लक्ष्मीमार्ग/ उत्तरी मोरङको पहाडीभेगलगायत धनकुटा, पाँचथर र इलामका दक्षिणी गाउँको सम्पूर्ण क्षेत्रमा उत्पादन हुने तेजपात मोरङको लेटाङ बजार र केही केराबारी बजारमा सङ्कलन हुने गरेको छ । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निरास भएका छन् ।

लेटाङ र केरावारीसँग पहाडी गाउँको सडक सञ्जाल जोडिएपछि तेजपातका ब्यवसायी लेटाङ र केरावारी बजारमा काँटा थापेर बसेका छन् । तेजपात नेपालका प्रायः मसला उद्योग र भारततर्फ निकासी हुने गरेको छ । ५ वर्षयता तेजपातको खरिद बिक्री गर्दै आएका लोकबहादुर लिम्बूले भने, ‘नेपालमै प्रशस्त मसला उद्योग खुलेकोले तेजपातको भारततर्फ निकासी घटेको छ ।’

भारतीय व्यवसायीको तुलनामा नेपाली व्यवसायीले कम मूल्य दिने गरेकोले किसानले उपयुक्त मूल्य नपाएको लिम्बूले बताए । उनका अनुसार माग उच्च रहे तापनि ३ वर्षअघि प्रतिकेजी ३० रुपैयाँमा किनेको तेजपात गत वर्ष ४० रुपैयाँमा खरिद गरेको बताए तर, यो वर्ष पनि मूल्य खासै बढेन । उनले यो वर्ष ४२ रुपैयाँसम्ममा खरिद गरेको बताए । उनले मात्र यो वर्ष ११० क्विण्टलसम्म खरिद गरेर बिक्री गर्ने बताए । लिम्बूजस्ता तेजपात सङ्कलन गरेर बिक्री गर्ने लेटाङमा मात्र चारजना छन् ।

उत्तरी मोरङका प्रायःजसो किसानले खेतबारीमा तेजपात लगाएको भेटिन्छ । लिम्बूका अनुसार एक साल राम्रो बाली दिएको बोटले अर्को वर्ष आम्दानी खासै दिँदैन । पहिले दाउराका लागि रोपिने तेजपात किन्न गाउँ–गाउँमा व्यवसायी पुग्न थालेपछि बारीमा थप बिरुवा रोप्न थालेका किसानहरू उचित मूल्य नपाउँदा निराश भएका छन् ।

धनकुटाको ६ नम्बर बुधबारेका लालबहादुर मगरले यो वर्ष साढे ५ क्विण्टल तेजपात बिक्री गरे । उनले गतवर्ष प्रतिकेजी ४० रुपैयाँमा बिक्री गरेको तेजपात यो वर्ष ४२ मा बिक्री भयो । लिम्बूले आफ्नो खेतमा धानबाली नलाग्ने, मकै लगाउँदा बाँदरले खाइदिने भएकोले सम्पूर्ण अन्नको जोहो नै अम्लिसो र तेजपात बिक्री गरेर जुटाउने गरेको सुनाए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७२-७३ मा ७ करोड ७ लाख २० हजार ७ सय ३० रुपैयाँको ९ लाख ८२ हजार २ सय ७० केजी तेजपात भारत निकासी भएको थियो । ०७३-७४ मा भने तेजपातको खपत नेपालमा बढेको देखिन्छ ।

०७३-७४ मा ५ करोड ५८ लाख ८१ हजार ९ सय ६५ रुपैयाँको ७ लाख ८० हजार ५५ केजी तेजपात पूर्वका नाकाबाट भारतलगायतका देशमा निर्यात भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा ७१ लाख ९७ हजार ७ सय ८८ रुपैयाँको १ लाख १३ हजार ७ सय ७३ केजी तेजपात निर्यात भएको तथ्याङ्क रहेको छ । यो तथ्याङ्कलाई आधार मान्दा लगातार मूल्य घटेको देखिन्छ ।