उदयपुर/ स्थानीय सरकार आएसँगै गाउँमा सडकको पहुँच पुगेपछि उदयपुर कात्तिकेबासीहरूले बाँस बिक्रीबाट आम्दानी गर्दै आएका छन् ।
जिल्लाको कर्णाली भनेर चिनिने गाउँपालिका लिम्चुङ्बुङका दुर्गम गाउँघरमा विकासको पूर्वधार सडक पुगेपछि त्यत्तिकै खेर गइरहेको बाँस नै आम्दानीको स्रोत बनेको हो ।
पालिकाले गत आर्थिक वर्षमा गाउँगाउँमा सडक गोरेटो पुर्याउने लक्ष्यका साथ टूयाक खोलेको थियो । त्यस सडकलाई मर्मत सुधार र घुम्तिहरू फराकिलो बनाएपछि गाउँमा बोलेरो, बस, टूयाक्टर लगायतका सवारी साधनहरू आवत्जावत् गरिरहेको पालिकाले जनाएको छ । यातायातको पहुँच पुगेपछि गाउँघरमा त्यत्तिकै कुहिएर खेर गइरहेका बाँस गाउँको एक मुख्य आम्दानीको स्रोत बनेको लिम्चुङ्बुङ गाउँपालिका वडा नं ३ का वडासदस्य गुरुमणि कुमाईले बताए ।
स्थानीय सरकारले सडक विस्तार तथा सुधार गरेपछि जनतालाई सदरमुकाम आवत्जावत् गर्न र केही स्थानीय वस्तुले बजार पाउन थालेको कुमाईले बताए । गाउँघरमा बाँस बार बार्न, दाउरा पोल्न, केही घर, गोठ बनाउन र डोको, महला, चित्रालगायतका सामग्री बनाउनका लागि प्रयोग हुँदै आएको स्थानीय कमलबहादुर कार्कीले बताए । उक्त प्रयोजनमा प्रयोग नभएका बाँस बोटमै कुहिएर गइरहेका थिए । सडक पुगेपछि गाउँघरमै ठेकेदार आएर बाँसको झाङमै घनाको ४० रुपैयाँ दिने गरेका छन् ।
बाँसको झाङबाट काटेर सडक छेउ पु¥याउँदा प्रति घना ६० रुपैयाँ दिने गरेको कार्कीले बताए । झाङमा ४० रुपैयाँ दिने र २० रुपैयाँ काट्ने र बोक्नेलाई दिन छुट्याइएको कार्कीले बताए । गाउँमा कुहिएर त्यतिकै खेर गइरहेका बाँस बिक्री हुन थालेपछि गाउँलेहरू खुसी भएका छन् । गाउँको बाँस सदरमुकाम गाईघाट, वीरगञ्ज, काठमाडौँलगायतका बजारहरूमा लैजाने गरेको कार्कीले बताए । बाँस बिक्री हुन थालेपछि गाउँमा एक घरले १२ हजार देखि ४०–५० हजारसम्म आम्दानी गर्न थालेका छन् ।
फेदबाट २१ फिट सम्मको बाँसमात्रै ठेकेदारले लाने भएकाले टुप्पो र सानातिना बाँसको प्रयोग भने नहुने समस्या भएको कार्कीले बताए । घनाको पैसा र पातको गाईबस्तुलाई घाँस हुन्छ । बाँसबाट आएको पैसा घरखर्च चलाउन र छोराछोरी पढाउनमा प्रयोग भएको कमलबहादुर कार्कीले बताए । बाँसबाट मानिसले दैनिक उपभोग गर्ने र अतिआवश्यक सामग्री बनाउन सकिन्छ । बाँसबाट जस्तो सुकै सामग्री बनाउन पनि मिल्छ । हस्तकलादेखि मानव जीवनमा दैनिक प्रयोग हुने नाङ्लो, डालोदेखि पूmल दानी, टेबल, ¥याक, कुर्सी लगायतका विभिन्न सामग्री तयार गर्न सकिन्छ । तर, गाउँघरमा सीप र ज्ञानको अभावले दाउराको रूपमा मात्रै प्रयोग गरिँदै आएको छ ।
































