धरान । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले गरेको संयुक्त सुरक्षा अपरेसनमार्फत् धरान–८ तीनकुनेबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

बुधबार दिउँसो १ बजे सशस्त्र प्रहरी सुरक्षा बलले चेकजाँचका क्रममा भेडेटारबाट धरानतर्फ आइरहेको ना. ७ ख २८१ र ना. ५ ख ३२०९ नम्बरको दुई ट्रकबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा ७ सय ८३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । 

भेडेटारबाट गाँजा ल्याइँदैछ भन्ने सूचना पाएपछि धरान–४ निशाने डाँडाबाट सशस्त्र प्रहरीले पिछा गरेको थियो । सशस्त्र प्रहरी बल १ नं. वराह बाहिनीबाट डिएसपी विक्रम होमागाईंको कमाण्डमा खटिएको टोलीले नियन्त्रण लिइएको थियो । दुईवटा ट्रकमा अन्य सामानसँगै हालेर ल्याउँदै गर्दा बरामद गरिएको हो । गाँजासहित वराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय मनोज परियार र धनकुटा नगरपालिका–६ का १८ वर्षीय आकाश राईलाई नियन्त्रणमा लिइएको छ ।

बरामद गाँजा र पक्राउ परेका दुई जनालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बेस क्याम्प धरानका डिएसपी सञ्जीव पौडेलले जानकारी दिए ।