बिर्तामोड/ एक वर्षअघि तामझामका साथ बङ्गलादेश, भारत र नेपालबीच शुरु गरिएको त्रिदेशीय बस सेवाको परीक्षणपछि अलपत्र बनेको छ ।
बङ्गलादेश, भारत र नेपालले एक–अर्कामा स्थलमार्गबाट जोड्नका लागि बससेवा कोशेढुङ्गा भएको बताइएको थियो । तर, एक वर्षअगाडि सफल परीक्षण भएको उक्त बस सेवा अहिले एकादेशको कथाजस्तो बनेको छ । बससेवा निरन्तर दिन नसक्ने भन्दैै सोही समयदेखि बन्द भएको छ । बस सञ्चालनमा दुवै देश गम्भीर बन्न नसकेकाले सञ्चालनमा आउन नसकेको नेपाल–बङ्गलादेश चेम्बर्स अफ ट्रेडर्सका अध्यक्ष यादव पौडेलले बताए । बसको रुट ढाका– बङ्गलाबन्धु –सिलिगुडी– काँकडभिट्टा हुँदै काठमाडौँ पुग्ने तय भएको थियो ।
ढाकाबाट आएको बसले काठमाडौँसम्म पुग्दा करिब १ हजार २ सय किलोमिटरको दूरी पार गर्नुपर्छ । बङ्गलादेश, भुटान, भारत र नेपालले सिधा यात्रुबसको आवागमनका लागि सम्झौता गरे पनि परीक्षणमा भुटान सहभागी भएको थिएन । त्यो समयमा नेपाल–बङ्गलादेशबीच क्षेत्रीयस्तरमा रेलवे सेवासमेत सञ्चालनको सम्भाव्यतामा अध्ययन भएको थियो । त्यसमा पनि थप काम अघि बढ्न सकेको देखिँदैन । बङ्गलादेशको जमुना पुलले भार नथाम्ने हुँदा रेलवेको विषयमा थप बहस नै नभएको नेपाल–बङ्गलादेश चेम्बर्स अफ ट्रेडर्सका संस्थापक पन्नालाल जैनले बताए ।
दुईदेशबीच हवाई सेवा सञ्चालनको सम्भाव्यता अध्ययन भएको पनि एक वर्ष बढी बितेको छ । परराष्ट्र मन्त्रालय र नेपाल–बङ्गलादेश चेम्बर्स अफ ट्रेडर्सको संयुक्त टोलीले हवाई सेवा विस्तारबारे अध्ययन गरेको थियो । अध्ययनपश्चात् परराष्ट्र मन्त्रालयका उपसचिव डम्मरुवल्लभ पौडेलले नेपाल–बङ्गलादेशबीच हवाई सेवाको प्रचुर सम्भावना रहेको बताएका थिए । अध्ययन टोलीले बङ्गलादेशको सहिदपुर–भद्रपुर र सहिदपुर–विराटनगरबीच हवाई सेवाको सम्भावना रहेको निष्कर्ष निकालेको थियो ।
अध्ययन टोलीमा सहभागी नेपाल–बङ्गलादेश चेम्बर्स अफ ट्रेडर्सका संस्थापक जैन बङ्गलादेश हवाई सेवा सञ्चालनका लागि इच्छुक रहेको बताउँछन् । ‘यस विषयमा नेपाल सरकारले प्रक्रिया अगाडि बढाउन आवश्यक छ’ जैनले भने, ‘बङ्गलादेशको सहिदपुर विमानस्थलमा पूर्वाधार पनि तयार भइसकेको छ ।’ सहिदपुरबाट विराटनगर र भद्रपुरसम्म हवाई सेवा जोडिए १५ मिनेटमा नेपालबाट बङ्गलादेश जान सकिन्छ । हवाई सेवा सञ्चालन नहुँदा नेपालदेखि बङ्गलादेश सहिदपुरको दूरी ३ सय ५० किलोमिटर रहेको छ ।
हवाई सेवाले जोड्नसके पर्यटन प्रवद्र्धनसँगै नेपाली वस्तुको निर्यात पनि बढेर जाने मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए । बङ्गलादेश र नेपालबीचको सोझो हवाई सेवा ढाका–काठमाडौँ मात्रै रहेको छ । ढाकाबाट करिब चार सय किलोमिटर उत्तरमा पर्ने सहिदपुर विमानस्थल भारत–बङ्गलादेश नाका फूलबारी–बङ्गलाबन्धुबाट १ सय ४४ किलोमिटरको दूरीमा छ । सहिदपुर बङ्गलादेशका ५ अन्तर्राट्रिय विमानस्थलमध्ये एक हो । भारतप्रतिको परनिर्भरतालाई घटाउनका लागि पनि चन्द्रगढी विमानस्थलबाट नेपाल–बङ्गलादेशवीच हवाई सेवा अत्यावश्यक रहेको व्यवसायीहरू बताउँछन् । सन् १९७६ देखि नै बङ्गलादेशबाट पारवहन सुविधा लिने समझदारी भएको थियो । सन् १९९६ देखि फूलबारी–बङ्गलाबन्धु हुँदै व्यापार जारी छ ।
केही समयअघि चन्द्रगढी विमानस्थलको रात्रीकालीन सेवाको उद्घाटन गर्न झापा आएका प्रधानमन्त्री केपीशर्मा ओलीले भद्रपुर विमानस्थलबाट बङ्गलादेशको सहिदपुर विमानस्थलमा चाँडै हवाई सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीले पूर्वको पर्यटन विकासको मुख्य आधार भद्रपुर–बङ्गलादेशबीच हवाई सेवा रहेको बताउँदै भद्रपुर विमानस्थलको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रीको निधनले पनि हवाई सेवाका विषयमा थप पहल हुन नसकेको चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चूडालको भनाइ छ । विमानस्थललाई स्तरोन्नति गर्र्दै अन्तर्राष्ट्रिय बनाउन र चन्द्रगढी–सहिदपुर हवाई सेवा सञ्चालनमा ल्याउन सरकारले पहल गरे सम्भव रहेको चूडालको भनाइ छ ।
चन्द्रगढी विमानस्थलको स्तरोन्नति नभएसम्म अन्तर्राष्ट्रिय उडान भर्न समस्या रहेको पर्यटन मन्त्रालयका सह–सचिव सुरेश आचार्य बताउँछन् । अहिले विमानस्थलको स्तरोन्नति गर्ने काम भइरहेको उनले बताए । पछिल्लो समयमा झापाको चन्द्रगढी विमानस्थलमा नागरिक उड्डयन कार्यालयले विमान कम्पनीलाई काठमाडौँ बाहेकका शहरमा उडान भर्न अनुमति दिएको छ । तर, आन्तरिक उडान भर्न विमान कम्पनीले आनाकानी गर्दै आएको चन्द्रगढी विमानस्थलका प्रमुख चूडाल बताउँछन् ।
पोखरा, भैरहवामा उडान भर्न ट्राभल एजेन्सीले अनुरोध गर्दै आए पनि विमान कम्पनीले आनकानी गर्ने गरेको चूडालको भनाइ छ । विमान कम्पनीले बजार नबुझी एकै पटक नाफा खोज्नुले आन्तरिक उडानमा समस्या हुने गरेको चूडालले बताए । उनले भने, ‘पोखरा, भैरहवा जाने यात्रुहरू धेरै भए पनि विमान कम्पनीको आनकानीका कारण सेवा दिन सकेका छैनौँ ।’ भारतबाहेकका देशमा स्थल र हवाईमार्गबाट सेवा शुरु गर्न तथा आन्तरिक उडान शुरु गर्न सकेमात्र सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पूरा हुन सक्ने बताइएको छ । सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य लिएको छ ।
































