ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ११ फावाखोलाका भेडापालक कमल विष्ट र गोपाल विष्टको गत चैत महिनामा मात्रै १० ओटा भेडा निगाले बाघले गोठमै आएर खायो । ५ ओटा माउ भेडा, ३ ओटा छरौती पाठा र २ ओटा थुँबालाई बाघले खाँदा कम्तिमा पनि उनीहरूको १ लाख बढी नोक्सान भयो । उता सिरिजङ्घा गाउँपालिकाको तेल्लोकका गाउँमै पसेको निगालेले १८ ओटा खसी बाख्रा खायो । यसरी बाघजस्तै अन्य जङ्गली जनावरको आक्रमणबाट पशुपालक किसानको बर्सेनी लाखौँको क्षति हुँदै आएको छ ।
 
उता कञ्चनजङ्घा संरक्षण क्षेत्र आसपासका गाउँमा समेत जङ्गली जनावरले दुःख दिने गरेका छन् । घुन्सामा मात्र गत वर्ष ३५ ओटाभन्दा बढी याक तथा चाँैरीलाई तिव्बती ब्वाँसोले मारेको स्थानीय जनप्रतिनिधि छेतेन शेर्पाले बताए । प्रायः जङ्गल छेउका फाँटहरूमा राखिने गोठमा जङ्गलबाट आएका वन्यजन्तुले खाने गरेका छन् । ‘प्रायः जङ्गलमै गोठ राख्नुपर्छ, बर्सेनी जङ्गली जनावर आएर खाइदिन्छ’ भेडापालक कृषक कमल विष्टले भने, ‘कहिलेकाहीँ त गोठालालाई नै आक्रमण गर्छ ।’ बर्सेनी लाखौँको क्षति हुँदा पनि कहीँ कतैबाट क्षतिपूर्ति नपाएको भेडापालकको गुनासो छ ।
 
संरक्षण क्षेत्रबाट आउने वन्यजन्तुले गाउँका पशुचौपायालाई आक्रमण गरे क्षतिपूर्ति दिनका लागि कोष निर्माण गरिएको भए पनि निश्चित कार्यादेश भएकाले क्षतिपूर्ति पाउन सजिलो नभएको किसान बताउँछन् । अन्य क्षेत्रमा यस्तो घटना भए वन कार्यालयले पनि आर्थिक सहयोग गर्ने गरेको छ । तर यसको प्रक्रियाको विषयमा कृषकलाई जानकारी नै छैन । बढ्दो मानव बस्तीका कारण हो–हल्ला साथै विकास निर्माणका काम गर्दा जङ्गली जनावरको बासस्थान खण्डित भएपछि खतरनाक जङ्गली जनावरहरू गाउँ पस्न थालेको सिम्बुका स्थानीय प्रेमबहादुर सेम्बू बताउँछन् । जिल्लाको सेलेले पास, वारपारे, हर्कटे, हेल्लोक, अम्जिलासा, सेकाथुम, नामसालिङ, दोभाने, बैसाके, सोलीलगायतका स्थानमा गोठ राख्ने गरिन्छ । तर यी क्षेत्रमा जङ्गली जनावरले असाध्यै दुःख दिने गरेको गोठ सञ्चालक विष्टले बताए । गोठमै आएका जङ्गली जनावरले कतिलाई मारेर खान्छन् भने कतिलाई आक्रमण गरेर घाइते बनाई छोड्छन् । 
 
यसरी घाइते भएका पशुलाई उपचार गर्नसमेत ज्ञान तथा तालिम गोठालालाई छैन । कतिपय पशुपालकलाई त पशु चिकित्सक हुन्छन् भन्ने पनि थाहा छैन । पापुङका पशुपालक मिलनदोर्जी शेर्पाले आफूले कहिले पनि पशुलाई उपचार गरेको नदेखेको अनुभव सुनाउँछन् । जङ्गली जनावरले आक्रमण गरे वा अन्य कुनै रोग लागे त्यसको उपचार स्थानीय तरिकाबाट नै गर्ने गरेको शेर्पा बताउँछन् । यसरी बिना विज्ञता जस्तो पायो त्यस्तै उपचार गर्दा प्रायः चौपायाहरू मर्ने गरेको अर्का पशुपालक लाक्पातेन्जी शेर्पाले सुनाए । बर्सेनी यतिका धेरै कृषकको क्षति हुँदा पनि कृषकलाई सान्त्वना स्वरूप क्षतिपूर्तिको व्यवस्था गर्ने कुनै पनि निकाय छैनन् । भएका पनि प्रभावकारी नभएको अगुवा किसानको भनाइ छ ।
 
वन्यजन्तुको आक्रमण साथै खर्क अभावका कारण पुस्तौँदेखि गरिँदै आएको पशुपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । उत्तरपूर्वी क्षेत्रमा पाँच दशक लामो समय भेडीगोठ सम्हालेर बसेका सन्तवीर भट्टराईले केही वर्षअघि खर्कको अभावले भेडीगोठ छाडेको बताए । भेडाहरूलाई असोजबाट तल्लो क्षेत्रमा झारिन्छ । माथिल्लो भेगमा हिउँ पग्लन थालेपछि फेरि वैशाखमा गोठहरू माथिल्लो क्षेत्रतर्फ लगिने भेडापालक मानबहादुर विष्टले बताए । एउटा चोकमा कम्तीमा २०० भन्दा बढीको सङ्ख्यामा भेडा हुन्छन् । राम्रो घाँस भएको क्षेत्रमा पनि बढीमा एक हप्तादेखि दश दिनसम्म मात्र भेडा राख्न सकिन्छ । तर दिन प्रतिदिन विभिन्न रोग लाग्ने र गोठालो नपाइने समस्याले पनि गोठ मासिँदै गएका छन् ।