धरान/ ताप्लेजुङ स्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा पुग्न चाहनेहरू धेरै हुन्छन् तर टाढाको बाटो, लामो यात्रा गर्नु पर्ने कारण कतिपयले चाहेर पनि पुग्न पाएका हुँदैनन् ।

पाथीभरा मन्दिरको दर्शन गर्न र त्यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहनेका लागि सिम्रिक एयरले केही वर्षदेखि हेलिकप्टरमै पाथीभरा पु¥याउने गरेको छ । सिम्रिकले यसपटक भेडेटारसहित फिक्कल र सुकेटारबाट समेत दर्शनार्थीलाई पाथीभरा पु¥याउने भएको छ ।

सिम्रिकले भेडेटारबाट पाथीभरा दर्शन गरेर पुन भेडेटार ल्याउँदा प्रति व्यक्ति २९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । त्यस्तै इलामको फिक्कलबाट २८ हजार ९ सय ९९ र ताप्लेजुङको सुकेटार विमानस्थलबाट ६ हजार ९ सय ९९ रुपैयाँमा पाथीभरा पु¥याएर ल्याउने जनाएको छ । सिम्रिकको हेलिकप्टर मार्फत पाथीभरा मन्दिर जान चाहनेले नजिकको ट्राभल एजेन्सीमार्फत बुकिङ गर्न सक्ने सिम्रिक एयरका बजार प्रबन्धक कमल गौतम बताउँछन् ।

केही वर्षदेखि पाथीभरा हेलिकप्टर यात्रा गराइरहेको सिम्रिकले गत वर्ष भेडेटारबाट उडान गर्दा प्रदेश नम्बर १का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की पनि सिम्रिक एयरको हेलिकप्टर चढेर परिवारसहित पाथीभरा मन्दिर पुगेका थिए । भेडेटारबाट हेलिकप्टर चढेका मन्त्री कार्की पहाड र हिमालका मनोरम दृश्य हेर्दै करिब २५ मिनेटमा मन्दिर नजिकै उत्रिए । हेलिकप्टर अरू यात्री लिन उड्यो । मन्त्री कार्कीको समूहले करिब एक घण्टा मन्दिरमा पुजापाठ गरे । फोटो खिचे । हिमाल हेरे । त्यसपछि पुनः २५ मिनेटको यात्रा भेडेटार फर्किए । ‘पाथीभरा जाने पहिलादेखिको इच्छा थियो, हिंडेर जाने समय मिलेको थिएन, हेलिकप्टरबाट चाँडै पुगेर दर्शन गर्न पाइयो ।’ उनले त्यसैबेला भनेका थिए,‘समय कम हुने र हिंड्न नसक्नेका लागि हेलिकप्टर यात्रा धेरै सजिलो हुने रहेछ ।’

गोरखा डिपार्टमेन्टल स्टोरका सञ्चालक बलराम आचार्य त हरेक वर्ष पाथीभरा मन्दिर जान्छन् । गत वर्ष उनी पनि हेलिकप्टरबाट परिवारसहित पाथीभरा मन्दिर पुगेर दर्शन गरे । पाथीभराबाट फर्किएपछि हेलिप्याडमै उनले खुशी व्यक्त गर्दै सुनाएका थिए, ‘हिंडेर, हेलिकप्टरबाट पटक पटक पुगेको छु । पाथीभरा जति पटक गए पनि गइरहन मन लाग्छ ।’

भेडेटारका होटल व्यवसायीहरू पद्मिनी राई, नन्दा श्रेष्ठलगायतको समूह पनि हेलिकप्टरबाटै पाथिभरा मन्दिर पुग्यो । पहिला हिडेर दुई दिनमा पाथीभरा पुगेकी पद्मिनीलाई गत वर्ष २५ मिनेटमा पुग्न पाउँदा सपना जस्तै लाग्यो रे । ‘हेलिकप्टरबाट रमाइला गाउँहरू, हरिया पहाड अनि सेताम्य हिमालहरू देखिए ।’ उनले सुनाइन््,‘टक्क पाथीभरा मन्दिर पुग्दा त स्वर्गैमा पुगे जस्तो लाग्यो । मन्दिरमा पूजा गरेँ, सेताम्य हिउँमा खेलेँ । यात्रा सोचे भन्दा राम्रो भयो ।’

ताप्लेजुङबाट हिंडेर जानेहरू प्रायः फागुनदेखि कार्तिक महिनासम्म पाथीभरा मन्दिर जाने गर्छन् । तर, सिम्रिक एयरले हेलिकप्टर दर्शन यात्रा थालेपछि पुष, माघमा पनि दर्शनार्थीहरू धमाधम पाथीभरा जान थालेका छन् । सिम्रिकले अघिल्लो वर्ष जस्तै यसपटक पनि डिसेम्बर अन्तिमदेखि जनवरी पहिलो सातासम्म हेलिकप्टरबाट पाथीभरा यात्रा गराउने जनाएको छ ।
विशेषगरी पाथीभरा जाने इच्छा भए पनि व्यस्त रहने र स्वास्थ्यका कारण हिंडेर जान नसक्नेका लागि हेलिकप्टरयात्राले सहज बनाइदिएको छ ।

सिम्रिक एयरका सिईएमओ योगेश सापकोटाका अनुसार पाथीभरा दर्शनका लागि पूर्वका विराटनगर, इटहरी, दमक र धरानबाट मात्र होइन काठमाडौंबाट समेत दर्शनार्थीहरू आउने गरेका छन् । भारतीयहरूले पनि यसमा रुचि देखाएका छन् ।
साझा तीर्थस्थल पाथीभरा

पाथीभरा मन्दिर विशेषतः हिन्दू धर्माबलम्बीहरूको तीर्थस्थल भनेर चिनिए पनि यहाँ दर्शनका लागि हिन्दू, बौद्ध, किरात र अन्य धर्ममा आस्थावान्हरू पनि पुग्ने गरेका छन् । अन्नले भरिएको पाथी जस्तै देखिने पहाडको टुप्पोमा देवी उत्पति भएकाले पाथीभरा भनिएको जनश्रुति पाइन्छ । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङबाट १९.४ किलोमिटर पूर्वोत्तरमा पर्ने पाथीभरा समुन्द्र सतहदेखि ३ हजार ७ सय ९४ मी.को उचाइमा छ ।

किम्वदन्ती अनुसार परापूर्वकालमा गोठालाहरूले पाथीभरामा भेडीगोठ राख्थे । एकदिन अचानक भेडाका बथान हेर्दाहेर्दै अलप भए । त्यही बेला गोठालाहरूले देवीको दर्शन पाए । उनीहरूले एउटा भेडा ल्याएर बलिदिएपछि हराएका भेडाहरू पहिलाकै ठाउँमा भेटिए । त्यसपदिेवीको पूजा अर्चना गर्दै बलिदिने चलन शुरु भएको मानिन्छ । बलिनदिनेहरुले फलफुल चढाउने गरेका छन् । भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री सिन्दुर, टीका, गाजल, काँईंयो, आदि चढाउने गर्दछन् । यहाँ वर्र्षैभरि नेपालका विभिन्न ठाउँसँगै भारतबाट समेत दर्शनार्थीहरू आउने गरेका छन् । लिम्बू समुदायले पाथीभरा देवीलाई शक्तिकी स्रोत अर्थात् ‘मुक्तुवुङ’ मानेर पूजा गर्ने गरेका छन् ।

पूर्वमा त पाथीभराप्रति यतिधेरै आस्था छ कि पूर्वका विभिन्न जिल्लामा पाथीभरा मन्दिर बनाएर दर्शन पूजा गर्ने गरिएको छ । त्यसैले ताप्लेजुङको मुख्य पाथीभरालाई ठूलो पाथीभरा र अन्यत्र बनेका पाथीभरालाई सानो पाथीभरा भन्ने गरिन्छ । ताप्लेजुङको पाथीभरा पुग्न टाढा पर्ने र अफ्ठ्यारो बाटो पार गर्नुपर्ने भएकाले त्यहाँ पुग्न नसक्नेहरूका लागि भनेर इलाम, सुनसरीको धरान, भेडेटार, तेह्रथुमलगायतका जिल्लामा पाथीभरा मन्दिर स्थापना गरिएका छन् । ती मन्दिरमा समेत स्थानीय दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

पाथीभराको प्राकृतिक सौन्दर्य
पाथीभराको धार्मिक महत्वले मात्र होइन प्राकृतिक सौन्दर्यलेपनि पर्यटकहरूलाई आकर्षित गर्छ ।
लस्करै देखिने कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, लोत्से, नोत्से लगायतका हिमालका रमणीय दृश्यले पर्यटकलाई लोभ्याउँछन् । त्यसमाथि गुराँसको जङ्गल, धुपी, सल्लाका बोट, मालिङ्गोघारी निक्कै रमणीय छन् ।

ताप्लेजुङ,सदरमुकाम फुङलिङबाट उकालो लागेपछि रमाइला दृश्यहरू अवलोकन गर्दै पाथीभरा पुगिन्छ । पाथीभराबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि उत्तिकै रमाइलो देखिन्छ । दर्शनार्थीहरू यस्ता रमाइला दृश्यहरू क्यामरा र मोबाइलमा कैद गर्दै पाथीभरा पुग्छन् । मन्दिरमा हरेक वर्ष लाखौं दर्शनार्थी यात्रीहरू पुग्ने गर्छन् । उनीहरूले मन्दिरमा चढाएको भेटी नै करोड भन्दा बढी हुन्छ । गत वर्ष मन्दिरमा चढाइएका करिब ४० क्वीन्टल सिक्का मन्दिरले राष्ट्रबैङ्क सँग साट्ने व्यवस्था मिलाएको थियो ।

कसरी पुग्ने पाथीभरा ?
हेलिकप्टरबाट पाथीभरा दर्शन गर्न जानेहरू हाल भेडेटार, फिक्कल वा सुकेटारबाट उड्ने गरेका छन् । तर, अन्यबेला दर्शनार्थीहरू स्थलमार्गबाटै पाथीभरा जान्छन् । त्यसका लागि विभिन्न बाटाहरू छन् । त्यसका लागि इटहरीबाट झापा, इलाम, पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट अलिमाथि तल्लोफेदीसम्म एक दिन गाडीमा यात्रा गर्न सकिन्छ । त्यसपछि पैदल हिंडेर पाथीभरा पुगी पुनः फेदीमा फर्किन सकिन्छ । मेची राजमार्गको बिर्तामोडबाट फुङ्लिङसम्म २ सय ७० किलोमिटर पर्छ ।

कतिपय यात्रुहरू पैदल यात्रा गर्दै पाथीभरा जान रुचाउँछन् । उनीहरूका लागि धरानबाट धनकुटा, तेह्रथुमको बसन्तपुर हुँदै सङ्खुवासभाको गुफापोखरीसम्म गाडीमा र त्यसपछि गोर्गा दोभान हुँदै एकदिन जति हिंडेर पाथीभरा पुग्ने गर्छन् ।

समुद्र सतहदेखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रको तापक्रम शून्यको हाराहारी हुन्छ । यहाँ पर्यटकलाई लेक लाग्ने सम्भावना रहने हुँदा यात्रीहरू तातोपानी, भुटेको मकै, सातु, अदुवा, लसुन, र न्याना कपडाहरू लिएर जाने गर्छन् । यात्रीहरूका लागि मन्दिर व्यवस्थापन समितिले विश्रामस्थल, कम्बल र खानेपानीको व्यवस्था गरिदिन्छ ।