बिर्तामोड (ब्लाष्ट) झापामा व्यावसायिक रूपमा अलैंची उत्पादन हुन्छ भन्दा धेरैले पत्याउँदैनन् । पहाडीक्षेत्रमा मात्र फल्दै आएको अलैंची झापाका कृषकले पनि उत्पादन गर्न शुरु गरेका छन् ।
खासगरी पहाडीभेगको खोल्सामा मात्र सीमित रहेको अलैंची यतिबेला झापामै व्यावसायिक खेती हुन थालेको छ ।
झापामा उत्पादन हुन थालेपछि ‘खोल्साको कालो सुन’ उपनामले चिनिने अलैंचीको यतिबेला परिचय फेरिएको छ । झापामा कति अलैंची फल्छ ? भन्ने तथ्याङ्क भने कृषि ज्ञान केन्द्रमा नरहेको पाइएको छ । किसानले भने आफ्नै पहलमा यसको खेती विस्तार गरिरहेको बताएका छन् ।
केही वर्ष अघिसम्म पहाडीभेगको ओसिलो जमिनमा अलैंची फल्दै आएको थियो । झापाका केही किसानले सोखका रूपमा घु¥यानमा रोप्दा उत्पादन भएपछि व्यावसायिक खेती शुरु गरेका हुन् । अहिले झापाको बुद्धशान्ति गाउँपालिकामा मात्र अलैंची खेती गर्ने किसानको सङ्ख्या दुई दर्जनभन्दा बढी छ । बुद्धशान्ति गाउँपालिकाको भोटेटार, होक्से र जयपुरका किसानले व्यावसायिक रूपमा अलैंची खेती गर्न शुरु गरेका छन् । उनीहरूले सुख्खा जमिनमा पनि उत्पादन हुने इलामको सलकपुरमा उत्पादन गरिएको ‘पाखे’ जातको अलैंची रोपेका हुन् ।
परम्परागत रूपमा धान, मकै, गहुँ खेतीबाट सोचेजस्तो आम्दानी हुन नसकेपछि यहाँका किसानले वैकल्पिक खेतीका रूपमा सुपारी खेती गर्दै आएका थिए । सुपारी रोपेको स्थानमा अलैंची लगाउँदा राम्रो उत्पादन हुन थालेपछि किसान उत्साहित भएका छन् । तीनवर्षमा २० जनाभन्दा बढी झापाका किसानले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न सफल भएपछि अरु किसानले समेत यसमा चासो राखेको भोटेटारमा खेती गर्दै आएकी राधा बजगाईँले बताइन् ।
बुद्धशान्ति गाउँपालिकाको जयपुरमा अलैंची खेती शुरु गरेकी मनमाया उप्रेतीले दुई कठ्ठा क्षेत्रफलमा अलैंची रोपेकी छन् । उनले अलैंची खेतीमा प्राविधिकको अभाव रहेको बताइन् । ‘थोरै क्षेत्रफलमा लगाए पनि गतवर्ष २० हजार रुपैयाँको अलैंची बेच्न सफल भएँ’ उनले भनिन्, ‘सरकारले यसलाई प्राथमिकतामा राखे हामीजस्ता कृषकलाई थप आम्दानी लिन सहज हुनेथियो ।’ अलैंचीको मूल्यमा निरन्तर आएको गिरावटले भने किसानलाई निराश बनाएको उनले बताइन् ।
यस जातको अलैंचीलाई शितल हावापानी आवश्यक पर्ने भएको हुनाले सुपारीबारीभित्र यसलाई रोपण गरिएको किसानको भनाइ छ । सुपारीको बोटले अलैंची रोपिएको जमिनलाई ओसिलो राख्न सहयोग गर्ने कृषक बजगाईंले बताइन् । तीनवर्र्ष पहिले रोपिएको अलंैचीले अहिले उत्पादन दिन शुरु गरेको जानकारी उनले दिइन् ।
‘अलैंचीमा प्रयोग गरिएको मलले सुपारीको समेत उत्पादन बढाएको छ’ बजगाईंले भनिन्, ‘बिरुवा रोपेको एक वर्षपछि उत्पादन शुरु भयो, पहिलो वर्ष एक मन अलैंची बेच्यौं, यो वर्ष अलिक बढी उत्पादन हुने अनुमान छ ।’ इलामको कोलबुङबाट बिरुवा ल्याएर अलैंची खेती शुरु गरेकी बजगाईंले प्राविधिक कठिनाइका कारण रोग लागेको बेलामा उपचार गर्न समस्या रहेको बताइन् । ‘आफ्नो दिदीकोबाट बिरुवा ल्याएर अलैंची खेती शुरु गरें’ बजगाईंले भनिन्, ‘मेरो लागि अलैंची खेतीको प्राविधिक नै दिदी बन्नुभएको छ, उहाँकै सल्लाहअनुसार बिरुवाको स्याहार गर्दै आएको छु ।’
बजगाईंले यस क्षेत्रका अरु किसानलाई अलैंचीका बिरुवा बिक्री गर्दै आएको बताइन् । अलैंचीबाट आम्दानी शुरु गरेकी बजगाईंले प्राविधिकको व्यवस्था गरिदिन गाउँपालिकालाई आग्रह गर्दासमेत गाउँपालिकाले नपत्याएको आरोप लगाइन् । ‘यस विषयमा मैले गाउँपालिका अध्यक्षलाई समेत जानकारी गराएँ’ उनले भनिन्, ‘प्राविधिक नभएकै कारण बेला–बेला बिरुवा मर्ने समस्या देखिने गरेको छ ।’ आफू सदस्य रहेको होक्से सहकारी संस्थाले भने खेतीका विषयमा समय–समयमा सहयोग पु¥याउँदै आएको उनले बताइन् । तराई क्षेत्रमा गरिएको अलैंची खेतीबारे बुझ्न जिल्लाबाहिरबाट पनि कृषक आउने गरेका छन् ।
अलैंची खेतीमा प्राविधिकको अभाव झापामा मात्र नभएर देशभर नै रहेको अलैंची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले बताए । झापाको बिर्तामोडमा ‘अलैंची अध्ययन सङ्कलन प्रतिष्ठान केन्द्र’ स्थापना गर्ने विषयमा प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढिरहेको कार्कीले जनाए । केन्द्रको स्थापना गर्नसके नेपालमै प्राविधिकको व्यवस्था गर्न सकिने उनको भनाइ छ ।