धरान । सुनसरीको दक्षिणी गाउँपालिका क्षेत्रबाट सुनसरी प्रहरीले गाँजासहित सवारी साधन र तीनजना मानिसलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार र मङ्गलबार गरी सुनसरीको बर्जु र हरिनगर गाउँपालिकाबाट २४०.३ केजी गाँजासहित दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सीतागञ्जको टोलीले भीमपुरबाट अमडुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा डालामा ६ वटा बोरामा लुकाई राखेको अवस्थमा १९९.३ केजी गाँजा बरामद गरिएको छ ।
प्रहरीले पिकअप गाडीसहित चालक धनकुटा नगरपालिका–९ का ३३ वर्षीय उद्धव भण्डारी र सह–चालक सोही ठाउँका ३० वर्षीय कविराज राईलाई सोमबार सवा ७ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै सुनसरीको हरिनगर गाउँपालिका–३ गौतमपुरस्थित सत्तरझोराबाट गौतमपुरतर्फ आउँदै गरेको प्रदेश १–०२–००४ ह १६४३ नम्बरको सिटी सफारीबाट जाँचको क्रममा ४१ केजी गाँजा बरामद गरेको छ ।
प्रहरीका अनुसार गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीसहितको संयुक्त टोलीले जाँचको क्रममा गाँजासहित सफारी चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय अमिर मियाँलाई नियन्त्रणमा लिन सफल भएको छ ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई मङ्गलबार अपरान्ह १ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।