दमक । दमक–३ का चुडामणि पोखरेल एउटा अध्यन केन्द्रमा भेटिए । अध्यन गर्न आएका उनको हात कापी र कलम वा कुनै पनि प्रकारका शैक्षिक सामग्री थिएनन् । तर पनि उनी एक पाठशालामा पढिरहेका छन् । कलम समाउने उनको हातमा कोदालो छ । लेख्ने कापी छैन तर, पढेको कुरा व्यवहारमा प्रयोग गर्न उनीसँग खेत छ । उनी खेतमै पढ्छन् । खेतमै पढेको कुरा अभ्यास पनि गर्छन । उनीमात्र होइन, उनीजस्ता अन्य ३५ जना कृषक हातमा कुटो र कोदालो बोकेर अध्ययन गर्न भन्दै पाठशालामा भेला हुन्छन् ।

दमक–३ मा रहेको मानसरोवर कृषि सहकारी संस्थाले गत वर्षको चैत २८ गते देखि यही जेठ ३० गतेसम्म यस ठाउँमा रहेका किसानलाई अर्गानिक खेती गर्नका लागि पाठशाला नै निर्माण गरी पढाइ रहेको छ । हरेक दिन पढाइ हुन्छ । पढाइ सकिनेबित्तिकै सिकेका कुरालाई खेतैमा अभ्यास समेत गराइन्छ ।

चुडामणिले भने , ‘हामीले यहाँ कक्षा लिएदेखि घरमै उत्पादन हुने मलको उपचार गर्ने तरिका, रासायनिक मलले माटोमा पारेको असर त्यसको समाधान के हो भन्ने बारे थाहा पायौं ।’ चुडामणिको जम्मा ४ बिघा जग्गा मध्ये आफूले एक बिघामा खेती गर्दै आएका छन् । अहिलेसम्म विभिन्न रासायनिक मल नै प्रयोग गरेर उब्जनी गर्दै आएका उनी पाठशालाको कक्षा लिइसकेपछि भने रासायनिक मललाई विस्थापित गरी अग्र्यानिक मल नै प्रयोग गर्ने योजनामा छन् ।

सोही ठाउँकी योगा घिमिरे पनि पाठशालामा कक्षा लिइरहेकी छन् । उमेरले करिब ३ कोरी पुगेकी उनलाई रासायनिक मलको प्रयोगले स्वास्थ्यमा असर गर्ने गरेको थाहा पाइन । हेर्दा राम्रो देखिने तरकारी भन्दा प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी उब्जाउ गर्नु पर्ने रहेछ भन्ने कुराको ज्ञान पाएकोमा खुसी छिन् । ‘शरीरमा देखिएका विभिन्न रोगको मुख्य कारण आफ्नै घरको भान्सा कोठा रहेछ, भान्सा कोठामा पाक्ने परिकारलाई विषादीमुक्त गराउन अब आफ्नो खेतबारीमा पनि प्राङ्गारिक मल प्रयोग गरेर अग्र्यानिक तरकारी र धानमा समेत युरिया र डीएपी हाल्दिनँ ।’ घिमिरेले प्रतिबद्धता गरिन् ।

दमकका यी किसानमा देखिएको यो साहस त्यत्तिकै आएको भने होइन । मल प्राविधिक कृष्णचन्द्र महर्जनले किसानलाई उत्प्रेरणा जगाइरहेका छन् । गत चैत २८ गतेदेखि जैविक मलको प्रयोग गर्ने तरिका र खेतीसमेत गर्न सिकाइरहेका छन् । अध्ययन सँगै प्रयोगात्म गराइएकाले खेतमा विभिन्न बालीसमेत लगाइएको छ । बारीका बीच बीचमा मलका थुप्राहरू थुपारेर मलको उपचार गरिएको छ भने कतै विभिन्न तरकारीका बिरुवा लगाइएको छ । कुरिलो, चिप्ले भेण्डी, घाँसको बिउ, बाख्राको डाले घाँसलयागतका विभिन्न उपज लगाइएको छ । पाँच बिघा क्षेत्रफल जमिनमा यस ठाउँका किसानलाई अग्र्यानिक कृषिको पाठशाला चलाइएको मान सरोवर कृषि सहकारी संस्थाका अध्यक्ष विश्व बरालले बताए ।

बजारमा औधि नै विषादी प्रयोग गरेको तरकारी र खाद्य सामग्री पाइयो । त्यसबाट बच्न र गाउँलाई बचाउन किसानलाई अग्र्यानिक कृषिसम्बन्धीको पाठशाला चलाइएको अध्यक्ष बरालले बताए । टनेल प्रयोग गरेर अग्र्यानिक बेमौसमी तरकारी कसरी खेती गरिन्छ भन्नेबारेमा समेत किसानलाई जानकारी गराइएको छ । टनेल निर्माणका लागि प्रदेश सरकारले ५ लाख ४० हजार रुपैयाँ सहकारीलाई अनुदानसमेत दिएको र अपुग रकम १ लाख ३५ हजार संस्था आफैंले लगानी गरी कुल ६ लाख ७५ हजार रुपैयाँमा टनेल निर्माण गरिएको छ । आगामी जेठ ३० गतेसम्म यो पाठशाला चल्ने र त्यसपछि किसानले आफ्नै बारी वा त सहकारीकै बारीमा भए पनि अग्र्यानिक खेती गर्ने अध्यक्षले बताए ।