बिर्तामोड । पानका पारखीहरूको लागि ‘काली बङ्ला जहाजी’ लोकप्रिय पत्ता हो । चलन चल्तीमा यसलाई ‘बङ्ला पत्ता’ भन्ने गरिन्छ । पान पारखीहरूको लागि बङ्ला पत्ता लोकप्रिय भए पनि नेपालमा भने यसको उत्पादन हुने गरेको थिएन । 
 
नेपालमा उत्पादन नभए पनि बिक्रेताले भारतबाट ल्याएर नेपालमा यो पत्ता बिक्री गर्दै आएका थिए । पछिल्लो समयमा झापामा यसको व्यवसायिक उत्पादन शुरु भएपछि बङ्ला पत्ताको लागि भारतमा निर्भर हुनुपर्ने अवस्थाको करिब करिब अन्त्य भएको छ । झापाको अर्जुनधारा–१० कालीस्थानका युवा सुवास खरेलले बङ्ला पत्ताको व्यवसायिक उत्पादन शुरु गरेका हुन् । दुई वर्ष अघिदेखि उत्पादन शुरु गरेको भए पनि त्यसले बजारको मागलाई धान्न नसकेको उनी बताउँछन् । भारतको कलकत्ताबाट बिरुवा र प्राविधिकसमेत ल्याएर शुरु गरेको बङ्ला पान खेती झापा जिल्लाका लागि मात्र होइन, नेपालमै पहिलो र नमूना खेती भएको खरेलको दाबी छ । नेपालमा खाइने विभिन्न स्वादका पानका पत्ता भारतबाट आयात हुन्छ । 
 
भारतको बजारमा निर्भर रहेको पत्ताको खरेलले नेपालमै उत्पादन गरेर पहिलो चरणको बिक्री समेत गरिसकेको बताएका छन् । व्यवस्थापन सङ्कायको स्नातक चौथो वर्षमा अध्ययन गरिरहेका खरेलले पढाइ व्यवस्थापन सङ्कायको भए पनि कृषि कर्म गर्ने सोच बनाएर पान खेतीको शुरुवात गरेको बताए । उनले पान खेतीबाट आर्थिक समृद्धिको सम्भावना देखेको बताए । ‘अरु कृषि उत्पादनका लागि बजारको समस्या सुन्ने गर्छु तर मलाई पान बेच्न न कसैलाई गुहार्नु पर्छ, न त हाटबजार धाउनु नै पर्छ, घरमै व्यापारी आएर लैजाने गरेका छन्’ खरेलले भने, ‘जाडो सिजनमा प्रतिपत्ता रु. ५ र गर्मी याममा प्रतिपत्ता ३ रुपैयाँका दरले बेच्ने गरेको छु ।’ बजारमा ताजा पानको माग अत्यधिक रहेको हुँदा बजार मागअनुसार यसको खेती विस्तार गर्ने योजना रहेको उनी बताउँछन् ।
 
शुरुमा भारतबाट १ हजार १ सय बिरुवा ल्याएर खेती गर्दा ५ लाख लगानी भएको बताउँदै उनले सरकारले कृषिमा अनुदान दिने गरेको समाचार मात्र सुनेको बताए । बरु पानको बिरुवा ल्याउँदा भन्सारमा चर्काे शुल्क तिरेको अनुभव खरेलसँग छ । कलकत्ताबाट बिरुवा ल्याउँदा प्रतिबिरुवा १५ रुपैयाँ परेको बताउँदै खरेलले एक वर्षमा १० हजार बिरुवा उत्पादन गर्न सफल भएको बताए । 
 
यो जातको पान खेती गर्नका लागि मुख्य गरी बिरुवाका लागि पिना प्रयोग गर्नुपर्ने उनले बताए । आवश्यकताअनुसार सिंचाइसँगै भिटामिन दिनुपर्ने जानकारी उनले दिए । साधारणतया झापा जिल्लामा सुपारी, आँपलगायतमा पान खेती गर्ने गरिएको  छ । यो जातको पान खेतीका लागि बाँसको थाँक्रो लगाउनुपर्ने उनी बताउँछन् । खरेलले आफूले उत्पादन गरेको पानको पत्ताले बजारको माग धान्न नसकेकाले अन्य कृषकलाई पनि सो खेती गर्न आग्रह गरेका छन् ।