विराटनगर / मोरङ कानेपोखरी गाउँपालिका–६ की कृषक सावित्रा पराजुलीले करिब एक बिघा खेतमा विभिन्न जातका धान लगाएकी छन् । हुर्किंदै गरेको धानखेतीमा युरिया मल लिन सहकारी पसल गएको एक महिना हुन लाग्यो । ‘आज आउला, भोलि आउला भन्दै स्थानीय पसलमा मल लिन गएको एक महिना भयो’ उनले भनिन्, ‘अहिलेसम्म युरिया मल पाउन सकेकी छैन ।’ समयमै धान खेतीमा युरिया मल लगाउन नपाउँदा उत्पादनमा कमी आउने भएकोले चिन्ताले सताएको उनले बताइन् ।
सहकारी संस्थामार्फत् बिक्री हुने अनुदानको मल स्थानीय बजारका एग्रोभेट पसलबाट बिक्री हुने गरेकोले मल नपाएपछि हैरानी खेप्नुपरेकोे उनले बताइन् । सिजनअनुसार मल नपाएर हैरानी व्यहोर्ने कृषक पराजुली मात्र भने होइनन् । अहिले मोरङ, सुनसरी, झापालगायत जिल्लाका कृषकहरूको साझा समस्या हो । समयमा अधिकांश किसानले लगाएको धान खेतीको लागि युरिया मल नपाएर सास्ती खेप्नुपरेको छ । धान रोप्ने सिजनमा युरिया मल प्रशस्त हुने र गहुँ छर्ने बेलामा डिएपी मल पर्याप्त नपाइने गरेको कानेपोखरीका अर्का किसान पदमकुमार श्रेष्ठले बताए । ‘अहिले धानको सिजन हुनाले युरिया मल चाहिएको छ’ उनले भने, ‘कृषि सामग्री कम्पनीमार्फत् बिक्री हुने सहकारीले मागेजति मल दिएको छैन ।’ पर्याप्त मात्रामा मल नपाएर त्यतिकै खेती गर्दा यसपालिको उत्पादनमा कमी आउन सक्ने उनले बताए ।
धान रोपेपछि चाहिने युरिया मल अभाव हुने र गहुँ छर्ने सिजनमा चाहिएको डिएपी मल अभाव हुँदा मोरङका किसानले हैरानी व्यहोरिरहनुपरेको उनीहरूले बताए । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मलको आयात र बिक्री वितरण गर्र्दै आएको छ । तर, मल आयात र बिक्री वितरणको जिम्मा पाएका यी संस्थानहरूले आवश्यकताअनुसार मल आपूर्ति गर्न सकेका छैनन् । सिजनअनुसारको मल उपलब्ध नगराउँदा किसान समस्यामा परिरहेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका सूचना अधिकारी नवरत्न गौतमले डिएपी र पोटास मौज्दात भए पनि युरिया मल सकिएको बताए । एक महिनाभित्रमा ६ हजार मेट्रिक टन युरिया मल आउने उनले जानकारी दिए । ‘देशभरिका लागि ३० हजार मेट्रिक टन युरिया मल आयात हुने माथिल्लो निकायबाट जानकारी आएको छ’ उनले भने, ‘जसमध्ये हाम्रो कार्यालयमा ६ हजार मेट्रिक टन आउनेछ ।’ अब आउने युरिया मलले कृषकका माग पूर्ति गर्न सकिने कृषि सामग्री कम्पनीले जनाएको छ ।
गत साउनदेखि चैतसम्म १२ हजार ७ सय ६९ मेट्रिक टन युरिया मल आयात भएको उनले जानकारी दिए । आयात भएजति युरिया मल सहकारीलाई बिक्री गरेको बताइएको छ । त्यस्तै १२ हजार २ सय ७३ मेट्रिक टन डिएपी आयात भएकोमा ४ सय ५५ मेट्रिक टन बिक्री भयो । डिएपी १ हजार ८ सय ९१ मेट्रिक टन, पोटास ५ सय ३८ मेट्रिक टन मौज्दात रहेको अधिकारी गौतमले बताए । यता कृषि सामग्री कम्पनीले माग गरेअनुसारको मल नदिँदा किसानले भनेजति मल पाउन नसकेको बिक्रेताको भनाइ छ ।