नेपालको राजनीतिमा लामो समय कोइराला परिवारको दबदबा रह्यो । बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइरालालगायतले नेपालको राजनीतिक आरोह अवरोहमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

तिनै कोइराला परिवारकी छोरी तथा बलिउडकी अभिनेत्री मनिषा कोइरालाले नेपालको राजनीतिदेखि डर लाग्ने बताएकी छन् ।

भारतीय मिडिया ‘द हिन्दुस्तान टाइम्स’ सँग कुरा गर्दै उनले नेपालको राजनीतिक माहोलदेखि आफूलाई डर लाग्ने बताएकी हुन् । अन्तरवार्ताका क्रममा उनलाई ‘प्रभावशाली राजनीतिक परिवारको सदस्य भएकाले राजनीतिमा आउन दबाव भएन ?’

भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘नेपालमा कोइराला परिवारको तेस्रो पुस्ता राजनीतिमा छ तर पछिल्लो समय नयाँ सदस्य कोही आएका छैनन् । त्यसैले मलाई दबाव छ तर मलाई नेपालको राजनीतिक माहोलदेखि डर लाग्छ ।’

फिल्म ‘प्रस्थानम’ को रिलिजको पर्खाइमा रहेकी मनिषाले आफू कलाकार भएकाले राजनीतिमा भिज्न सहज नहुने उनले बताएकी छन् ।

‘कलाकार बनेर जुन आनन्दसँग जिन्दगी बिताइरहेकी छु, सायद यो हराउँछ होला’ उनले भनेकी छन्, ‘त्यसकारण मलाई लाग्दैन कि म कहिल्यै राजनीतिमा लाग्छु । म कलाकार हुँ र कलाकार बनेरै बस्न चाहन्छु ।’