चैनपुर/ समुदायले चासो नदिएका कारण सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं.३ पोखरीमा रहेको २ सय वर्ष पुरानो बौद्ध माने जीर्णोद्धारको अभावमा अस्तित्व मेटिने अवस्थामा पुगेको छ ।
वि.सं.१८७४ मा राजा राजेन्द्र वीरविक्रम शाहको पालामा स्थापना गरिएको बौद्धमाने स्थानीय समुदायले संरक्षणमा ध्यान नपुर्याउँदा जीर्ण बनेको छ । २ सय वर्ष पुरानो बौद्धमाने पुरातत्व विभागको सम्पदा सूचीमा सूचीकृत गर्नसके धार्मिक आस्थाको हिसाबले पनि आन्तरिक तथा वाह्य पर्यटक तथा अन्वेषकहरूका लागि अनुसन्धानको विषय बन्न सक्ने स्थानीय बताउँछन् । बौद्धमानेहरू निर्माण गर्दा बौद्ध लामा गुरुहरूले विशेषमन्त्र गरेर विश्व प्राणी जातिको आत्मा शान्तिको कामना गर्दे पञ्चबुद्धको (सुङ) रत्नसहित विभिन्न ऐतिहासिक एवम् पुरातात्विक वस्तुहरू राखेर प्रतिस्थापन गरिने स्थानीय काजी ग्यावा तामाङले बताए ।
बौद्धमाने वि.सं.१८७४ मा भोजपुर जिल्लाको सुब्लाबाट चैनपुरको पोखरी आएका धननर्वु तामाङ र कुलमान तामाङको नाममा प्रतिस्थापन गरिएको तामाङले बताए । आफ्ना पुर्खाहरू २ वर्ष पहिले भोजपुरबाट चैनपुर आएको र जीवन जिउने क्रममा पोखरी बजारमा आएर बसोबास गर्दैगर्दा बौद्धमाने निर्माण गरेको तामाङले बताए । बौद्धमाने धननर्वु र कुलमानको नाममा उनीहरूको निधन पछि सम्झना स्वरुप उनका छोराहरू धनजित र ऐमान ग्यावा तामाङले पुण्य स्मृतिमा बौद्धमाने निर्माण गरिदिएको काजी तामाङले बताए । सिङ्गो समुदाय र अन्य पुस्ताले बौद्धमानेको महत्व र गरिमा बुझ्न नसक्दा चैनपुर र आसपासको क्षेत्रका लागि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने ऐतिहासिक बौद्धमाने अस्तित्वविहीन बनेको छ ।
त्यसताका बौद्धमाने बनाएर मानेको लोकार्पण गर्दा तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभा, सोलुखम्बुलगायत धेरै जिल्लाका बौद्धलामा गुरुहरू ल्याएर पूजा आराधना गरिएको भन्ने सुनेको स्थानीय ८५ वर्षीया मायारानी डोल्मा तामाङले बताइन् । उनले बौद्धमानेको कर्म चलाउँदा (राप्नी–छ्यानी गर्दा) थुमथुमका लामाहरूलाई ल्याएर मानेमा बौद्ध धर्म शास्त्र अनुसारको पूजापाठ शान्तिको कामना गर्दै होमादी गरेर शक्ति प्रदर्शनसमेत गरेको भन्ने किवंदन्ती रहेको मायारानी बताउँछिन् । उनले पहिलेपहिले बौद्धमानेमा बुद्ध जयन्ती, औंसी पूर्णिमा पूजाआजा गर्ने, बत्ती बाल्नेलगायतका कर्म गर्न गाउँभरिका मान्छे भेला हुने गरेका तर हिजोआजका पुस्ताले बेवास्ता गर्नाले यसको अस्तित्व सङ्कटमा परेको आशय व्यक्त गरिन् ।
वि.सं.१८७४ तिर भोजपुरको सुब्ला चन्वारी पहिलेको सानुदुम्वा–९ हालको पौवा दुम्वा गाउँपालिका वडा नं.४ बाट आएका तामाङ परिवार अहिले पनि चैनपुर नगरपालिका वडा नं.३ चैनपुर बजार र आसपासको क्षेत्रमा २ सय घरधुरीको सङ्ख्यामा बसोबास रहेको छ । तामाङहरूको बाक्लो उपस्थिति चैनपुरको कोक्सामा रहेको छ । स्थानीय शिक्षक एवम् तामाङ समुदायका अगुवा काजी ग्यावाले मानेको नाममा १ रोपनी जग्गा मालपोत कार्यालयमा दर्ता रहेको भए पनि स्थानीयको अतिक्रमणले गर्दा मानेले ओगटेको भागमात्र रहेको बताए । उनले संरक्षणका लागि समुदायस्तरबाट कुनै पहल नहुँदा बौद्ध मानेको अस्तित्व दिनप्रतिदिन सङ्कटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
स्थानीय वडा र नगरपालिकालाई पटक–पटक बौद्धमानेको जीर्णोद्धारका लागि आर्थिक सहयोग माग्दा बेवास्ता गरिएको ग्यावाले गुनासो पोखे । स्थानीय सरकारले केही रकम सहयोग गरेको खण्डमा समुदायबाट पनि केही रकम जुटाउन सहज हुने उनको भनाइ छ । स्थानीय सरकारले विशेष चासो नदिँदा वौद्धमाने सङ्कटमा पर्दै गएको स्थानीयले गुनासो गरेका छन् । एक रोपनी क्षेत्रफलमा फैलिएको बौद्धमाने अहिले माने वरिपरि घुम्ने ठाउँ समेत नभएको र बौद्धमाने वरिीपरि फोहोर थुपारिएको दुर्घन्धित अवस्थामा रहेको छ । जहाँ भगवान् बुद्धको नाममा द्विप प्रज्ज्वलन गरेर शान्तिको कामना गर्ने स्थानमा फोहोरको डङ्गुर थुप्रिएको स्थानीय बताउँछन् । तत्काल बौद्धमानेको जीर्णोद्धारका गरी पुरातात्विक र ऐतिहासिक महत्वको बौद्धमानेलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन् ।
































