रस्तुति दिँदै गर्दा अचानक ढलेका बेला दर्शकले त्यसलाई प्रस्तुतिकै लागि ढलेको ठानेका थिए । आफ्नो परिवार र डिप्रेसनको बारेमा बताउँदै ठट्टा गरिरहेका बेला उनी ढलेका थिए । उनी स्टेजमा गएको एक मिनेटमै ढलेका थिए । अबुधाबीमा जन्मिएका मञ्जुनाथका बाबुआमाको भने उनी सानै छँदा निधन भएको थियो । मञ्जुनाथको यस्तो अनौठो निधनले विश्वभरि नै चर्चा पाएको थियो ।

चिनियाँ पूर्व प्रधानमन्त्री पेङको निधन
चीनका पूर्वप्रधानमन्त्री ली पेङको ९० वर्षको उमेरमा जुलाई २२ मा निधन भयो । चीनका अन्य शीर्ष पदहरूमा रहेर सन् १९८० र १९९० को दशकमा उनले काम गरेका थिए । पेङ सन् १९८९ मा नेपाल भ्रमणमा आएका थिए । सन् १९८९ मा बेइजिङमा प्रजातन्त्र पक्षधरहरू माथि भएको दमनमा मुख्य भूमिका खेलेको पात्रको रूपमा ली बढी चर्चित थिए ।

चर्चित साहित्यकार मोरिसनको मृत्यु
विश्व चर्चित साहित्यकार तथा साहित्य विधामा नोबेल पुरस्कार विजेता टोनी मोरिसनको पनि यसैवर्ष अगस्ट ५ मा निधन भयो । ८८ वर्षमा निधन भएकी मोरिसनलाई अमेरिकामा अल्पसङ्ख्यक समुदाय, अफ्रिकी अमेरिकीको पक्षमा बोल्ने र लेख्ने सशक्त व्यक्ति मानिन्छ । मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला पनि हुन् । उनले ११ वटा उपन्यास तथा बालबालिकाका निम्ति धेरै किताब र निबन्ध लेखेका छन् । उनका उपन्यासहरू ‘द न्यूयोर्क टाइम्स’ अखबारको सबभन्दा धेरै बिक्ने सूचीमा धेरै पटक परेका छन् । उनले सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको हातबाट ‘प्रेजिडेन्सियल मेडल अफ फ्रिडम’ पाएका थिए । उनको बिहे पाँच वर्षकै उमेरमा भएको बताइन्छ ।

स्वराजलाई गुमाउँदा दक्षिण एसिया शोकाकुल
भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको अगस्त ६ मा निधन भयो । स्वराजलाई भारतमा प्रभावशाली र सशक्त नेतृका रूपमा स्मरण गरिन्छ । सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनावमा उम्मेदवारी दिएकी थिइनन् । स्वराज सन् २०१४ को २६ मे देखि पाँच वर्ष भारतको विदेश मन्त्री रहेकी थिइन् ।

भारतीय नेता अरुण जेटलीको अस्त
लामो समयदेखि बिरामी परेका भारतका भूतपूर्व अर्थमन्त्री ताथा भारतीय जनता पार्टीका नेता अरुण जेटलीलाई पनि यस वर्ष गुमाउनु प¥यो । दिल्लीस्थित एम्स अस्पतामा भर्ना गरिएका जेट्लीको अगस्ट २४ मा निधन भयो । प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र ६६ वर्षीय जेटली सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता थिए । जेटलीले भारत स्वतन्त्र भएपछि पहिलो पटक ल्याइएको वस्तु तथा सेवा कर लागू गर्न महŒवपूर्ण भूमिका खेलेका थिए । जेटली अर्थमन्त्री भएकै बेला प्रधानमन्त्री मोदीले ५०० र १,००० दरका भारतीय रुपैयाँका नोट वित्तीय प्रणालीबाट हटाउने निर्णय गरेका थिए ।

३७ वर्ष शासन गरेका मुगाबेको विदेशमा मृत्यु
जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा सेम्टेम्बर ६ मा विदेशमा निधन भयो । उनले जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री हुँदै राष्ट्रपति भएर ३७ वर्ष एकछत्र शासन गरेका थिए । उनलाई सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेर नजरबन्दमा राखेको थियो । नजरबन्दमै रहेका बेला बिरामी भएपछि सिङ्गापुरमा उपचारको क्रममा उनको निधन भएको हो । उमुगाबेका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले उनलाई ‘जिम्बाव्वे स्थापना गर्ने पिता’ तथा ‘मुक्तिका प्रतीक’ को संज्ञा दिएका थिए ।

जापानका सुधारवादी पूर्वप्रधानमन्त्रीको विदाइ
जापानका लोकप्रिय नेताको छवि बनाएका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा नोभेम्बर २९ मा निधन भयो । सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएको र आर्थिक तथा सामरिक रूपमा बलियो राष्ट्र बनाएकोमा उनको प्रशंसा गर्ने गरिन्छ । उनले सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गरेका थिए । आर्थिक नीतिहरू बजार उदारीकरणतर्फ केन्द्रित गरेर उनले नै जापानलाई समृद्धिको आधार तयार पारेको मानिन्छ । विश्वका अरू पनि केही चर्चित व्यक्तित्वलाई विश्वले सन् २०१९ मा गुमाएको छ । अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला, हलिउड स्टार जेन माइकल भिनसेन्टलगायतको पनि यसै वर्ष निधन भएको हो ।