सिर्जनशीलताको पुनर्जागरण भएकोमा मन गदगद भयो । ५० को दशकको शुरुताका तात्कालीन पथरीमा हुने साहित्यिक माहोल ४–५ वर्षपछि सेलाएको थियो । ७० को दशकको शुरुताका फेरि पुनर्जागृत हुन थालेको भए पनि त्यति एकत्रित बन्न सकिरहेको थिएन । तर ०७६ वैशाख २६ को एउटा कार्यक्रम सिर्जनशील माहौलको पुनर्जागृत स्वरूपमा एकत्रित र व्यापक भएर आयो ।
जो नगरका अगुवा सर्जक, चिन्तक, शिक्षासेवी र समतामुलक समाजका अभियन्ता चन्द्रमान (सीएम) कन्दङ्वाको स्मृतिमा आयोजित कार्यक्रमले पथरीशनिश्चरेको परिचयलाई फराकिलो बनाउने काम गर्यो । कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले मन्तव्यका बेला भने ‘पथरी त सिमसाग र निगुरो पाइने ठाउँ मात्रैजस्तो लागिरहेको थियो । यो त लुकेर बसेका अब्बल श्रष्टाहरूको ठाउँ रहेछ ।
सङ्गठित रूपमा संस्थागत भएर अघि बढेको यसखाले अभियानले मेरो गृह नगर दमकलाई पनि यसले पछि पार्ने रहेछ ।’ कार्यक्रम सकिएपछिको मसँगको भेटमा पनि उनले नगरको परिचयको पुरानो धङ्धङी हटेको र युवा पुस्ताले परिचय बदलेको सुनाए । संस्कृत विद्यालयसमेत सञ्चालनका अगुवा उमाकान्त न्यौपानेसहितका प्रसङ्ग जोडेर नगरको सिर्जनाको सम्भावना बताउँदै थिए । नगरपालिकाको उपसमितिका रूपमा कला–साहित्य प्रवद्र्धन समिति बनेको, एभरेष्ट आर्ट फ्यूजनका गतिविधिसहितका कला, साहित्य, खेलकुदसहितका सिर्जना जागरण अभियानका कुरा सुनाएपछि अबका कार्यक्रम आफूले पनि सकेसम्म नछुटाउने बताए । अनि फेरि गम्भीरतापूर्वक भने ‘अब पथरी सिमसाग र निगुरोको ठाउँमात्र रहेन ।’
सीएमलाई सदा अमर बनाइराख्नका लागि उनको सम्झनामा स्मृति कोष खडा गरेर वर्षेनी राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने कुराको महान काम थालिएको दिन थियो त्यो । कार्यक्रमका प्रमुख अतिथि थिए नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती । सीएमसँग तेह्रथुममा हुँदा सहकार्य भएको र उनको प्रभाव एवम् छत्रछायाँमा आफूले समतामुलक समाज निर्माणको दीक्षा लिएको सुनाए । सीएमको प्रभाव वर्णन गरे । उनले निकै कठिनपूर्ण जीवन सङ्घर्षका कथा सुनाएर माहोल भावुक बनाए । तेह्रथुममा सीएमको घरमा एकदिन राति १० बजे तात्कालीन बामपन्थीहरूको बैठक बस्ने निर्णय भएको रहेछ । सबैजना भेला भए ।
सीएम र श्रीमती सुशीलासहितका परिवार चुपचाप बसिरहेका थिए । बैठकमा भेला भएकालाई नबोली नै खाना खुवाउने सत्कार गरे । १२ बजेतिर बैठक सकिएपछि सबै सुते । परिवार किन यति धेरै आज गम्भीर भयो ? कतै हामीमाथि शासकले केही गर्नसक्ने चिन्ताले पो होकि भन्ने अलि खुलदुली लागेछ । बिहानको राति बिदा मागेर आफूहरू जाने बेलामा पो हिजै मृत अवस्थामा पुगेकी सीएमकी कान्छी छोरीको मलामी जानु परेको प्रसङ्ग सुनाएर गङ्गाले सीएमको महानता गहन रूपमा प्रस्ट्याए । बैठकमा आउनु अघि घरमा छोरीको निधन भएको रहेछ । तर पनि त्यो कुरा नसुनाई पूर्वनिर्धारित महत्वपूर्ण काममा कुनै व्यक्तिगत कारणले बाधा पार्नु हुँदैन भन्ने महान् सोचका कारण सीएमले त्यो कुरा भोलिपल्ट मात्रै सुनाएको ज्यादै मार्मिक प्रसङ्ग सुन्दा सीएमको अझ चुरो महानता प्रष्टियो । उनको नाममा प्रतिष्ठान खडा गर्नुपर्ने सल्लाह दिए । त्यसमा सहयोग पु¥याउने वचन पनि दिए । देशका यति कर्तव्यनिष्ठ महान् व्यक्तित्वको प्रतिष्ठानको कुराको आवश्यकता सबैलाई बोध भयो । कोषमात्रै होइन अक्षयकोष नै खडा गर्नुपर्ने जायज सुझाव थपिए ।
पहिले उनी शिक्षासेवी, चिन्तक र समतामुलक समाज निर्माणको अभियानका कर्तव्यनिष्ठ राजनीतिज्ञ थिए । पछि पथरी आएपछि साहित्यकारका रूपमा आफूलाई परिचित गराएका रहेछन् । यो कुरा गङ्गाले बेलिविस्तार लगाए । उनको ओजले आफू जसरी पनि कार्यक्रममा आएको सुनाइरहेका थिए । त्यसपछि मैले पनि सीएमलाई अझ धेरै बुझ्न बाँकी रहेको कुरा बुझेँ र उनीप्रति झनै बढी श्रद्धा जाग्यो ।
पथरी क्षेत्रमा पहिलो पटक संस्थागत विद्यालय ( बोर्डिङ) खोल्ने व्यक्तिका रूपमा चिनेसँगै साहित्य र परिवर्तनका अगुवा पनि बुझें । हामीले पथरी क्षेत्रमा साहित्यिक कार्यक्रम गर्दा उनी हाम्रा अग्रज भएर उभिन्थे । हामीलाई विशेषतः समाज परिवर्तन गर्नेखाले साहित्य लेख्नुपर्छ भन्थे । पछि म ब्लाष्ट टाइम्समा पत्रकारिता थालेदेखि उनी पत्रिकाको समेत नियमित ग्राहक थिए । मलाई सल्लाह सुझाव दिइरहन्थे र मैले पनि उनकोमा गएर साहित्य र चिन्तनका बारेमा छलफल गर्थें । त्यही विषयमा समाचार बनाउँथें । साहित्य, राजनीति र चिन्तनका विषयमा त्यो बेला कसैले सोध्नुपर्दा उनी नै सबैका गुरुका रूपमा अगुवा थिए । त्यति धेरै नबोल्ने, काममा बढी विश्वास राख्ने मान्छे थिए । प्रचारमुखी झनै थिएनन् । उनी प्रजातन्त्र सेनानी समेत भएर धेरै ठाउँमा महत्वपूर्ण योगदान गरेको कुरा धेरैले थाहै पाएका थिएनन् । पछिल्ला समयमा कतिपय साहित्यिक कार्यक्रममा पनि कम मात्रै जाने गर्थे । तर आफू चिन्तन गरिरहने र भित्रभित्रै आफू समाजका लागि चिन्तित भइरहने पछिल्ला उनका दिनचर्याले देखाउँथ्यो ।
मैले पनि उनका लागि केही गर्नु पर्छ भनेर सम्झिरहेको र छोरा रविनसँग कुरा गर्दै गरेको अवस्थामा रविनको अगुवाईमा सीएम कन्दङवा स्मृति कोष खडा भएको खबरले ज्यादै खुसी लाग्यो । यस अघि उनको स्मृतिमा क्रिकेट प्रतियोगिता पनि थालियो । भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, चिन्तन, समाजसेवा, पत्रकारिता र खेलकुद क्षेत्रका विशेषतः प्रदेश नम्बर १ का व्यक्तित्वलाई वर्षेनी सम्मान गर्नेगरी हाललाई विद्यालयले ५ लाखको कोष राखेछ । त्यसमा ४ दशक लामो साधना गरेर राष्ट्रिय चर्चा कमाएका तथा ६० वर्ष नाघेका व्यक्तित्वलाई ‘सीएम कन्दङवा राष्ट्रिय विशिष्ट प्रतिभा सम्मान’ र २ दशकदेखि साहित्यमा सक्रिय तथा २ कृषि प्रकाशित गरेर राष्ट्रिय चर्चामा पुग्दै गरेकालाई ‘सीएम कन्दङवा राष्ट्रिय युवा प्रतिभा सम्मान’ गरिने घोषणा भएको थियो ।
यस वर्ष वैशाख २६ को साहित्यिक कार्यक्रमबीच विशिष्ट लोकगायक एलपी जोशी र युवा साहित्यकार धनकुटे कान्छा सम्मानित भए । ८३ वर्षे एलपीले ६३ वर्ष अघि रेकर्ड भएको आफूलाई मुख्यरूपमा चिनाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो’ गाएर युवा मन भएको कुरा चरितार्थ पारे । धनकुटेले पनि मन छुने अभिव्यक्ति दिए । सीएमका जेठा छोरा डा.रामनारायणले विश्लेषणात्मक हिसाबले सीएमका बहुआयामिक पक्ष चरितार्थ पारे । साहित्यिक कार्यक्रम जम्यो ।
सीएम बृखमान र हेमरुपाका जेठा सन्तानका रूपमा विस. १९८५ चैत २९ गते भारतको दार्जीलिङ लिम्बू बस्तीमा जन्मिएका थिए । २०१० मा विवाह बन्धनमा बाँधिने क्रम अघि बढ्यो । महालक्ष्मी र सुशीलासँग विवाह बन्धनमा बाँधिएपछि ७ छोरा र ७ छोरीका पिता बने । पछि तेह्रथुमको तात्कालीन फाक्चुवा १ चुहानडाँडामा ०३३ सालसम्म बसोवास गरे । त्यसताका तेह्रथुमको चुहानडाँडा, म्याङलुङ, ज्यामिरे, सङ्क्रान्ति, ताप्लेजुङको सिनाम, पाँचथरको सुभाङ, धनकुटाको मुगामा पढाए । दार्जिलिङका माइला बाजे अर्थात् रन्तलाल व्राह्मणको सङ्गतमा कम्युनिष्ट बन्न पुगे । तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथरमा कम्युनिष्ट बीजारोपण गर्न उनी लागि परे । २००९÷०१० मा धनकुटा जिल्ला सदस्य भएर भूमिगत कठिन यात्रामा सङ्घर्ष गरे ।
०१६ सालमा उनको नेतृत्वमा चुहानडाँडा सल्लेरीमा विष्णु सिवाकोटीको अध्यक्षतामा अखिल नेपाल किसान सङ्घ गठन हुन गयो । उनकै नेतृत्वमा ०१९ सालमा तेह्थुम आठराईमा पार्टीको पहिलो सेल कमिटि गठन भयो । आफ्नो पेट पाल्नका लागि ठाउँ ठाउँमा सर्दै पढाउँदै गए । त्यहाँ परिवर्तनका लागि स्थानीयलाई सङ्गठितसमेत गर्दै गए । ००७ सालको प्रजातन्त्रको क्रान्तिमा उनी प्रजातन्त्र सेनानीका रूपमा लडे । उनको नेतृत्वमा त्यो बेला इलामको पशुपतिनगर र झापाको चन्द्रगढी प्रहरी थाना कब्जामा लिइयो । जीवी याक्थुम्वाको नेतृत्वमा धनकुटा कब्जा भएपछि राज्यपाल ललितबहादुर तुम्वाहाम्फेको नेतृत्वमा बनेको सरकारमा इमान्दार र कर्तव्यनिष्ट पहिचानका सीएम बन मन्त्री बने । ०३३ सालपछि तत्कालीन पथरी १ मा बसाईं झरे । त्यसपछि राजघाट दुर्गापुरी र पथरीमा शिक्षण पेशामै आफ्नो जीवन समर्पण र त्याग गरे । ०४३ सालमा एभरेष्ट बोर्डिङ खोलेर त्यसैमा निरन्तर गुणस्तरीय र जीवनवादी शिक्षामा जोड दिँदै आए ।
दार्जिलिङमा त्यसबेलाको मेट्रिक (एसएलसी) उत्तीर्ण गरे पनि यता स्नातकोत्तरसम्मका लागि अङ्ग्रेजी विषयको ट्युसन पढाएर प्रभावकारी सिकाइ प्रस्तुत गर्ने क्षमता थियो उनमा । उनी संस्कृत भाषा पनि जान्दथे । नाच्ने गाउने, दुकी तबला बजाउने कला थियो । ०६२ फागुन २५ गते ७७ वर्षको उमेरमा पथरीशनिश्चरेमा उनको पार्थिव शरीरले हामीलाई छोड्यो । तर उनको देन र कृतिले उनलाई अमर बनाइरहेको छ । उनी माक्र्सवाद, लेनिनवाद, माओवाद र जुछे विचारधारामा गहिरो र सटिक विश्लेषण गर्ने चिन्तकका रूपमा चिनिए । तात्कालीन एमालेको जिल्ला सल्लाहकार थिए ।
पार्टीबाट ४ पटकसम्म अभिनन्दित भए । पछि माओवादीको आन्दोलनको शुरुदेखि नै त्यस विचारधारमा जीवनको अन्तिम घडीसम्म आवद्ध थिए । प्रगतिशील विचार एवम् लेखनमा समर्पित उनका ४ कृति प्रकाशित छन् । राल्फा बस्ती (कथा सङ्ग्रह, ०५६), विद्रोह (कथा सङ्ग्रह, ०५७), पूर्व उज्यालो हुनुभन्दा पहिलेका गीतहरू ( उपन्यास, ०५९), पैतालाका छापहरू (उपन्यास, ०६०) र अनि धर्ति बोल्दछ (उपन्यास, ०६२) हुन् । उनको ‘माक्र्सवादी दर्शनशास्त्र’ प्रकाशोन्मुख अवस्थामा थियो । यी सबै कृतिले समग्रतामा असमानता विरुद्ध विद्रोह बोलेका छन् । उनको योगदानको चर्चा र उनका बाँकी रहेका कामलाई पूरा गर्ने अठोटमा समिति बनेको छ ।
पथरीशनिश्चरेको विभिन्न हिसाबले चिन्ने परिचय बनेको छ । पछिल्लो समयका रहस्यमय मृत्यु प्रकरणले नकारात्मक रूपमा चिनाएको भए पनि अँध्यारो हटाउने सीएमको ओजले सधैं उज्यालो जुर्मुराएको छ । अँध्यारोविरुद्ध उभिएको छ । सिमसाग र निगुरो पाउने ठाउँले पनि नगर परिचित हो । अब त्योभन्दा अघि बढेर सिर्जनाको ओजको परिचय दिन लम्किसकेको छ । तसर्थ, सिमसाग र निगुरोमात्रै पाइँदैन पथरीशनिश्चरेमा ।