झापाको दमकमा सम्पन्न ३ दिने बृहत् वाङ्मय सङ्गोष्ठीले प्रदेश नम्बर १ मै एउटा तरङ्ग पैदा गरेको छ । सृजनशीलताको महत्वलाई राम्ररी उजागर गरेको छ । जसबाट अन्य पालिकाहरूमा पनि सृजनशील गतिविधि सञ्चालन गर्ने कुराको चेत खुल्ने केही आभास भएको छ । अर्थात् भौतिक विकास मात्र विकास ठान्ने सोचमा केही न केही परिवर्तन आउने तरङ्ग तरङ्गित भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र दमक प्रज्ञा प्रतिष्ठानले जुटाएको ०७५ चैत १७ देखि १९ सम्मको कार्यक्रम विचार मन्थन, चिन्तन र मनन्का हिसाबमा केन्द्रित र महत्वको अभियान अंश बन्यो । कार्यपत्रका प्रस्तुतिहरू अनि जातीय साँस्कृतिक झलक र त्यस क्षेत्रका अगुवाको सम्मान कार्यक्रमको ओज थियो । अर्कातर्फ देशकै प्रमुख कार्यकारी पदमा आसिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सृजना क्षेत्रको प्रोत्साहन गरेको प्रसङ्गले पनि यस कार्यक्रमको महत्व झल्किएको छ ।

सरकार प्रमुखले साहित्यिक तथा साँस्कृतिक कार्यक्रमहरू उद्घाटन गर्न‘ अर्थात् त्यसलाई महत्व दिने कुराको चलन नभएको अवस्थामा दमकको यो कार्यक्रमले राजनीति गर्नेमाझ पनि तरङ्ग ल्याएको छ । सरकार सञ्चालन गर्नेमाथि पनि चेत खुलाएको छ । मुलुकको साँच्चैको विकासका लागि आवश्यक सृजना पक्षको विकासमा यसले तत्–तत् योजना निर्माणका लागि केही फरक पार्ला । अन्त कति फरक पार्ला, त्यो हेर्न बाँकी छ । तर दमक र त्यसका आसपासका क्षेत्रमा भने यसको प्रभावको छिटा देखिन थालेको छ ।

देशका अगुवा कवि, साहित्यकार, विद्वानहरूको जमघटले मन निकै खुशी भयो । लामो समय भेटघाट नभएकाहरूसँग पनि भेटघाट नवीकरण भयो । कार्यक्रम सकेपछि नेपाली छन्द कविता तथा बहर गजलका युवा अभियन्ता डा. देवी नेपालले अगुवाइ गर्दै आसपासका पालिका प्रमुखसँग भेटघाट बढाए । स्थानीय साहित्यकारहरूसँग परामर्श चलाए । आफू झापाली भएकाले पनि आफ्नो गृहजिल्लामा भएको सृजनशीलताको तरङ्ग ल्याउने ३ दिने कार्यक्रमपछि पालिकास्तरमा सृजनाको दिगो विकासका लागि दिगो योजनाको सोच सञ्चार गराए । नगरपालिका र गाउँपालिकामा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि एउटा विशेष विभाग वा प्राज्ञिक समिति गठन गर्ने विषय उठाएर छलफल चलाए ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपाल, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल र उपाध्यक्ष मीरा भुर्तेलसँग भेटी छलफल चल्यो । उनीहरू सकारात्मक देखिए । अबको आर्थिक वर्षमा बन्ने बजेटसँगैको बजेट अनि पालिकास्तरमा सृजना क्षेत्रको प्रवद्र्धनको समितिको कुरामा चासो बढ्यो ।

झापाका कतिपय पालिका प्रमुखहरू सङ्गोष्ठीमै पनि सहभागी थिए । जसका कारण उनीहरूमा प्रत्यक्ष प्रभाव ग्रहण भयो । सङ्गोष्ठीमा प्राज्ञसभा सदस्य हरिश्चन्द्र लावतीले ‘किरात मुन्धुमको दार्शनिक चिन्तन’, राजेश्वर थापाले ‘कोशी प्रस्रवण क्षेत्रको हिमाली जनजीवन’, प्रा.डा. सोमप्रसाद खतिवडाले ‘कोशी प्रस्रवण क्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू’, डा. डिल्ली प्रसाईले ‘नेपाल उपत्यका र राजवंशी समुदायको साँस्कृतिक अन्तरसम्बन्ध’, उत्तम भट्टराईले ‘सन्थाल जातिको संस्कृति र लोक साहित्यको विशेषता’ र डा. सोमबहादुर धिमालले ‘धिमाल लोकसाहित्यको वर्तमान स्वरूप’ विषयक कार्यपत्र प्रस्तुत गरे । सन्थाल, धिमाल, लिम्बू जातिको मौलिक सँस्कृति प्रस्तुत भए ।

नेपालका प्रतिनिधि गजलकारका गजलले साहित्यको बहुचर्चित र धेरैले लेख्ने विधाको प्रभावकारिता प्रष्ट्यायो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको संयोजनमा साहित्यका अगुवा डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. टङ्क न्यौपानेसहित शशी लुमुम्वु, लक्ष्मी उप्रेतीसहितका १ दर्जन बढी प्राज्ञ सदस्यहरू अन्तरक्रियामा सामेल थिए । सृजनशील मन भएका दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले कार्यक्रमका लागि उत्साह भरेका थिए । यसअघिका कार्यक्रममा समेत दमक नगरपालिकाले सघाएको थियो । नगरकै उपसमितिका रूपमा दमक प्रज्ञा प्रतिष्ठान गठन गराएको थियो ।

प्रज्ञा प्रतिष्ठानको प्रदेश समिति निर्माणका लागि ठाउँ –ठाउँमा छलफल एवम् अन्तरक्रिया पनि भएका छन् । प्रदेश १ का लागि प्रा.डा. टङ्क न्यौपानेलाई संयोजक बनाएर अध्ययन समिति खडा गरिएको थियो । सृजना क्षेत्रको विकासका लागि प्रदेश नम्बर १ का केही पालिकाहरूले उपसमिति निर्माण गरेका छन् । यसमा सबैभन्दा पहिलोमा पर्छ, बेलबारी साहित्य विकास समिति । त्यहाँ त स्थानीय सर्जकहरूको प्रभावमा गाविस हुँदाताका नै समिति बनाएर कार्यक्रम प्रदान गरिएको थियो । त्यसपछि इनरुवामा प्रज्ञा प्रतिष्ठानकै मोडेलमा समिति बन्यो । अनि पथरीशनिश्चरेमा पनि कला साहित्य प्रवद्र्धन समिति खडा भयो । त्यहाँ उपसमिति मातहतमा ४ वटा विभाग छुट्याइयो ।

यस प्रकारको सृजना तरङ्ग सबैतिर तरङ्गित हुनसक्दा सृजनाको मर्म उजागर हुने र यसको महŒवले ठाउँ पाउने थियो । असल नागरिक बनाउन, असल मन सृजना गर्न, सकारात्मक चिन्तन गर्न, अनि समतामूलक समाजको निर्माण गर्ने मूल जरोका रूपमा सृजनशीलता नै रहन्छ । चेतनाको विकासले मात्र भौतिक विकासलाई दिगो बनाउँछ, मानवीयता र पहिचानको संस्कृति जोगाउँछ, बौद्धिकता सृजना गर्छ । चेतनाको विकास चाहिँ हुन पायो भने मानिस आफैले भौतिक विकास अघि बढाउन सक्छ । तसर्थ पूर्वमा तरङ्गित भएको सृजनाले प्रत्येक पालिकामा तरङ्ग ल्याओस् । अनि मनले बाँच्ने समाज निर्माण गर्नेे महान् अभियानको प्रारूप होस् । जहाँ सृजनशील मन बोकेर सृजनशील बस्ती बाँच्न पाइयोस्, मुक्त हाँसो हाँस्न पाइयोस् ।