आठपहरियाको वाडाङ्मेट मङ्सिरे चाड

alt
  • मंसिर १९, २०७६
  • सन्तवीर लामा

धनकुटा/ धनकुटा जिल्लामा मात्र बसोबास रहेको किरात आठपहरियाहरू सबैले पूजा गर्ने घरलाई मूलपाङ भन्छन्, अर्थात् साझा घर । अति सीमान्तकृत अल्पसङ्ख्यक किरात आठपहरिया समुदायको मौलिक परम्परागत ज्ञान, सीप र सिङ्गो सभ्यतासित जोडिएको यो घरमा पुजारीहरूले पूजाआजा गर्छन् । अनि सबै मिलेर ढोल र झ्याम्टा बजाएर नाच्छन् । यो घरको आफ्नै नियम छ । यो घरलाई ‘तले घर’ पनि भन्ने गरिन्छ । तले घरजस्तै आठपहरिया समुदायको आ–आफ्नो पाछाअनुसारको पूजा गर्ने साझा घर रहेको हुन्छ । उनीहरू हरेक पर्वमा यहाँ भेला भएर सामूहिक पूजाआजा गर्ने गर्दछन् । अहिले मङ्सिरे चाड (वाडाङ्मेट) भर्खरै सकिएको छ । यस्तो पर्वमा सामूहिक नाच निकालेको बेला आगन्तुक वा पाहुनाहरूले सालको पातको दुनामा रक्सी (सेजोङ्वा) प्रसादको रूपमा पिउँछन् ।

‘यो चलन किरात आठपहरियाहरूको परम्परादेखिकै हो’ किरात आठपहरिया समाजका धनकुटा जिल्ला अध्यक्ष एवम् संस्कृतिकर्मी अष्टबहादुर आठपहरिया भन्छन्, ‘नाच निकालेको बेला अरू भाँडामा पिउनु हुन्न भन्ने मान्यता छ ।’ धनकुटा बजारबाट अलिकमाथि उक्लेर बायाँ मोडेपछि भेटिन्छ यो घर । ‘ठूलाघर’ को रूपमा चर्चित यो अल्पसङ्ख्यक आठपहरिया समुदायको पुरानो सांस्कृतिक सम्पदा हो । अष्टबहादुरका अनुसार यसरी नाच निकाल्नुसँग आठपहरिया समुदायको संस्कार, विश्वास, पद्धति र परम्परागत ज्ञान, सीपसँग जोडिएको छ । खासमा यो कात्तिक पूर्णिमापछि नाचिन्छ । अचेल कोही पाहुना, विशिष्ट व्यक्ति या समूह साझाघर तलेघर अवलोकनमा आएका बेला सांस्कृतिक झलकस्वरूप पनि यो नाच स्वागत गर्न निकालिन्छ । स्थानीय मौलिक कला, साहित्य र संस्कृति खोज्दै अध्ययन, अनुसन्धान र अवलोकन गर्न देशविदेशबाट आउने जो कोही स्रष्टाहरूलाई स्वागत गर्दा पनि आठपहरिया समुदायले यो नाच प्रस्तुत गर्ने गर्दछन् ।

नाचमा आठपहरिया समुदायको मौलिक तथा सांस्कृतिक पर्व ‘वाडाङ्मेट’ को गीत प्रस्तुत गरिन्छ । किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष सरकुमारी आठपहरियाका अनुसार यो गीत मृतात्मालाई बिदा गरेपछि दुःख विसर्जनका लागि गाइन्छ । ‘हाम्रो समाजमा मान्छे मरेपछि आत्मालाई अरुण र तमोरको सङ्गमस्थल कोकाहा दोभान वराहक्षेत्रमा गएर बिदा गर्नुपर्छ’ उनले भनिन्, ‘मृत्युको कारण खोज्दै मृतकको घर–घरमा गएर आर्जे हेर्ने चलन पनि छ । अहिले भने यो हराउँदै गएको छ । मृतात्मा बिदा गर्न वराहधाम जाने समय वाडाङ्मेट पर्व (मङ्सिरे चाड) कै छेकमा हो । हिँडेरै जानुपर्ने र हिँडेरै फर्किनुपर्ने परम्परादेखि चलिआएको चलन अहिलेसम्म पनि छँदैछ । यसरी वराहधाम गएकाहरू कात्तिक पूर्णिमाको बिहान जसरी पनि फर्केर घर आइपुग्नु पर्ने हुन्छ ।

उनीहरूले वराहधाम जाँदा विशेषगरी आफ्नो मामाबाट कपाल, दाह्री, परेला खौरी वर्षभरिको दुःख फुकाई घर फर्की बूढापाकाहरूबाट मुन्धुममार्फत् क्षेत्रपति वराहाङ र थानापति मार्गाहाङसँग आशिर्वाद माग्ने गर्छन् । त्यसपछि दुःख विसर्जनका लागि नाचगान गरिन्छ । त्यस क्रममा बूढापाकाहरू मुन्धुम गाउँछन् भने युवायुवतीहरू पनि वराह भगवानको नाम लिँदै यसरी गीत गाउँछन्– ‘सानोमा सानो बेतैको लौरी, ए लै लै, गाई–भैंसी धपाउने, हाँसेरै जाऊँ, जाऊँ, ए लै लै अर्को साल कहाँ पाउने’ भन्दै माया प्रिती साट्ने गर्दछन् । यसबेला प्रत्येक घरबाट अनिवार्यरूपमा नाचलाई विधिवत् रूपमा नाङ्लोमा फलफूल राखेर दिने गर्छन् । यसैगरी वराह भगवानको नाम लिँदै १५ दिनसम्म वाडाङ्मेट नाच्ने गरिन्छ । वाडाङ्मेट चाड समापनको दिन सबै गाउँका मुन्दुमडाङ र अन्य मानिसहरू भेला भई मुन्दुम गाउँदै ढोल झ्याम्टासहित नाच्छन् । त्यसरात पुजारीको घरमा आ–आफ्नो पाछाअनुसार सातो उठाउने गरिन्छ । भोलिपल्ट एक ठाउँमा सरस्वतीको पूजा गरी अर्को वर्षसम्मको लागि मङ्सिरे चाड वाडाङ्मेटको बिदाइ गरिन्छ ।

‘यस्तो बेला माया–प्रेमका गीत पनि गाइन्छ, कसैले घुमडुल र स्थान विशेषका गीत पनि गाउँछन्’ किरात आठपहरिया समाजका केन्द्रीय अध्यक्ष सरकुमारी भन्छिन्, ‘बूढापाका थाकेपछि तन्नेरीहरू नाच्छन् । दोहोरी पनि हुन्छ ।’ ढोल र झ्याम्टा बजाएर खुट्टाको धीमा गति मिलाउँदै नाचिने यो नृत्यमा पुरुष र महिला दुवैको बराबर सहभागिता रहन्छ । यसपछि नाच हेर्नेहरूलाई दुनामा रक्सी (सेजोङ्वा) बाँडिन्छ । ‘मृतात्मालाई बिदा गरेर फर्केपछि वराह क्षेत्रबाट विभिन्न्न देवी देउतासँगै ल्याएको हुन्छ भन्ने विश्वास गरिन्छ’ उनी भन्छिन्, ‘पवित्रताका लागि दुनाको प्रचलन रहेको हुनसक्छ ।’ पातमा सगुन चाख्दै गर्दा त्यहाँ पुग्ने जो कोहीलाई साँच्चिकै आदिवासी जनजातिको मौलिक संस्कृतिको मूलथलोमै पुगेको अनुभूति हुने गर्दछ ।

बाउन्न चुलोको कथा
साझा घर (ठूलाघर) खासमा आठपहरिया समुदायको ५२ चुलोसित जोडिन्छ । २०६८ को जनगणनाअनुसार ५ हजार ९ सय ७७ सङ्ख्या रहेको आठपहरियाको मौलिक साँस्कृतिक सभ्यता यही ५२ चुलोबाट विस्तार भएको मानिन्छ । ‘अझै पनि ५२ पितृ भिन्न हुन नहुने मान्यता छ’ आठपहरिया समाजका अगुवा एवम् नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् धनकुटाका पूर्वअध्यक्ष गेहेन्द्रबहादुर किम्दाङ आठपहरियाले भने, ‘तर एकै ठाउँमा रहन भौगोलिक हिसाबले सम्भव नभएपछि विभिन्न ठाउँमा छरिए ।’ जहाँ पुगे पनि पितृ पूज्ने सन्दर्भमा भने यही साझाघर आउनुपर्ने उनले बताए । माङ्बुङ थरका आठपहरियाहरूको भने जेठो छोरा जन्मेको खुशीयालीदेखि अन्य कर्महरू यही घरमा गर्नुपर्ने हुन्छ । ‘अरूले जेठो छोरोका हर्ष बढाइँ आ–आफ्नै घरमा गर्छु भन्दा छुट पाइन्छ’ किम्दाङले सुनाए, ‘माङ्बुङले चाहिँ यहीँ नै गर्नुपर्छ ।’

गेहेन्द्र किम्दाङका अनुसार २०३६ सालअगाडि यो साझाघर नौतले थियो । नौ वटा भर्याङ चढेर जानुपथ्र्यो । माटोको गारो उठाएर बनाएको भएकाले सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला नयाँ बनाइदिन्छु भन्दै भत्काउन लगाइएको थियो । तर, एकतलेभन्दा माथि उठ्न सकेन ।

‘माथिल्लो तलामा विभिन्न किसिमको तान्त्रिक र सांस्कृतिक विधि गरिन्थ्यो’ किम्दाङले थपे, ‘कोही बिरामी भयो भने यहीँ ल्याएर माङ (पुर्खाको सृष्टिको आत्मा) बोलाएर कारण पत्ता लगाइन्थ्यो । अहिले आत्मा बोलाउने मान्छे (माङ्काटा) नै जन्मिन छोडे ।’ उनका अनुसार एउटा माङ्काटा मरेपछि उनको आत्मा अर्को व्यक्तिमा सर्नुपर्ने हुन्छ । २०३६ सालतिरै माङ्काटा बितेपछि उनको आत्मा अरूमा आएको छैन ।

मिसन होमस्टे
यही साझा घरलाई केन्द्रमा राखेर आठपहरिया समुदायले धनकुटामा होमस्टे सञ्चालनको योजना अघि सारेका छन् । धेरैले थर लेखेकाले जनगणनामा थोरै देखिए पनि आठपहरियाको ११ हजारभन्दा बढी जनसङ्ख्या रहेको दाबी गर्दै ‘आठपहरिया सांस्कृतिक होमस्टेको रूपमा धनकुटा चिनिन सक्ने अर्का आठपहरिया समुदायका अगुवा एवम् युवा समाजसेवी सुरेन्द्र लेङ्सुवा आठपहरियाले दाबी गरेका छन् । उनीहरूले होमस्टेको सञ्चालन प्रक्रियासमेत अघि बढाउँदै प्रशिक्षण कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेका छन् । यसका लागि धनकुटा नगरपालिकाको आर्थिक सहयोग मिलेको थियो । शुरुमा १५ घरबाट होमस्टे सञ्चालन गर्ने योजना बनाइरहेको सुरेन्द्रले बताए । ‘त्यसका लागि सांस्कृतिक प्रस्तुति, भेषभूषा, खानपान प्रवद्र्धनमा लागिपरेका छौं, आठपहरिया संस्कृति हेर्न अन्त गएर हुन्न, धनुकटा नै आउनुपर्ने हुन्छ’ –उनले भने ।

लकडाउनमा काङ्ग्रेसको ...

धरान / कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन ...

लकडाउनमा ब्राउन सुगर ...

मोरङ/मुलुक लकडाउन भइ ...

गायक डिल्ली फोम्बोको ...

धरान । गायक डिल्ली फोम्बोको नयाँ गीतको भिडियो रिलिज भएक ...

केकीको धमाकेदार प्रस ...

धरान । माया पुन मगरको नयाँ गीत ‘नेपालकी छोरी&rsqu ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved