धरान/ अदुवा रोप्ने सिजन करिब सकिए पनि किसानहरूले भने बीउको माग गरिरहेका छन् । किसानहरूले अदुवाको बीउको माग गरेपनि पर्याप्त पाएका छैनन् । 
 
गत साउनमा भारतले नेपालको अदुवा निर्यात सहज बनाएपछि बढी उत्पादन गर्न किसानहरूले अदुवाको बीउको माग गरेका हुन् । धरानस्थित कृषिउपज बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘अहिले अदुवा रोप्ने अन्तिम सिजन चलिहरेको छ । तर किसानहरू बढी बीउ उत्पादन गर्नका लागि अहिले रोपेर पछि त्यसैलाई बीउ बनाउनका लागि नयाँ बीउ खोजिरहेका छन् । तर बीउ अभाव छ ।’ 
 
थोक मूल्यमा यो साता अदुवा प्रतिकिलो १ सय ५५ रुपैयाँदेखि १ सय ६५ रुपैयाँसम्म रहेको छ । गत वर्ष यहीबेला भारतले नेपाली अदुवा निर्यात रोक्दा नबिकेर अदुवा कुहिएर बारीमा नष्ट भएको थियो । निर्यात सहज भएमा आउँदो जेठ–असारमा नेपाली अदुवाले थोक मूल्य प्रतिकिलो २ सय रुपैयाँभन्दा बढी हुनसक्ने भट्टराईले बताए । धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, मोरङको उत्तरी भेग, सुनसरीका पहाडीक्षेत्रमा उत्पादित अदुवा धरानको कृषिबजारमा सङ्कलन भएर वार्षिक १० हजार मेट्रिक टन भारतीय बजारमा निर्यात हुने गरेको भट्टराईले बताए ।
 
उनका अनुसार यो वर्ष अदुवाको उत्पादनमा वृद्धि हुने सङ्केत देखिएको र मूल्य बढ्दै गएमा धरानको कृषिबजारबाट मात्र करिब १ अर्ब ६० करोडको निर्यात अनुमान रहेको बताए । उनले भने, ‘अदुवाको बीउको माग बढेको देख्दा र मूल्य आकासिएको देख्दा यस वर्ष अदुवा उत्पादन र मूल्यले नयाँ रेकर्ड बनाउन सक्छ ।’  
 
धरान–२० विष्णुपादुकाका अदुवा कृषक पदम राईले मूल्य बढ्ने सङ्केत देखिएकाले लेटाङ भोगटेनी गाउँपालिकाको हर्दिया एक बिघा जमिन भाडामा लिएर अदुवा खेती शुरु गरेको बताए । उनले भोगटेनीमा २३ क्विन्टल अदुवा रोपेको बताए । उनले भने, ‘तर पर्याप्त बीउ पाउन सकिएन ।’
 
व्यापारी विनोद राईले अदुवा निर्यात सहज हुने आशाले धेरै किसानले यसैमा लगानी बढाइरहेको बताए । उनले मात्र वार्षिकरूपमा एक करोड रुपैयाँभन्दा बढीको अदुवा निर्यात गर्दै आएका छन् । पछिल्लो समयमा नेपाली अदुवा धुलाबारीमा पु¥याएर धोइपखाली गरिने त्यहाँबाट भारतको नक्सलबाडीमा प्याकेजिङ र गे्रडिङ गर्ने गरिएको छ ।