केही वर्षअघिसम्म देशका असङ्ख्य गाउँ तथा केन्द्रका स्थानहरूमा ‘हाटबजार’ लोकप्रिय शब्दभित्र पथ्र्यो । यिनै हाटबजार नै दैनिक उपभोगका सामानदेखि लिएर मनोरञ्जनकोे स्थलसम्म थिए । हाटबजार लाग्ने ‘बार’ लाई रोजेर देशका धेरै स्थानको नामकरण गरेको पनि पाइन्छ । यस्ता हाटबजारको कुनै सिमाना थिएन । बगर, चौर जता पनि बसाइन्थ्यो । पछि त्यही प्रख्यात नामको स्थान रहन जान्थ्यो । सातामा एकपटक वा दुई पटक, १५ दिन, महिनामा लाग्ने बजारलाई हाटबजार भनिन्थ्यो भने वर्ष दिनमा लाग्ने बजारचाहिँ मेलाको नामबाट बुझिन्थ्यो । यो क्रम अझै पनि चलनचल्तीमै छ ।

मेला तथा महोत्सव भने अलिक ठूलै प्रकृतिको हन्छ । मान्छेको भीड थामिनसक्नु हुन्थ्यो । सामान किन्ने र बेच्नेहरू पनि त्यही दिनको प्रतीक्षामा हुन्थे भने फुर्सदिला युवाहरू हाटबजार घुमौंला, शनिबारे हाटैमा गीत गाउँदै केन्द्र पुग्थे । त्यहीँबाट उनीहरूको माया पिरती शुरु हुन्थ्यो । ओखलढुङ्गाका साथै रामपुर, रुम्जाटार, खोटाङको दिक्तेल बजार, बुइपा, उदयपुरका गाईघाट, कटारी, बेल्टारलगायतका ठाउँमा मुख्य आर्थिक कारोबार गर्ने एकमात्र स्थानका रूपमा हाटबजार नै थियो । किसान आफूले उत्पादन गरेका तरकारी तथा खाद्यान्न बोकेर बजारै पुग्थे । रामेछापमा त हाट लाग्ने बिहीबारको दिन आसपासका सबै विद्यालय बिहान मात्र पढाइ हुन्थ्यो, जुन अहिलेसम्म पनि कायमै छ । ऐतिहासिक महत्व बोकेका हाटबजार व्यवस्थित गर्नका लागि स्थानीय सरकार अर्थात् गाउँपालिका वा नगरपालिकाले सबभन्दा महŒवपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

हरेक गाउँपालिकाले हाटकर असुली गर्ने गरेका छन् । तर, कुनै पनि सुविधा दिएका छैनन्, जसले गर्दा हाटबजारमा व्यापारीहरू जान छाड्दै छन् । यदि सामग्री बेचबिखन गर्नका लागि व्यवस्थित टहरा बनाउने हो भने हिलो धूलो तथा अस्त–व्यस्तताका कारण बजार आउन छाड्नेहरू पुनः शुरु गर्नेछन् । सरकारले बजार विकास निर्देशनालय स्थापना गरेको छ । यसले हाटबजार व्यवस्थित गर्ने जिम्मेवारी पाएको छ । तर, यसको भूमिका निष्प्रभावी छ । यसलाई प्रभावकारी बनाउनु जरुरी छ । बजारका लागि चाहिने पर्याप्त जग्गाको अभाव, भइरहेको जग्गामा पनि विभिन्न समयमा भएको मानव अतिक्रमण, स्थानीय निकायबाट बजार विकासका लागि पहल कदमी नलिदा बजारको स्तर उक्सिन नसकेको हो ।

अहिले पनि देशका असङ्ख्य स्थानमा हाटबजार र मेला लाग्ने गर्छ । गाउँका उत्पादन र सीपदेखि शहरका उत्पादनको बजारीकरणमा यस्ता बजारले अहम् भूमिका निर्वाह गरिरहेको छ । तर, हिजोआज यस्ता हाटबजार सङ्कटमा पर्दै गएका छन् । कुनै बेला खुट्टा राख्नसमेत नपाइने बजार हिजोआज खाली–खाली हुन थालेको अवस्था छ ।

हाटबजारको इतिहास
हाटबजार कहिलेदेखि शुरु भयो त भन्ने कुनै स्पष्ट र ठोस प्रमाण भेटिँदैन । तर, केही ऐतिहासिक तथ्यलाई हेर्ने हो भने नेपाल एकीकरणसँगसँगै यसको शुरुवात भएको मान्न सक्ने थुप्रै आधार छन् ।

शहरमा हाटबजार लाग्ने ठाउँ अभाव
इटहरी तथा तरहरामा स्थान अभावको कारण हाट बजारको चरम समस्या छ । बजार ठाउँ अभावकै कारण समस्यामा परे पनि जनप्रतिनिधिहरू मौन बस्दै आएका छन् । हाट बजारका लागि ठाउँ नहुँदा अहिले गाउँको उत्पादन बोकेर आएकाहरू समस्याबीच व्यापार गरिरहेका छन् । प्रायःजसो जिल्लामा लाग्ने हाटबजारको इतिहास पुरानो हुनसक्ने देखिन्छ । ऐतिहासिक रूपमा हेर्दा भने पुँजीवादी उत्पादन प्रणालीको शुरुदेखि हाटबजारको अवधारणाले गति लिएको मान्न सकिन्छ ।

पैसामा सामान किनबेच हुन थाल्यो । नाफा–घाटाको सोचाइ बढ्न थालेपछि मान्छेले बजारमा सामान बेचबिखन शुरु गरेको मान्न सकिन्छ । तर प्रशस्त बजारमा ठाउँ नहुँदा भीडभाडका बीच उपभोक्ताहरू किनमेल गर्न गर्छन् । तसर्थ बजारलाई अझै व्यवस्थित गर्न निर्वाचित जनप्रतिनिधिहरूको ध्यान जाओस् । यसलाई अझै व्यवस्थित गरी सडकमा लगाइने बजारलाई स्थानान्तरण गर्दै जानुको विकल्प छैन ।

हप्तामा दई पटक लाग्ने बजार सडक बन्द गरेर लगाउनु उचित देखिँदैन । हाटबजार लाग्ने स्थानमा स–सानो बजारीकरण शुरु भएको छ । यो बस्तीका बासिन्दाले बजार क्षेत्रको जमिन अतिक्रमण गरेका छन्, जसले गर्दा हाटबजारमा सामान राख्ने स्थानकै अभाव हुन थालेको छ । हाटबजार लाग्ने स्थानको बीचबाट सडक बनाइएको छ । जसले गर्दा धुलो तथा हिलोको चपेटामा बजारक्षेत्र परेको छ । सामान राख्ने क्षेत्रकै अभावमा हाटबजारमा किनबेच गर्न बजारसम्म पुग्न कोही पनि उत्साहित छैनन् । हाटबजार लाग्ने स्थानमै गुड्ने सवारी साधनका कारण पनि उपभोक्ता तथा बिक्रेताले बजारस्थलमा निकै अप्ठ्यारो भोग्नुपर्छ । यसरी लगाएको बजारमा बजारको दिन कुनै अप्रिय घटना भए त्यसको क्षति निकै ठूलो हुनसक्छ । त्यसकारण पनि हाटबजार सडक अतिक्रमण गरेर होइन । खुल्ला ठाउँमा लगाए सबैमा राम्रो हुने थियो कि ?

शहरमा घट्दै छ हाटबजारको महत्व
नुन–तेल, खाद्यान्न उनीहरूको घरआँगनमै झारिदिने नवव्यापारीहरू पनि बढ्दै गएका छन् । कुनै एक स्थानमा पसल खोल्ने अनि सम्पर्कका आधारमा घर–घरमा सामग्री निर्यात गर्नेहरू धेरै बढेका छन् । यसले कृषकहरूलाई हाटबजारसँगको सम्बन्धलाई विच्छेद गरिदिएको छ । न उत्पादन बेच्न आउनुपर्छ, न त कुनै आवश्यक पर्ने सामग्री किन्न नै । हात–हातमा भएको मोबाइल फोनले सबैसँग सबैको सहज पहुँच पुगेको छ ।

कुनै सामग्री बेच्नुपरेमा तत्काल फोन गरेमा गाडी लिएर ठेकेदार घरमै आइपुग्छ अनि कुनै सामग्री चाहिएमा पनि फोनकै भरमा घरमा सामग्री झर्छ । हिजो आजका युवा पसलमा बसेर सामान बिक्री गर्नुमा निकै गर्व गर्छन् । पहिलो पुस्ता उत्पादन बोकेर बजारसम्म आउन नसक्ने अनि पछिल्लो पुस्ता लाज मान्ने भएपछि हाटबजारमा सामग्री बिक्री–वितरण गर्न आउनेहरू घट्दै गएका छन् । नुनदेखि सुनसम्म एकै स्थानमा पाउनका लागि योभन्दा गतिलो स्थान अन्यत्र छैन । त्यसैले हाटबजारलाई व्यवस्थित गर्नु जरुरी छ ।

हाटबजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ । नेपाल, भारत, बङ्गलादेशलगायतका देशमा हाटबजारको प्रचलन रहेको छ । हाटबजारमा निश्चित दिन बजार लाग्ने गर्दछ, जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन् । नेपालका पूर्वी जिल्लाहरूमा हाटबजारको व्यापकता रहेको पाइन्छ । नेपालकै औद्योगिक शहर विराटनगरमा पनि प्रत्येक बारको अनुसार निश्चित स्थानमा हप्ताका बारहरूको नाममा यस्ता हाट लाग्ने गर्दछन् । पूर्वी नेपालका आइतबारे, सोमबारे, मङ्गलबारे, बुधबारे, बिहीबारे, शुक्रबारे, शनिबारे, वा शनिश्चरे आदि साप्ताहिक हाटको नामबाट ती स्थानको नाम नै रहन गएका छन् ।