विराटनगर/ विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशीको कार्यालयमा भण्डारण गरी राखिएको लाखौं मूल्य बराबरको अनुदानको मल हराएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि छानबिन शुरू गरेको छ ।
सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १ सय ६७ बोरा रासायनिक मल साल्ट ट्रेडिङमा भण्डारण गरी राखिएको गोदामबाटै गायब भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको हो ।
भण्डारण गरी राखिएको गोदामबाट मल हराएपछि साल्ट ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालय काठमाडौंका प्रबन्धक निर्देशक राधेश्याम चौधरीको संयोजकत्वमा आएको छानबिन टोली प्रक्रिया पूरा गरेर काठमाडौं फर्किएपछि अख्तियारले पनि आफ्नो तरिकाले छानबिन शुरु गरेको बताइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको समाचारका आधारमा आफ्नै तरिकाले छानबिन अगाडि बढाएको प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए । ‘साल्ट ट्रेडिङमा आएको अनुदानको मल हराएपछि हामीले आफ्नै तरिकाले अनुसन्धान अगाडि बढाएका छौं’ प्रवक्ता ढकालले भने, ‘अनुसन्धानको क्रममा रहेकोले अहिले नै केही भन्न मिल्दैन ।’
चौधरीको नेतृत्वमा आएको छानबिन समिति प्रक्रिया पूरा गरेर काठमाडौं फर्किए पनि प्रतिवेदन सार्वजनिक गरेको छैन । जसले गर्दा घटनाका दोषी यकिन भएको छैन । साल्ट ट्रेडिङको गोदामबाट हराएको मलको मूल्य १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ हुन आउँछ । साल्ट ट्रेडिङको गोदामबाट १ हजार ८ सय ८२ बोरा युरिया, २ सय ४७ बोरा डिएपी र ३८ बोरा पोटास गरी २ हजार १ सय ६७ बोरा रासायनिक मल हराएको साल्ट ट्रेडिङ कर्पोरेसन केन्द्रीय कार्यालयले जनाएको छ ।
युरिया १ हजार ८ सय ८२ बोरा ७ सयको दरले १३ लाख १७ हजार ४ सय, डिएपी २ सय ४७ बोराको २ हजार १ सय ५० रुपैयाँका दरले ५ लाख ३१ हजार ५० र पोटास ३८ बोरा १ हजार ५ सय ५० रुपैयाँका दरले ५८ हजार ९० रुपैयाँ रहेको छ । सो प्रकरणमा साल्ट ट्रेडिङ कोशीका इञ्चार्ज दिलचन्द्र राईलाई स्पष्टीकरण सोधिएपछि केन्द्रीय कार्यालयले २ वैशाखमा ३ महिनाको लागि निलम्बन गरेको छ । रासायनिक मल राखिएको १० वटा गोदाम हेर्ने जिम्मेवारी पाएका राईकै गोदामबाट मल हराएपछि उनलाई गत माघमै केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेकोमा अहिले निलम्बन गरेको हो ।
छानबिनको निष्कर्ष बाहिर नआए पनि कर्मचारीहरूकै मिलेमतोमा व्यापारीहरूलाई अनुदानको मल बिक्री गरेको आशङ्का गरिएको छ । मल गायब प्रकरणमा केन्द्रीय कार्यालयले राईलाई निलम्बन गरेको भए पनि कार्यालय प्रमुख नवीनचन्द्र झालाई भने निलम्बन गरेको छैन । मल हराएको दोस्रो दिन नै राईले कार्यालय प्रमुख झालाई त्यसबारे जानकारी गराएको तर झाले केन्द्रीय कार्यालयमा सूचना नदिएको बताएका छन् ।
भण्डारण गरेर राखिएको मल विभिन्न मितिमा हराएको देखिएको छ । साल्ट टे«डिङ अन्तर्गत विभिन्न ठाउँमा रासायनिक मल राख्ने गोदामहरू रहेको छ । युरिया मल मोरङको बूढीगङ्गा गाउँपालिकाको निमुवास्थित गोदाममा भण्डारण गरिएको ठाउँबाट गत कार्तिकमा हराएको हो । त्यस्तै पोटास र डिएपी सुनसरीको सोनापुर स्थित गोदामबाट गत वर्षको जेठमा गायब भएको बुझिएको छ । केन्द्रीय कार्यालयले लेखापरीक्षण गर्दा आयात भएको, बिक्री भएको र भण्डारण भएको मलको विवरण नमिलेपछि घटनामाथि छानबिन शुरु भएको थियो ।
मल गायब प्रकरणमा मुछिएका राईले भने कर्पोरेसनको उच्च तहका हाकिमको मिलेमतोमा मल गायब पारिएको दाबी गरेका छन् । उनले मल ढुवानी गर्ने पशुपति रोडवेजसँगको मिलेमतोमा बाटोबाटै मल गायब पारिएको बताए । हराएकोमध्ये १२ सय ३३ बोरा मलको जिम्मेवार कार्यालय प्रमुख झाले बाटोबाटै बिक्री गरेको आरोप राईले लगाएका छन् ।