‘चाहे माया गर या नगर
म त पर्खिरहन्छु है तिमीलाई’
पूर्वेली युवाहरुमाझ एकसमय यो गीत खुब हिट थियो । युवाहरुको मुखमै झुन्डिएको यो गीत अहिलेपनि धेरैलाई याद होला । यो गीतका गायक हुन् शिवकुमार लामीछाने । दुई दशकअघि पपगीतले बजार पिटेको बेला पूर्वका स्टेजहरुमा यो र यस्तै अन्य गीतसँगै शिव छाएका थिए ।
धरानमा निक्कै चल्तिको ब्यान्ड थियो ‘द अर्थ’ । त्यसका भोकलिष्ट शिव संगीतमा चर्चा कमाईरहेकै बेला पारिवारिक व्यवसायमा सक्रिय बने । यता उनको सांगीतिकयात्रा भने सुस्तायो ।

परिवारले सञ्चालन गरेको सामान्य सुन पसल ‘बराह ज्वेलरी इन्डष्ट्रिज प्रालि’ बनेर विस्तार हुँदै देश र विदेशमा छायो । शिवको संगीतकर्म भने व्यवसायको छायाँमा पर्दै गयो । हाल बराहका अध्यक्ष रहेका शिव केही वर्षदेखि पुनः संगीतमा सक्रिय बनिरहेका छन् । व्यस्त व्यवसायिक दैनिकीबीच पनि संगीतलाई चटक्कै भुल्न सकेका छैनन् उनले । अहिले उनि आफैंले स्थापना गरेको कृपा फाउन्डेसन मार्फत कहिले देशव्यापी सांगीतिक यात्रा गर्छन् त कहिले देशका अन्य गायक संगीतकर्मीका लागि विभिन्न कार्यक्रम ल्याउँछन् ।

बाँसको गितारले सिकाएको संगीत
धरानमा २०३६ सालमा जन्मिएका शिवको बाल्यवस्था झापाको शनिश्चरेमा वित्यो ।
शिव सानो छँदा बुवा इन्द्र लामीछानेले पनि राम्रो गाउनु हुन्थ्यो । गितार बजाउनु हुन्थ्यो । सायद बुवाको त्यहि संगीतमोहले उनलाई यतातिर तान्यो ।
सानैदेखि गीत गाउन खुब रहर लाग्ने उनलाई । तर पारिवारिक अवस्था कमजोर थियो । उनलाई गितार बजाउँदै गाउन खुब रहर लाग्थ्यो तर उनिसँग न गितार थियो न त पैसा । २०४४ सालतिर उनले बाँस काटेर ल्याए अनि दुई आँख्ला बिचमा बढो मेहनत गरेर बाँसको बाहिरी भागको बोक्रा नचुडिने गरी माथि उचाले । चारवटा तार जस्तो माथि निकालेपछि त्यो गितार जस्तै बज्ने भयो । आफैंले बनाएको त्यहि बाँसको गितार बजाउँदै गाउन थाले । ‘रहर थियो तर पैसा थिएन त्यसैले बाँसको गितार बनाउने उपाय निकालेको थिएँ, त्यहिंबाट गीत संगीतको सुरुवात भयो ।’ उनि विगत सम्झिन्छन् ।
२०४९ सालमा उनको परिवार धरान फर्कियो । धरानमा उनको स्वभाव अनुसारका साथीहरुसँग भेटघाट हुन थाल्यो । उनले सांगीतिक माहोल पाए । धरानमा देउसी भैलोको माहौल खुब जम्थ्यो । साथीहरु जम्मा भएर नाच्दै गाउँदै देउसी खेल्ने चलन थियो । शिवपनि त्यहि माहोलमा भिजे । आफ्नो प्रेरणाको स्रोत तिनै देउसी भैलो र त्यसमा सहभागी हुने साथीहरुलाई सम्झन्छन् अहिले ।

होमवर्क नगर्दा गाउनुपर्ने सजाय
शिव धरान–१०को पञ्चायत स्कुलमा पढ्थे । त्यो स्कुलमा होमवर्क नगरी आउनेले सजाय स्वरुप गीत गाउनु पर्ने, नाच्नु पर्ने नियम थियो । उनि गीत गाउनका लागि जानीजानी होमवर्क नगरी स्कुल जान्थे । सम्झिन्छन् ‘मलाई त गीत गाउन पाउँदा आनन्द लाग्थ्यो, म होमवर्क नगरी जान्थें ।’
पछि निकेतन स्कुलमा पढ्न थाले । एसएलसी नदिई नै उनि धरानमा राम्रो गायकका रुपमा चिनिन थालिसकेका थिए । एसएलसीपछि उनिहरुले ‘द अर्थ’ब्यान्ड स्थापना गरे । २०५१ सालमा ब्यान्ड स्थापना भएपछि उनको सांगीतिकयात्राले पनि रफ्तार लियो । त्यसबेला बिएन्ड बिट कन्टेष्ट (पूर्वाञ्चल बिट कन्टेष्ट) पहिलो पटक धरानमा भयो । त्यसमा तीस भन्दा बढी ब्यान्ड प्रतिष्पर्धामा थिए । शिवको ब्यान्ड ‘द अर्थ’ पहिलो बन्न सफल भयो ।
सुरुवातका दिनमै ब्यान्डले ठूलो सफलता हात पारेपछि उनि गायनमा झनै सक्रिय भएर लागिपरे । अर्को वर्ष लागुपदार्थ विरुद्ध सांगीतिक प्रतियोगीता भयो । ‘एन्डि ड्रग्स म्युजिक कम्पिटिसन’ । त्यसमापनि शिवकै ब्यान्ड पहिलो भयो । भने शिव ‘बेष्ट सिंगर’ घोषणा भए । त्यसपछि इमेजले आयोजना गरेको बिट कन्टेष्टमा पनि उनकै ब्यान्ड पहिलो बन्यो । लगातार तीन वर्षसम्म पूर्वमा भएका ठूला प्रतियोगीतामा पहिलो बनेपछि द अर्थ ब्यान्ड पूर्वमा मात्र होईन देशैभरि परिचित थियो । उनि सांगीतिक कार्यक्रमका लागि देशविदेश पुगे ।
त्यसबेला ब्यान्डमा भोकलमा शिव, ड्रमरमा आरम्भ हलुवाई, लिड गितारमा सन्तोष तामाङ र वेसमा पहिलो अनिल हलुवाई र दोस्रो निरज ताम्राकार थिए । अहिलेपनि ब्यान्ड यथावतै रहेको छ तर ब्यान्डले नयाँ प्रोजेक्ट भने ल्याउन सकेको छैन । ब्यान्डका सदस्यहरु मध्ये शिव व्यवसायमा व्यस्त छन् । अन्य सदस्यहरु पनि विभिन्न पेशा व्यवसायमा छन् । सन्तोष विदेशमा छन् । शिव सुनाउँछन् ‘अझैपनि हाम्रो नयाँ प्रोजेक्ट गर्ने योजना यथावतै छ ।’

योगासँगै संगीत अभ्यास
व्यवसायिक काममा व्यस्त रहने शिव व्यस्तताबीच पनि संगीतबाट टाढा हुन सक्दैनन् । हरेक विहान उठ्ने वित्तिकै एक घन्टा योगा गर्छन् योगासँगै संगीतपनि अभ्यास गर्छन् ।
अहिलेसम्म शिवका ३ एल्बम र अन्य गरेर ३५ वटा जति गीत सार्वजनिक भए । कतिपय गीत अझै स्टुडियोतिरै थन्किएर पनि बसेका छन् । त्यसो गर्दा उनले रेकर्ड गरेका गीतको संख्या करिब ५०÷६० पुग्छ । २०५२ सालतिर धरानका गायकहरुको कलेक्सन एल्बम ‘भ्वाईस अफ धरान’ निस्किएको थियो । त्यसमा शिवले पनि एउटा गीत गाए । त्यसपछि ब्यान्डबाट पहिलो एल्बम ‘जन्मभूमी’, दोस्रो एल्बम ‘कर्मभूमी’ निस्कियो । त्यसपछि कलेक्सन एल्बमहरुमा पनि गाए ।
केही वर्षअघि उनले सोलो एल्बम ‘कृपा’ बजारमा ल्याए । त्यहि एल्बमको गीत ‘किन दुख्छ’ ले उनलाई अझैपनि सशक्त गायकको परिचय दियो । करिब चार वर्ष लगाएर टेक्निकल कम्पोजिसन गरिएको हार्डरक जानराको यो गीतमा शिवले धेरै अभ्यासपछि एक सासमा गाएका थिए । योगासँगै गरेको अभ्यासले उनलाई यसरी गाउन सक्षम बनायो । उनले यो गीत गाएपछि फेरि नयाँपुस्ताले उनलाई शक्तिशाली गायकका रुपमा चिने । नेपाल आईडलको पहिलो संस्करणमा ‘आइडलका आइडल’ सेग्मेन्टमा प्रताप दासले उनलाई आफ्ना आइडल मानेर निम्त्याएका थिए । त्यहाँ उनले दिएको प्रस्तुतिले पनि धेरैलाई मन्त्रमुग्ध बनायो । उनी फेरि चर्चामा छाए ।

व्यवसायसँगै संगीत
सांगीतिक बजारमा शिवको राम्रै छाप थियो । तर यता उनले एल्बममा धमाधम गीत रेकर्ड गर्न थाले, उता बुवा इन्द्र लामीछानेले सुरु गरेको बराह ज्वेलरीले व्यवसायिक फड्को मार्दै गयो । एक्ला छोरा शिवलाई पनि व्यवसायमा समय दिनु पर्ने अवस्था आयो । संगीतकर्म कम हुँदै गयो ।
तर त्यति रहर र मेहनतले लागेको क्षेत्र उनि चटक्कै भुल्न कहाँ सक्थे र । बुवाले सुन र डिपार्टमेन्टको व्यवसाय गर्दा शिवले संगीतमै व्यवसाय गर्न भनेर अत्याधुनिक ‘कृपा दृष्य डिजिटल स्टुडियो’ खोले । टेलिभिजनमा ‘कृपा अनप्लग शो’ प्रशारण गरे ।
बुवा व्यवसायका सिलसिलामा हङकङ गएका बेला उतै निधन भयो । त्यसपछि बराहको सबै जिम्मेवारी शिवमै आयो । उनका बुवाले धरानबाट सुरु गरेको व्यवसाय काठमाडौं,पोखरा, चितवन, हङकङ, बेलायत, दुबई लगायतमा फैलिएको छ । बराहले सुनचाँदीसँगै डिपार्टमेन्टल स्टोर, सहकारी, कृषि फर्म जस्ता व्यवसाय अनि यातायात, एम्बुलेन्स लगायतका सेवापनि सञ्चालन गरेको छ । यि सबै व्यवहारलाई सम्हाल्दै शिव सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका छन् । ‘संगीतमै निरन्तरता दिन पाएको भए सायद यतिबेला म स्रोतामाझ संगीतको परीक्षा दिईरहेको हुन्थें होला तर व्यवसायिक जिम्मेवारी थपिएपछि सोचे जसरी सक्रिय हुन सकिंन ।’ उनि सुनाउँछन् ‘यहि कारणले कति प्रोजेक्टहरु गर्भमै तुहिए तर व्यवसायसँगै समय मिलाएर अझै गाउने प्रयास गरिरहेको छु ।’

समयसँग आशा
जीवनमा धेरै दुख सुख व्यहोरेका शिवले जस्तै अफ्ठ्यारो परिस्थितिमा पनि हार खाएनन् । आफ्नै भोगाईहरुबाट उनले जीवनदर्शन बुझे । ‘मान्छे भएर जन्मिएपछि हरेक दुख सुखका कुरा सुरुमा मान्छेबाटै मिलाउने प्रयास गर्दा रहेछौं । मान्छेबाट नभएपछि भगवानको आशा लाग्दो रहेछ । भगवानले पनि नगरेपछि समयबाट आशा गर्नु पर्दोरहेछ ।’ उनि आफ्नो जीवनदर्शक सुनाउँछन् ‘ म अहिले समयसँग आशा गरिरहेको छु । अझै संगीतमा केही गर्छु भन्ने आशा छ ।’
उनि कुनै जमानामा सातभरी संगीत अभ्यास गर्थे । दिनभरी सुत्ने, रातभरी गाउने, बजाउने । घरमा बुवाले सुन दोकान खोल्नु भएको थियो । दिनभरी सुन पिट्दा आउने ‘टक्कटक्क’ आवाजले प्राक्सिट गर्ने वातावरणै नहुने । त्यसैले उनि रातभरी जाग्नु प¥थ्यो । भन्छन् ‘त्यो बेला एकहप्तासम्म खाना नखाई पनि बसेको छु’
त्यहि संघर्षले शिव आजको स्थानमा छन् । आफ्नो प्यासनलाई निरन्तरता दियो भने एकदिन ठाउँमा पुगिन्छ भन्ने ज्ञानपनि उनले संघर्षबाटै पाए । ‘हरेस खानु हुन्न, समयसँग आशा गर्नुपर्छ ।’ अहिले उनि अरुलाई पनि यहि अर्ति दिन्छन् ।

टेन्सनको औषधी संगीत
कहिले आर्थिक अवस्थाले त कहिले व्यवसायमा व्यस्त बन्नुपर्दा उनि संगीतबाट टाढा हुनु प¥थ्यो । त्यो बेला उनलाई निक्कै गाह्रो भयो । ‘आफुलाई मन पर्ने चिज नपाउँदा गाह्रो भए जस्तै भयो ।’ उनि भन्छन् ‘तर अहिले व्यवसायको टेन्सनबीच पनि संगीतले मलाई औषधीको काम गरेको छ ।’
शिव अहिले आफुले दिल खोलेर संगीतमा लाग्न नपाएपनि स्टुडियो सञ्चालन गरेर, कृपा अनप्लग शो प्रशारण गरेर र बेलाबेला कन्सर्टमा गाएर संगीतको धित मारिरहेका छन् । कृपा अनप्लग मार्फत धेरै संगीतकर्मीलाई प्लेटर्फम पनि दिईरहेका छन् । अहिले उनले कृपा फाउन्डेसन स्थापना गरेर अग्रज स्रष्टाहरुलाई सम्मान गर्ने र सांगीतिक कार्यक्रम आयोजना गर्ने पनि गरिरहेका छन् । हाल त्यहि फाउन्डेसन मार्फत उनले देशव्यापी सांगीतिक कार्यक्रम गरे । ‘समृद्धिका लागि संगीत’ नारासहित अभियान सञ्चालन गरेका उनी संगीतलाई व्यवसायिक बनाउनै लागि कम्पनी स्थापना गरेको बताउँछन् ।
पहिलाभन्दा प्रविधीका रुपमा संगीतको विकास भईरहेकाले आशावादीपनि छन् । उनि पुराना गीत र बाजाहरुको संग्राहलय पनि सुरु गरिसकेका छन् । उनि भन्छन् ‘अब व्यसायिक गायक बनेर चिनिन सम्भव नभएपनि संगीतको विकास, प्रवद्र्धन र संरक्षणका लागि लागिरहन्छु ।’