बिर्तामोड / चिया उद्यमीले श्रम ऐन कार्यान्वयन गर्ने सहमति गरेका छन् । श्रम ऐन कार्यान्वयन हुने भएपछि ४४ दिनदेखि बन्द झापाको चिया उद्योग खुलेका छन ।
सोमबार बिहानदेखि छलफलमा बसेका उद्यमी र मजदुरबीच सहमति भएपछि चिया उद्योग खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम ऐन कार्यान्वयन गर्न नसक्ने भए बगान सञ्चालकलाई लिखित रूपमा पत्र बुझाउन निर्देशन दिए पश्चात चिया बगान खुलेका छन् । मजदुर आन्दोेलनका कारण गत चैत १७ गतेदेखि बन्द रहेका पूर्वका चिया बगान उद्योग मन्त्री विष्टको चेतावनीपछि खुलेका हुन् ।
छलफलमा नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ्ग, अहिल नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष सिता सापकोटा, मजदुर नेताहरु भुपाल सापकोटा, सन्तकुमार राई, सइकुमार राई, उद्योगीहरु चण्डी पराजुली, चिया उत्पादक संघका महासचिब शिबकुमार गुप्ता, छत्र गिरी, कुमार गिरी लगायतको सहभागिता रहेको थियो । सहमतिसँगै लामो समयदेखि आन्दोलन भइरहने चिया क्षेत्रको समस्या समाधान भएको छ ।
नेपाल चिया विकास निगम अन्तर्गत झापाको दमक नगरपालिकामा रहेको हिमालय महालक्ष्मी टी गार्डेनले शनिबारदेखि काम सुरु गरेको थियो । त्यस्तै टोकला चिया कमान मेचीनगर नगरपालिका, बर्ने चिया कमान बुद्धशान्ति गाउँपालिका र बाह्रदशी चिया कमान बाह्रदशी गाउँपालिका आइतबारदेखि सञ्चालनमा आएका थिए । हरियो पत्तीको मुख्य सिजनमा उद्योग बन्द गर्नुभन्दा सञ्चालन गर्न केही उद्योगी तयार हुन थालेपछि संघ पनि बन्द गर्ने अडानबाट पछि हट्न बाध्य भएको हो ।
यसअघि हिमालयले श्रम ऐनअनुसार मजदुरलाई दैनिक ज्याला र सेवा सुविधा दिने सहमति निगमसँग गरेको थियो । श्रम ऐनमा उल्लेख भए बमोजिम श्रम ऐन र सामाजिक सुरक्षा ऐन पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति हिमालयले गरेको थियो । श्रम ऐन अनुसार २०७५ साउन १ देखि ऐनमा उल्लेख भएको दैनिक ज्याला उपलब्ध गराउने सहमति भएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताए । साउनदेखि नै ३ सय ८५ रुपैंया दिनुपर्नेमा ९ महिनासम्म उद्योगले २ सय ७८ मात्रै दिँदै आएका थिए । साउनदेखि नै कामदार तथा कर्मचारीले पाउने सबै बाँकी ज्याला किस्ता बन्दीमा भुक्तानी गर्ने सहमति समेत भएको तामाङले बताए । नेपाल चिया बगान श्रमिक संघ, अखिल नेपाल चिया मजदुर संघ र नेपाल कृषि तथा चिया बगान श्रमिक संघसँग चिया कमानको व्यवस्थापन पक्षले लिखित सहमति गरेको हो ।
श्रम ऐनमा चिया क्षेत्रमा कार्यारत मजदुरलाई दैनिक ३ सय ८५ रुपैंयाँ ज्याला दिनुपर्ने ब्यवस्था छ । जसमा ‘२ सय ३१ रुपैंयाँ ज्याला र १ सय ५४ रुपैंयाँ महङ्गी भत्ता’ भनेर ब्याख्या गरिएको छ । मजदुरले सामाजिक सुरक्षाकोषमा ज्याला रकमको १० प्रतिशत अनिवार्य रुपमा जम्मा गर्नुपर्ने हुन्छ । उद्योगीले सञ्चयकोष बापत १० प्रतिशत, उपदान बापत ८ दशमलब ३३ प्रतिशत र सामाजिक सुरक्षा भत्ता शिर्षकमा १ दशमलब ६७ प्रतिशत रकम थपेर सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने हुन्छ ।
उद्योगले मजदुरलाई २ सय ७८ रुपैंयाँ दैनिक ज्याला दिदै आएका थिए । अब उद्योग र दैनिक ज्यालादारी मजदुरले प्रत्येक दिन ६९ रुपैंयाँ सामाजिक सुरक्षा खातामा जम्मा गर्नुपर्ने छ । उद्योगीले ३ सय ८५ रुपैंयाँ ज्याला र ४६ रुपैंयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गर्दा एकजना मजदुरको हकमा ४ सय ३१ रुपैंयाँ लगानी गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त ६ महिना सुत्केरी बिदा, अंगभंग हुँदा उपचार गर्नुपर्ने उल्लेख छ ।