इटहरी । भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि सुनसरीका सीमा क्षेत्रहरूमा सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएको छ । 

भारतसँग जोडिएका खुला सीमाहरूमा  अबाञ्छित गतिविधिहरू हुन नदिन प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको हो । जिल्लाको चारवटा सीमा क्षेत्रमा तत्काल सुरक्षा गस्ती बढाइनुका साथै आउने र जाने दुवैमाथि निगरानी तथा चेकजाँच तीव्र बनाइएको सशस्त्र प्रहरी बलका एसपी निर्मलकुमार थापाले बताए ।

खुला सीमा क्षेत्रमा निगरानी बढाइएको एसपी थापाले बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सीमा क्षेत्रहरूको निरीक्षण गरी अवस्था हेरेर थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।   जिल्लाबाट भारततर्फ जाने र भारतबाट नेपालतर्फ आउने जो कोहीको पनि जाँच बढाइएको प्रजिअ मिश्रले बताए ।

सुनसरीको हरिनगर, कोशी र बर्जु गाउँपालिकाको क्षेत्रमा रहेका खुला सीमाहरूको निरीक्षण जारी रहेको प्रजिअ मिश्रले बताए । सुरक्षा निकायहरूले सीमावर्ती क्षेत्रमा परिचालन बढाएर शङ्कास्पद गतिविधि तथा सम्भावित जोखिमहरूलाई समयमै नियन्त्रणमा लिन यस्तो रणनीति अपनाएको उनले बताए । 

अतिरिक्त सुरक्षाकर्मी परिचालनसँगै स्थानीय बासिन्दालाई पनि सीमाक्षेत्रमा देखिएका अस्वभाविक गतिविधिहरूबारे सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ । आतङ्ककारी गतिविधिका सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रलाई थप चुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ । सुनसरीमा ७२ किलोमिटर खुला सीमा रहेको छ ।