विराटनगर/ उच्च कुल घरानाका मानिसले शौखका लागि खरायो पाल्ने गर्दछन् । अहिले पनि कतिपयको घरको आगनमा खरायो दौडने गर्दछन् । अब सोखसँगै खरायो पालन व्यवसायिक बन्न थालेको छ । मोरङ कटहरी गाउँपालिका–३ का २७ वर्षीय सञ्जय राजवंशीले व्यवसायिक रूपमा खरायो पालन शुरु गरेका छन् । दुई वर्ष अघि शुरु गरेको खरायो पालन अहिले आम्दानीको दरिलो माध्यम बनेको छ ।
नेपालमा पाइने विभिन्न चार प्रजातिको खरायो बेचेरै चौधरीले मनग्ये आम्दानी गरिरहेका छन् । इटहरीस्थित खरायो सङ्कलन केन्द्रमा सामान्य ज्ञान र तालिम लिएपछि राजवंशीले १५ वटा बाट खरायो पालन शुरु गरेका हुन् । ‘एञ्जल कृषि फर्म’ दर्ता गराएर खरायो पालन शुरु गरेका राजवंशीले अहिले झण्डै एक सय वटा खरायो उनको फर्ममा छ । २२ हजार रुपैयाँमा खरायो राख्ने खोर निर्माण गरेर खरायो पालन शुरु गरेको उनले बताए । करिब २ सय क्षमताको खरायो राख्ने खोर बनाएका चौधरीले पालेको चिचिल्ला, ह्वाइट न्युजील्याण्ड, क्यालिफोर्निया र डज जातका छन् । ‘नेपालमा पाइने यी प्रजातिका खरायो हुन्,’ उनले भने, ‘यी खरायो वयस्क हुँदा ४ देखि ५ केजीसम्म तौल हुने गर्दछ ।’
व्यवसायिक रूपमा पालिएको खरायोले प्रत्येक १ महिनादेखि ४० दिन भित्रमा बच्चा जन्माउने गरेको उनले बताए । ‘एउटा खारयो माऊ बन्न ६ महिना पाल्नु पर्छ,’ उनले भने, ‘त्यसपछि बच्चा जन्माउँछ । खरायोले एक पटकमा १२ वटासम्म बच्चा जन्माउने गर्दछ । ‘मेरोमा पालेका खरायोले पनि ८ देखि ११ वटासम्म बच्चा जन्मायो । एक महिनासम्म माऊले दूध खुवाएर हुर्काउछ अनि माऊबाट छुट्याएर घाँस खुवाएर व्यवस्थित खोरमा ती बच्चा राखिन्छ । यसरी हुर्काएको खरायो ६ महिनामा मासुका लागि उपयुक्त मानिन्छ,’ उनी भन्छन् ।
राजवंशीले बाउ खरायो राख्ने छुटै कोठा बनाएका छन् भने हुर्किंदै गरेको बच्चा खरायो र भाले खरायो पनि छुट्टाछुटै स्थानमा राख्ने गर्दछन् । उनको फर्ममा अहिले २२ वटा माउ खरायो रहेको छ । ‘खरायोको सङ्ख्या जति बढायो, उति नै उत्पादकत्व बढ्छ,’ उनले भने, ‘खरायोले प्रशस्तै बच्चा जन्माउने भएकाले व्यवसाय विस्तार गर्न ठूलो पुँजी खर्चिनु पर्दैन । खरायोको मासुको माग बजारमा बढ्दै छ । किसानले उत्पादन गरेको खरायोले बजार नपाउने अवस्था छैन ।’ आधुनिक खरायो पालनका लागि ठूलो प्राविधिक ज्ञान आवश्यक पर्दैन । तर, आधारभूत जानकारी र परामर्श लिनेहरू मात्रै व्यावसायिक रुपमा सफल हुन सक्ने सञ्जय बताउँछन् । उनका अनुसार खरायो पालनका लागि उपयुक्त ठाउँ गाउँघर नै रहेको बताए ।
‘जहाँ घाँस सहजै उपलब्ध हुन्छ र दानाका लागि स्थानीय कृषिजन्य उत्पादन पर्याप्त हुन्छ,’ उनी भन्छन्,‘आहाराका लागि गाउँघरमा उपलब्ध हुने घाँस, मकै, भटपास, पिठो, कनिका, पिनालगायत प्रभावकारी हुन्छन् ।’ राजवंशीले पालेको खरायो मासु प्रतिकेजी १ हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् भने प्रतिगोटा १ हजार ८ सय रुपैयाँले रहेको छ । खरायो पालन व्यवसायबाट उनले मासिक खर्च कटाए २० हजार रुपैयाँ आम्दानी गर्दै आएका बताए । भालेको मूल्य कम परे पनि पोथीको मूल्य भने धेरै हुन्छ उनले भने ‘महिनामा २५ देखि ५० वटा बिक्री हुन्छ ।’
थोरै लगानीमा मनग्ये आम्दानी गर्न सकिने भएपछि चौधरीले खरायो पालन व्यवसाय हेर्नेको दिनहुँ अहिले भीड लाग्ने गरेको छ । उनको सिको सिकेर रङ्गेली, जहदा, अमरदहलगायतका कृषकहरूले पनि खरायो पाल्न शुरु गरेको बताए । राजवंशीले पालन गरेको खरायो रेखदेख आमा हेमसरदेवीले गर्दै आएकी छिन् । ‘आमाले खरायोको रेखदेख गर्नुहुन्छ,’ सञ्जयले भने, ‘उत्पादन भएको खरायोको बजार आफूले हेर्ने गरेको छु । स्थानीय बजारमा सहज रूपमा खरायो बिक्री हुने गरेको छ ।’
मासु पौष्टिक र स्वस्थकर
खरायोको मासु निकै पौष्टिक हुने भएकाले पनि बिस्तारै यसको माग बढ्दै गएको छ । यसको मासु पौष्टिक हुनुका केही कारण छन् । यो मासु सेतो हुन्छ, जुन मानव स्वास्थ्यका लागि रातो मासुभन्दा निकै लाभदायी मानिन्छ ।
यसमा प्रोटिनको मात्रा बाख्रा, कुखुरा र बङ्गुरको भन्दा बढी हुन्छ । चिल्लोपना पनि अन्यको तुलनामा खरायोको मासुमा कम हुन्छ । क्यालोरी र कोलेस्ट्रोलको मात्रा अन्यको भन्दा कम हुनु पनि खरायोको मासुको विशेषता हो । त्यसैले यो मासु मुटुरोगी, मधुमेह, दम, कुपोषणग्रस्तका लागि उपयुक्त हुन्छ । खेलाडी, गर्भवती, सुत्केरी र वृद्धवृद्धाका लागि यो निकै पोषिलो मानिन्छ ।
स्थानीय सरकारले हेरेन
खरायोको माग अधिक रहेकाले थप विस्तार गर्ने योजनामा चौधरी रहेका छन् । उनले साथीसँग मिलेर खरायो क्याफे खोल्ने तयारी गरेको बताए । आफूसँग पर्याप्त लगानी भएपछि साथीसँग मिलरे खरायो क्याफे खोल्ने योजना बनाएको उनले बताए । जहाँ खरायाको विभिन्न परिकारहरू पाइने उनी बताउँछन् । ‘स्वदेशमा रोजगारी नपाएर दैनिक सयौंको सङ्ख्यामा युवाहरू विदेश पलायन भएका छन्,’ उनले भने, ‘स्वदेशै युवाहरूले सञ्चालन गरेको कृषि फर्मलाई स्थानीय सरकारबाट कुनै सहयोग भएको छैन ।’ स्थानीय सरकाले युवाहरूले सञ्चालन गरेको कृषि फर्मलाई हौसला बढाउने कुनै प्रकारको सहयोग अहिलेसम्म नगरेको उनको भनाइ छ ।