प्रत्यक बर्ष दशैंको आगमन सँगै दशैं बजारको चहलपहल र बसको टिकट बुक गर्नेको घुईचो पनि बढेको देख्दा एक किसीमको रमाईलो अनुभव हुन्छ ।

आज पनि याद आउँछ दशैंमा लिङ्गे पिंग गाउँघर तिर खेलेको । आजभोलि दशैंको परिभाषा नै फेरिएको छ । हामी नेपालीको सबैभन्दा ठूलो महान चाँड वर्षमा एक पटक मात्र आउँछ । सबै देश विदेश छरिएर रहेको आफन्त, साथीभाईहरुसँग भेटघाट हुने तथा वर्षभरि भोगेका तीतामीठा अनुभवहरु साटासाट गरी खानपान गर्ने, उपहारहरु आदान प्रदान गर्ने अमुल्य समय हो दशैं ।

असत्य माथि सत्यको विजय भएको, देवताहरुको रक्षा गर्नको लागि दुर्गामाताले महिसासुरलाई अन्त्य गरेको दिन हो दशैं । दशैं पर्व मात्र होईन, यो नेपाली सँस्कृतिका रुपमा स्थापित अमुल्य अवसर पनि हो । हिन्दुहरुको महान चाँड दशैं सँगसँगै नौरथा जाने दिन पनि आयो । तर हामी मध्ये कतिलाई थाहा छ कि दशैंको नौ दिन जाने नौरथाको महिमा के हो ? किन गईन्छ ? भनेर ।

नेपालको बिभिन्न क्षेत्रमा रहेको दन्तकाली शक्तिपीठ मन्दिरहरुमाा नौरथा जाने रमझम पनि शुरु हुन थाल्दछ । सबै उमेरका व्यक्तिहरु श्रद्धा र भक्तिका साथ बिहान ४ बजेदेखि नौरथा जाने गर्दछन् । नौरथा शुरु हुँदा प्रतिपदादेखि दशमीसम्म यस मन्दिरमा पुजा गरिन्छ, सधैं गर्ने पुजा सकीएपछि विशेष पुजा गरिन्छ यस बेला । मन्दिरभित्र पर्दा लगाएर जमरा राखिन्छ । जमरा राखेको घरलाई जमरा घर भनिन्छ जहाँ शक्तिपीठको पुजा गरिन्छ । नवरात्री भरी नौवटा नामले पुजा गरिन्छ ।

प्रथम शैलपुत्री
द्वितीय ब्रम्हचारिणी
तृती चन्द्रघण्टेति
चतुर्थ कूष्माण्डेति
पञ्चम स्कन्दमात्रेति
षष्ठी कत्यायात्री
सप्तम कालरात्री
अष्टम महागौरी
नवम सिद्धिदात्री

सप्तमी र अष्ठमीमा विशेष पुजा गरीन्छ । अष्ठमीको दिन देवीले महिसासुरलाई मारेर देवताहरुको उद्दार गरेको हुनाले नवमीपछि दशमीको दिन विजयदशमी भनेर मनाईन्छ ।

यो दिन जया, विजया तथा अपराजिता देवीहरुको पुजा गरिसकेपछि मन्दिरको पुजालाइ पूmलपाती विर्षजन गरेर भक्तजनहरुलाइ दर्शन गर्न आउन दिने चलन रहेको छ । हाँस, परेवा बोका, राँगा, भेडाहरुलाई भोग दिने चलन रहेको यस मन्दिरमा आजकल भोग दिने चलन घट्दै गएको देखिन्छ । पहिले पहिले नवरात्र घुम्ने चलन बिहान दुई बजेदेखि शुरु हुन्थ्यो भने आजकल झैझगडा हुने कारणले चारबजेदेखि मात्र भक्तजनहरु आउने गरेको छन् । पुजाआजा चै छ सात बजे मात्र शुरु हुने गरेको पाइन्छ ।

स्वास्थानीको कथा अनुसार महादेवजीले सतीदेवीको मृत शरीरलाई विलाप गर्दै बोकेर हिँडेको बेला सतीदेवीको शरीरको अंगहरु पतन भएर जहाँ जहाँ खस्दै गए त्यहाँ त्यहाँ एउटा शक्तिपीठको स्थापित भएको छ । नेपालमा जम्मा चारवटा शक्तिपीठ स्थापित भएको छ । पूर्वमा भोजपुरमा सिद्धकाली, धरानको विजयपुरमा दन्तकाली, काठमाडौंमा गुहेश्वरी र नेपालगञ्जमा जय बागेश्वरी । यि चारैवटा शक्तिपीठमा बिशेष नवरात्रीमा मेला लाग्ने गर्दछ ।

वर्षमा चारवटा नवरात्री पर्दछ जसमा दुइवटा मुख्य छन् । ति हुन् आश्विन शुक्लपक्ष देखि आश्विन दशमीसम्मको नवरात्री, चैत्र शुक्लपक्ष देखि चैत्र दशमीसम्मको नवरात्री । अरु दुइवटा माघमा एउटा नवरात्री र असारमा एउटा नवरात्री पर्दछ । जब विजयपुरमा शक्तिपीठको स्थापना भयो तब विजयपुरको पौराणिक नाम अट्टाहास थियो ।

अट्टाहासको अर्थ अग्लो ठाउँमा अवस्थित सुन्दर ठाउँ भन्ने बुझिन्छ । पछि पृथ्वीनारायण शाहले यो ठाउँ जितेपछि विजयपुर रहेको भनाइ छ । दशैंको अवसर होस् वा अरु कुनै धार्मिक पर्व नेपालको लगायत भारत, भुटान, बंगलादेशबाट पनि भक्तजनहरु आउने गरेको पाइन्छ ।

सप्तमीको दिन नित्य मन्दिरको नित्य पुजा गरीसकेपछि पूmलपाती राष्ट्रियकरणमा जान्छ भित्रिन्छ । देवीलाई मनपर्ने नौ प्रकारका पूmलहरु जयन्ती, कोला, हल्दी, कचु, माने, दारिम, धान, बेलिया, अशोक भेला गरेर पुजा भजन गरी पूmलपाती भित्र्याइन्छ । त्यसपछि राती बाह्र बजे बोका बली दिएर मुटु कलेजो निकालेर महाप्रसाद भनी कालरात्रीको रुपमा हवन पुजा गरीन्छ । नवमीमा भगवतीको लागि महिसासुरको रुपमा एउटा राँगा बली दिइन्छ ।

दशैंको लागि आफ्नो गक्ष अनुसार आ(आफ्नो घर सरसफाई गर्ने, रंगरोगन गर्ने गर्छन् । दशैंको दश दिनको पनि आआफ्नो धार्मिक महत्व छ । दशैंको पहिलो दिन घटस्थापना, जमरा राख्ने दिन दुर्गामाताको लागि पुजा कोठामा स्थापना गरीन्छ जुन टिकाको दिन धारण गरिन्छ दुर्गामाताको प्रसादको रुपमा ।

यसै दिनदेखि दुर्गामाताको विभिन्न शक्तिपीठहरुमा विहानै ९ दिनसम्म दर्शन गर्ने गरीन्छ । जमरा राखेको ६ दिन सम्म दिनहँु पुजा गर्दै राखिन्छ । सातौं दिन फुलपातीमा गोरखाबाट फुलपाती ल्याएर काठमाण्डौ भित्र्याउने चलन छ । अष्टमीमा परिवारको सबै जम्मा भइसकेको हुनाले भोज खाने चलन पनि छ । नवमीमा शक्तिपीठमा गएर भोग चढाउने वा मार हान्ने भनी बोका, राँगा, कुखुरा चढाउने गरिन्छ । अन्तमा दशमीको दिन ठुलाबडाको हातबाट टिका र जमरा थापेर दक्षिणा लिएर विजयादशमी मनाइन्छ । यसरी दुर्गामाताले सत्यको रक्षा गरी दुष्टको संहार गरेकोले दशौं दिनलाई दशै वा विजयादशमी भनेर मनाईएको हो ।

आज भन्दा २०/२५ वर्ष अगाडीको दशैं र अहिलेको दशैंमा कति धेरै फरक आईसक्यो । दशैंमा मात्र खेलिने रमाईलोको लागि तास अहिले जताततै जुवाअड्डामा बदनाम भइसक्यो । नयाँ नयाँ लुगा, निधारमा रातो टिका, कानमा जमरा अहिले पनि छ तर मनमा त्यतिबेलाको जस्तो उल्लास र जाँगर अहिले छैन । विदेश गएकाहरु आउँन छोडेका छन् । उनीहरु कतिपय उतै स्थापित भएर दशैं पनि उतै मनाउन थालेका छन् र भन्ने गर्छन्, ‘टिका लगाएर, मासु खाएर मनायौं दशैं ।

साथीभाइहरुसँग तास पनि खेल्यौं, रमाइलो भयो” तर विदेशीनेहरुलाई थाहा छैन कि वर्षदिनभरी त्यही एक दिन त छोराछारीहरु, आफन्तहरुसँग भेट हुन्छ नि भन्दै बाटो पर्खेका हुन्छन् । दशैं शब्द टिका, जमरा, मासु र जुवातास मात्र होइन यो त भावनाको पर्व हो भन्ने कुरा विर्सिदै गएका छन् विदेशमा बस्नेहरुले । देश छाडेर मजदुरी गर्न गएकाहरुले जति दशैंमा कल्पिने अरु कोही हुन्छ जस्तो लाग्दैन ।

“साहुले तलब रोकिदिएको छ, तलब नलिई यसपाली दशैंमा घर कसरी जाने ?” यस्ता अफ्ठ्यारा बीच गुज्रिएका खाडी र मध्यपूर्वको देशमा गएकाहरुले बारम्बार गुनासाहरु गर्ने गरेका छन् । दशै नजिकीदै गर्दा भारतका विभिन्न स्थानमा बसेर काम गर्ने नेपालीहरु धमाधम घर फर्कन थालेका छन् । तर दशैं मान्न घर फिरेका नेपालीहरुलाई भारतीय प्रहरीले सीमामा नेपालीहरुलाई अनावश्यक सोधपुछ गर्ने र अवैध रकम माग्ने गरी अनावश्यक सास्ती दिने गर्छ यो बेलामा । पैसा नभए सामान नै पनि लैजाने गरेको पीडा छ नेपालीहरुलाई ।

बुढापाकाहरु सानाहरुको निधारमा टिका लगाईदिन पाउँदा आफुलाई धन्य सम्झन्छन दशैंमा, आशिर्वादको भण्डार खोलिदिन्छन् हाम्रो लागि । निम्ता नदिई स्वेच्छाले घरघर गएर टिका थापेर आशिर्वाद प्राप्त गर्नु दशैंको सबैभन्दा ठूलो विशेषता हो । देशमा भन्दा विदेशमा दशैं राम्ररी मनायौं भनी फेसबुकमा फोटो राखेर मख्ख पर्छन विदेशीएका नेपालीहरु । संस्कार जोगाएको राम्रो तर नेपालमा आफ्नोलाई एक्लो पारेर के फाईदा ?

आहा ! आज पनि गाउँ पहाडमा संस्कार उच्च स्थानमा छ, दशैं आएपछि धान कुटाएर चामल बनाउने, चिउरा कुट्न लाईनमा बस्ने, तिन पानीको रक्सी बनाउन शुरु गर्ने, घोर्ले खसीको होडबाजी चल्ने, रोटे पिङ, लिङ्गे पिङको तयारी गर्ने, गाउँको परिवेश अनुसारको लुगाफाटा सिउने, सिलाउन दिनेको चहलपहल, घरका भित्ता पोत्ने, टाल्ने र आँगनको झार उखेल्ने, सफा गर्नेको भ्याई नभ्याई, वल्लो घर पल्लो घरमा दशैंको चर्चा साथै धान काट्ने र भित्राउने चटारो ।

यसले दशैं आएको संकेत दिन्छ । पहिले हामी सानो हुँदा पुरानो संस्कार र संस्कृतिलाई मानिसले एकदमै माया गर्थे । अहिले पुराना मौलिक कुरा युवाहरुले भुल्दै गएका छन् । अहिले दशैं मनाइरहँदा पुरा संस्कारहरुको संरक्षण हुन सकेको छैन् । हाम्रा मौलिक परम्परालाई आधुनिकताको नाममा भित्रेका नयाँ चलनले धमिलयाउन थालेको छ ।

नेपालीपन खै हामीमा ? आजकल शहरीकरणले खाइसक्यो । सधै खाइरहने चामलको भात र मासुको स्वादको दशैंमा के महत्व छ र शहरमा । दशैंमा गाउँको मासुभातको स्वादै अर्कै हुन्छ । दशैंमा बर्षभरी पालेर राखेको खसीबोका, राँगा, सुँगुर, कुखुरा, हाँसको विक्री वितरणको रौनक नै अर्कै हुन्छ । गाउँको शुद्ध खाना, लोकल कुखुरा, लोकल रक्सीको मजा नै अर्कै जुन सबैको भाग्यमा हुँदैन । शहरमा त दशैं आउन पाएको छैन यी सबैको भाउले आकास छुन थाल्दछ ।

दशैं हरेकको घरको आँगनमा उत्साह बोकेर पुग्ने गर्छ र ढोका खुल्ने प्रतिक्षा गर्छ । कसरी स्वागत गर्ने त्यो हाम्रो संस्कारको कुरा हो । गाउँघरमा दशैंमा सबैभन्दा आर्कषणको केन्द्र भनेको लिङ्गे पिङ । आज पनि यो चलन जिवितै छ । यो हाम्रो अमुल्य संस्कार हो । बुढापाकाको भनाई अनुसार वर्षमा एकपटक भूई छोड्नुपर्छ भनेकोले गर्दा पनि लिङ्गे पिङको संस्कार बसाएका हुन हाम्रा पूर्खाहरुले ।

दुःख लाग्दो कुरा आजकल धर्म पविर्तन गर्ने होडले गर्दा आफ्नो संस्कार बाट टाढा हुदै जादैछन् हाम्रा आफ्नाहरु । एक अर्कोको धर्मलाई सम्मान गर्नुपर्छ तर आफ्नो दुःख, जिम्मेवारी, समाजबाट निराश भएर धर्म परिवर्तन गरी आफ्नो संस्कार बाटै टाढा हुनु त समझदारी होईन ।

सबै धर्मको चाँडबाँडलाई उत्तिकै महत्व दिएर मनाउन सकिन्छ । दशैं नेपालीहरुको महान पर्व भन्ने गरिए तापनि यो पर्व असत्य माथि सत्यको विजय उत्सव भनेर अन्य देशका नागरीकहरुलाई बुझाउन सकिएको छैन । दशैंलाई हिन्दुत्वसँग नजोडी हेर्ने हो भने दशैं नेपालीहरुको महान सँस्कृति हो । एक अर्कासँग अन्तरनिर्हित भई व्यवसायीक र भावनात्मक सम्बन्ध गाँसिएको दशैंलाई हेर्ने दृष्टिकोण फराकिलो पार्दे जानुपर्ने आवश्यकता छ । दशैलाई अन्य सँस्कृतिको अतिक्रमणबाट जोगाउनु पर्ने दायित्वबोध हुन सकेको छैन ।

आजकल दशैं जस्तो ठूलो चाँडपर्व उत्साह र उमंग भन्दा पनि बढी बोझ हुँन थालेको छ हामीलाई, हुनसक्छ महंगाईको कारणले । महंगी बढेको बढे, आय जो का त्यो । गाउँघरमा मात्र चाँडबाँडको रमझम थाहा पाईन्छ नत्र शहरमा त दशैको मतलब तास, वियर र मासु । त्यसपछि उही भागमभाग, कामै काम ।

रेडीयो, एफ एम, टि.भीमा मात्र दशैको शुभकामना दिंदा र कम्पनीहरुले दशंैमा फलाना सामान किने वापत फलाना उपहार भनेको सुन्दा मात्र दशैं आएछ जस्तो लाग्छ । त्यसमाथी मंगल ध्वनीको गुञ्जन हुन थालेपछि दशैं बलेसी कै अगाडी आइपुगेको हुन्छ ।

कम्पनीले दिने उपहारमा पनि ठूलो सामान किन्न सके त हो नी । ठूलो सामान किन्ने गक्ष कहाँ र आम नेपालीमा, केही धनीमानीको लागि मात्र लक्ष गरेर राखिएको हुन्छ यस्ता अवसर पनि । हो, आजकल ठूला ठूला डिपार्टमेन्ट स्टोर तथा पसलहरुले सेलमा सामान राखिदिएको हुन्छ यस्तो अवसरमा आम नेपालीलाई सामान किन्न केही हदसम्म राहत पुगेको छ ।

जहाँसम्म चाईनिज सामान राम्रो र सस्तोको कुरा छ यसै सामानले सबै नेपालीहरुलाई दशैं सजिलो बनाएको छ, हुनेखाने देखि हुँदा खाने सम्मका नेपालीहरुको लागि चाइनिज सामान कृपा बनेको छ ।

नभए हामी औसत नेपालीहरुको लागि चाँडबाँड वा दशैं, दशा हुने हो । दशैं हाम्रो राष्टिूय महान चाँड हो न की तडक भडक देखाउने माध्यम । दशैंलाई हामी सबै मिलेर स्वागत गरौं र एक अर्कामा शुभकामना आदानप्रदान गरौं विश्वभरी ।

हामी सबैजना जतिजनासँग आबद्ध छौं सबैलाई दशैंको शुभकामना बाडौं भेटमा, फोनमा, फेसबुकमा, मेलमा, कार्ड वा चिठीबाट । को हिन्दु, को मुसलमान, को किश्चियन, को बाहुन, को जनजाति, को दलित एकछिन सबै धर्म, सबै जात विर्सेर दशैंमा एकजुट भएर रमाऔं । दशैं सँस्कृतिलाई अतिक्रमण हुन नदिन सबै नेपालीले प्रण गरौं, संकल्प गरौं ।