धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अग्नाशय (प्याङ्क्रिज) क्यान्सरसम्बन्धी एकदिने राष्ट्रियस्तरको सम्मेलन सम्पन्न गरेको छ ।
प्रतिष्ठानले लामो समयदेखि क्यान्सरको शल्यक्रिया र किमोथेरापी सेवा प्रदान गर्दै आएको छ । क्यान्सर उपचारमा गुणस्तर अभिवृद्धि गर्ने प्रयासमा विभिन्न सम्मेलन तथा तालिमहरू आयोजना गर्दै आइरहेको छ । अग्नाशय क्यान्सरको उपचारसमेत प्रतिष्ठानमै सम्भव हुन थालेपछि यो भेगका नागरिकलाई उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य भएको प्रतिष्ठानले जनाएको छ ।
ग्याष्ट्रो–इन्टेस्टाइनल सर्जरी विभाग, इन्टर्नल मेडिसिन विभाग र प्याथोलोजी विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा देशभरका स्वास्थ्य संस्थाका करिब एकसयभन्दा बढी विशेषज्ञ चिकित्सक, मेडिकल अङ्कोलोजिष्ट, रेडिएसन अङ्कोलोजिष्ट तथा शल्य चिकित्सकहरूको सहभागिता रहेको प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु श्रेष्ठले जानकारी दिइन् ।
चार सत्रमा विभाजित सम्मेलनमा अग्नाशय क्यान्सरको निदान, शल्यक्रियाका नवीनतम् प्रविधि तथा समन्वित उपचार विधिहरूबारे गहन छलफल गरिएको थियो । प्रस्तुतीहरूमा काठमाडौं मेडिकल कलेज, चितवन, पूर्वाञ्चल क्यान्सर अस्पताल, विराट मेडिकल कलेजलगायतका विशेषज्ञहरूले आ–आफ्ना अनुसन्धान र अनुभव प्रस्तुत गरेका थिए ।
सम्मेलनको उद्घाटन प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले गरेका थिए । सम्मेलनमा इन्टर्नल मेडिसिन विभाग प्रमुख प्रा.डा. रोविन मास्के र सर्जरी विभाग प्रमुख प्रा.डा. सुरेशप्रसाद साह, डा. सोनिया दुलाल र डा. कुणालविक्रम देवलगायतले बोलेका थिए ।